आन्दोलनले पुनर्निर्माण काम रोकियो

कान्तिपुर संवाददाता

सिन्धुलीमाढी — कार्यालय समय बिहान ठ्याक्कै १० बजेको थियो । गोलन्जोर गाउँपालिका ६ बासेश्वरका अमृतबहादुर श्रेष्ठ जिल्ला आयोजना कार्यान्वयन इकाई भवन सिन्धुलीमा आइपुगेका थिए । भूकम्पको तेस्रो किस्ता आए नआएबारे बुझ्न उनी घरबाट बिहानैको गाडी चढेर सिन्धुलीमाढी आएका हुन् । 

Citizen

साढे २ घण्टा गाडीको यात्रा गरेर इकाई भवन सिन्धुलीमा आइपुगेका श्रेष्ठको काम भने भएन । ‘कार्यालयमा पुग्दा प्राविधिकहरू आन्दोलनमा रहेकाले तेस्रो किस्ता आए नआएबारे हेर्दिएनन्,’ उनले भने । ‘तेस्रो किस्ताको रकम आयो कि आएन भन्ने बुझ्नका लागि गोलन्जोर गाउँपालिकाबाट धाएर सिन्धुलीमाढी आइयो । तर काम नै भएन । अब त्यसै फर्कनुपर्ने भयो,’ उनले भने ।

कमलामाई नगरपालिका ४ देउरालीका पारङ तामाङ घरको नक्सा सच्याउनका लागि भनेर जिल्ला आयोजना कार्यान्वयन इकाई भवन सिन्धुली पुगे । तर उनको पनि काम भएन । प्राविधिकहरू काम नै रोकेर आन्दोलनमा रहेकाले तपाईंको काम हुँदैन, पछि आउनुस् भनेर फर्काइदिएको तामाङ बताउँछन् ।

तामाङले भने, ‘सुरुमा २ कोठे जस्ताको छाना हालेर भूकम्प प्रतिरोधात्मक घर बनाउने नक्सा बनाएको थिए । पछि छोराहरूले छत ढलान नै गर्ने भन्न थाले अनि नक्सा सच्याउन भनेर आएको । इन्जिनियर सरहरू आन्दोलनमा रहेछन्, काम भएन ।’ कनपा ४ कै अमृत सार्की पनि भूकम्पको तेस्रो किस्ताबापत्को रकम आयो कि आएन भन्ने बुझ्नका लागि जिल्ला आयोजना कार्यान्वयन इकाई सिन्धुली पुगेका थिए । ‘प्राविधिकहरू काम छोडेर कार्यालय बाहिर धर्नामा बसेका रहेछन्,’ उनले भने, ‘तपाईंको काम हुँदैन भन्दै फर्काइदिए ।’

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, प्राविधिक सञ्जाल सिन्धुलीले जिल्ला आयोजना कार्यान्वयन इकाई भवन सिन्धुलीमा सोमबारबाट तालाबन्दी गरेर प्राविधिकहरू आन्दोलनमा रहेका छन् । आफूहरूले खाइपाई आएको प्रोत्साहन भत्ता बन्दलगायतका जाहेज मागहरू सरकारले पूरा नगरेको भन्दै आन्दोलित भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, प्राविधिक सञ्जाल सिन्धुलीका अध्यक्ष राजन यादवले बताए ।

प्राविधिकहरू फिल्डमा खटिँदा भइपरी आउने समस्याहरूलाई मध्य नजर गरी प्राविधिकहरूको दुर्घटना तथा स्वास्थ्य बिमाको व्यवस्था तत्काल गर्न उनीहरूले माग गरेका छन् । त्यस्तै पुनर्निर्माणका लागि खटिएका प्राविधिकहरूको योगदानलाई मध्यनजर गर्दै प्राविधिकहरूको भविष्य सुनिश्चितताको पहल गर्न र सीप तथा क्षमता विकासका निम्ति केन्द्रीय स्तरबाट प्राविधिक जनशक्तिलाई आवश्यक तालिम तथा गोष्ठिकोप्रबन्ध गर्नुपर्ने माग उनीहरूले अघि सारेका छन् ।

सरकारले आफूहरूको माग सम्बोधन गर्छु भन्दै पटकपटक झुक्याएकाले काम नै ठप्प पारेर आन्दोलनमा उत्रन बाध्य भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, प्राविधिक सञ्जाल सिन्धुलीका अध्यक्ष यादवले बताए । जिल्लाका १ सय ६८ जना प्राविधिकहरू आन्दोलनमा उत्रिँदा भूकम्प प्रभावितहरू समस्यामापरेका छन् ।

प्रकाशित : चैत्र ७, २०७५ ०७:५३
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

अजितले दिलाएको खुसी

एसियालीमा पहिलो स्वर्ण पदक
अवधेशकुमार झा

सप्तरी — गंगाप्रसाद यादव मंगलबार दिउँसो राजविराज नगरपालिका–१२ स्थित घरमा भागवत पढ्दै थिए । आँगनमा खुसीको माहोल थियो । परिवारका सदस्यको अनुहारमा भिन्दै चमक देखिन्थ्यो । गंगाप्रसाद भन्दै थिए, ‘मेरो नातिले देशको नाम संसारमै चिनायो ।’ 

