कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बजेट नहुँदा खानेपानी योजना अलपत्र

कान्तिपुर संवाददाता

काभ्रे — पुनर्निर्माण योजनाअन्तर्गत सुरु गरिएका जिल्लाका खानेपानी आयोजना थप बजेट नआउँदा अलपत्र अवस्थामा छन् । केन्द्रीय सरकारको पुनर्निर्माण शीर्षकको बजेटबाट २०७३ देखि विभिन्न समयमा सुरु गरिएका ९० खानेपानी आयोजनामध्ये हाल १० मात्रै सम्पन्न भएका छन् ।

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय चौताराका प्राविधिक शिवप्रसाद शर्माले काभ्रेमा बाँकी ८० आयोजनाको थप बजेट नआउँदा अलपत्र अवस्थामा रहेको बताए ।


बनेपा नगरपालिका–३ चुनातालका लिफटङ खानेपानी उपभोक्ता समिति अध्यक्ष टेकप्रसाद दाहालले २०७३ साउनमा पहिलो किस्ताबापतको १० लाखबाट सुरु भएको योजना थप बजेट नआउँदा अलपत्र अवस्थामा रहेको बताए । आयोजना रु ३० लाखमा सम्पन्न गर्ने जनाइएको थियो ।


‘केन्द्र र प्रदेश सरकारबीच समन्वय नभएकाले थप बजेट नआएको भन्छन् । हामीलाई योजना छिटो सकेर खानेपानी उपभोग गर्न पाए हुन्थ्यो भन्ने छ,’ उनले भने । दाहालका अनुसार योजनाको मूलदेखि लिफ्ट गर्ने स्थानसम्म पाइप र एउटा १० हजार लिटरको ट्यांकी निर्माण गरिएको छ । एउटा रिजर्भ ट्यांकी निर्माण गरी मुख्य पाइपलाइन र घरघरमा खानेपानी पुर्‍याउने पाइप विस्तार गर्न बाँकी रहेको उनले बताए ।


खानेपानी आयोजनाअनुसार बजेट छुट्याइए पनि पहिलो किस्ताबापतको रकमले सुरु गरिएपछि केही आयोजनाले मात्रै कार्यप्रगतिको आधारमा दोस्रो किस्ता लिएर काम गरेको प्राविधिक शर्माले बताए ।


संघीयतापछि गत साउनमा काभ्रेको धुलिखेलमा रहेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय सिन्धुपाल्चोकको चौतारामा सारिएको छ । त्यस कार्यालयको कार्यक्षेत्र अब दुवै जिल्ला रहेको छ । डिभिजन कार्यालय प्रमुख राजेन्द्र न्यौपानेले पुनर्निर्माण कार्यक्रमअन्तर्गत निर्माणाधीन आयोजनामा छुट्टयाइएको बजेटबारे ‘प्रदेश सरकारसँग बुझेर प्रक्रिया अघि बढाउने’ बताए । उनले बजेटको अन्योलताकै कारण डिभिजन कर्यालय अन्तर्गतका काभ्रेमा ७५ र सिन्धुपाल्चोकमा ६५ आयोजना अलपत्र छन् ।

प्रकाशित : फाल्गुन ६, २०७५ १०:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?