कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

छोरीले दिइन् दागबत्ती

कान्तिपुर संवाददाता

चितवन — आफ्ना अभिभावकको निधनमा छोरीहरू प्रायः दाहसंस्कार स्थलसम्म पुग्न वा पुगे पनि दागबत्ती दिन पाउँदैनन्  । किरिया बसेर १३ दिनसम्म धार्मिक कार्य गर्न छोरा नै चाहिने मान्यता छ  ।

तर भरतपुर बसेनीमा एक परिवारले छोरीलाई नै दागबत्तीदेखि किरियासम्म सरिक गराएको छ ।


भरतपुर बसेनीका ३८ वर्षीय लक्ष्मण देवकोटाको बिहीबार मध्यरातमा निधन भयो । उनको किरियाकर्म छोरी आरमिन्टा देवकोटाबाट गरिएको छ । लक्ष्मणका दुई छोरी मात्र छन् । कान्छी छोरी आर्किटा सानै छिन्, कक्षा दुईमा पढ्छिन् । कक्षा ११ मा पढ्ने जेठी छोरी आरमिन्टा र श्रीमती सिर्जना अहिले कोरा बारेर किरिया बसेका छन् । किरिया बसेर १३ दिनसम्म गर्ने गतिविधि छोरीबाट मात्रै पूरा भएको छ । परिवार, पण्डित र समाजले नै यो कामलाई सहजै स्वीकार गरेको छ । किरिया बस्न छोरा नभए पनि दाजुभाइभित्रको एक जना पुरुष बस्नै पर्ने परम्परागत मान्यता छ ।


तर देवकोटा परिवार त्यतातर्फ लागेन । ‘छोरी पनि सन्तान नै हो । आफ्नै छोरी हुँदाहुँदै उनैलाई किरिया नराखेर अरूलाई खोज्न हुँदैन भन्ने हाम्रा अभिभावकहरूको मत रह्यो । समाजबाट पनि त्यही कुरा आयो । पण्डितजीहरूले हुन्छ भन्नुभयो । त्यसैले छोरी आरमिन्टा नै कोरा बारेर बसिन्,’ दिवंगत लक्ष्मणका भाइ अषेशले भने । यस्तो कामले छोरा छोरीबीचको विभेद हटाउन मद्दत गर्ने उनले बताए । दिवंगत व्यक्तिको घरमा किरियाका बेलामा गरुणपुराण भन्ने चलन छ । चेतनाथ न्यौपानले देवकोटाको घरमा गरुणपुराण सुनाउँछन् । छोरीलाई किरिया गर्न बार बन्देज नलागेको उनले बताए ।

‘गरुणपुराणकै छैठौं अध्यायमा एउटा श्लोक छ । जसको भाव छोरीले तीन कुल र छोराले दुई कुल तार्ने भन्ने छ । त्यसैले छोरीहरू पितृ कार्यमा सरिक हुँदा राम्रा हुन्छ । गर्न नहुने भन्ने छैन,’ २० औं वर्षदेखि गरुणपुराण सुनाउँदै आएका न्यौपानेले भने । यसरी छोरी मात्रै किरियामा बसेर पितृकार्य गर्दै आएको चेतनाथले दोस्रो पटक भोगेका छन् ।

प्रकाशित : फाल्गुन १५, २०७५ ०८:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?