तेस्रो एसियाली युथ एथलेटिक्सका स्वर्णधारी अजितकुमार यादव (तल) ।  राजविराज नगरपालिका–१२ स्थित घरमा परिवारका सदस्य । तस्बिर : अवधेशकुमार/कान्तिपुर

नाति अजितले स्वर्णपदक जितेको गंगाप्रसादले सोमबार साँझमात्र थाहा पाएका थिए । टोलकै एउटा भोजमा माइकिङ गरेपछि मात्र उनले नातिको सफलताको खबर पाएका थिए । ‘धेरै खुसी छु,’ गंगाप्रसादले भने, ‘नातिले गाउँसमाज र देशको नाम संसारमै फैलाए ।’ अजितले हङकङमा भएको तेस्रो एसियाली युथ एथलेटिक्समा आइतबार स्वर्णपदक जितेका थिए । जुन एसियाली एथलेटिक्समा नेपालले जितेको पहिलो स्वर्ण हो ।

मध्यमवर्गीय परिवारका अजितका बुवा पवनकुमार सशस्त्र प्रहरीका असई हुन् । उनीहरूको गाउँमा पुरानो पक्की घर छ । सदरमुकाम राजविराजमा पनि घर रहेका पवनले दुई छोरा जेठो सुजित र कान्छो अजितलाई पढाइका लागि २०५७ सालमा काठमाडौं पठाएका थिए । सशस्त्र प्रहरी विद्यालयबाट एसईई पास गरेका अजित अहिले पिनाकल कलेजमा कक्षा १२ मा पढदै छन् ।

विद्यालयस्तरका विभिन्न प्रतियोगितामा भाग लिने गरेका अजितलाई बुवा पवन पढाइमा मात्र ध्यान दिन भन्थे । ‘खेलकुदमा भविष्य छैन भन्दै मैले उनलाई धेरै पटक पढाइमा ध्यान दिनु भनेको थिएँ,’ छोराले स्वर्णपदक जितेपछि राजधानी गएका पवनले फोनमा कान्तिपुरसित भने, ‘छोराले आज देशकै शिर उँचो राख्ने गरी स्वर्णपदक जित्दा एकदमै गौरवान्वित भएको छु ।’

अजितले अन्तर्राष्ट्रिय प्रतियोगितामा स्वर्णपदक जित्छन् भन्ने आफूले कहिल्यै नसोचेको पवनले बताए । उनले भने, ‘अजितले नसोचेको कुरा गरिदिए । उनको सफलताप्रति म मात्रै होइन, गाउँ समाज र देश नै गौरवान्वित भएको छ ।’

आमा सरितादेवीले भने छोराको सानैदेखि दौडमा ध्यान रहेको सुनाइन् । ०७१ मा शिक्षा दिवसका अवसरमा काठमाडौंमा आयोजित ५ किलोमिटर सडक दौडमा तेस्रो स्थान हासिल गर्दै ५ हजार पुरस्कार पाएपछि अजित थप हौसिएका थिए । ‘त्यही दौड मेरो जीवनमा एथलेटिक्सप्रतिको ठूलो सुरुआत हो,’ राजधानीमा रहेका अजितले भने, ‘अहिले एसियाली स्तरमा स्वर्णपदक जित्दा सपनाजस्तै लागेको छ, अहिलेसम्म कसैले जित्न नसकेको पदक जितेको छु, खुसीको सीमा छैन ।’

०७३ सालमा राष्ट्रपति कपमा कीर्तिमान बनाएपछि अजितको हौसला अझ बढ्यो । ‘विभिन्न प्रतियोगितामा भाग लिँदै जित्दै आएँ र हौसिँदै गएँ,’ उनले भने, ‘देशलाई एथलेटिक्समा अझै उचाइमा पुर्‍याउने मेरो लक्ष्य छ ।’ उनले राज्यले एथलेटिक्सका लागि लगानीसँगै खेल्ने वातावरणसमेत बनाइदिनुपर्ने सुझाए ।

‘एथलेटिक्समा हामी नेपाली कमजोर छैनौं,’ अजितले भने, ‘खेलाडी र खेलप्रति लगानी र वातावरण हुनुपर्‍यो । एथलेटिक्समा नेपालका खेलाडी अन्य अन्तर्राष्ट्रिय प्रतियोगितामा पनि पदक जित्न सक्षम छन् ।’ अजितको घरमा बधाई दिन टोलका बासिन्दा आइरहेका छन् । ‘हाम्रो गाउँको नाम अजितले गौरवान्वित बनाएका छन्,’ राजविराज–१२ का वडाध्यक्ष हरिहर यादवले भने, ‘उनी घर आएपछि सम्मान गर्ने तयारी गरेका छौं ।’

नगरपालिकाले १ लाख १ हजार दिने
अजितलाई राजविराज नगरपालिकाले प्रोत्साहनस्वरूप एक लाख एक हजार रुपैयाँ दिने भएको छ । नगरप्रमुख शम्भुप्रसाद यादवले राजविराज नगरपालिका र सिंगो मुलुककै सान बढाएकाले अजितलाई प्रोत्साहनस्वरूप उक्त रकम दिइने बताए ।

उनले आफ्नो एक महिनाको तलबसमेत अजितलाई दिने जनाएका छन् । प्रदेश २ सरकारले अजितलाई प्रोत्साहनस्वरूप ५ लाख रुपैयाँ दिने निर्णय सोमबार गरेको थियो ।

प्रकाशित : चैत्र ७, २०७५ ०७:५२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT