कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

घरबास चलाउन एक करोड निकासा

सिन्धुपाल्चोक — नमुना काम देखाउने होडमा लागेका नगरदेखि गाउँपालिकाले पर्यटकीय प्रवर्द्धनअन्तर्गत घरबास (होमस्टे) लाई प्राथमिकता दिएका छन् । तीन नगर र नौ गाउँपालिकामा केहीले ठूलो बजेट छुट्याएर पर्यटकीय गन्तव्य पहिचान, होमस्टे तालिमजस्ता कार्यक्रम सुरु गरेका हुन् । 

घरबास चलाउन एक करोड निकासा

त्यसका लागि मेलम्ची नगरपालिकाले एक करोड ५० लाख रुपैयाँ बजेट छुट्याएको छ । तामाङ, गुरुङको बाहुल्य रहेको हैबुङमा मौलिक संस्कृति झल्काउनेबारे ७७ जनालाई होमस्टे तालिम दिइसकिएको मेलम्ची नगरपालिका–३ हैबुङका अध्यक्ष वसन्त गुरुङले बताए । ‘तालिमले यहाँका स्थानीयमा पर्यटकीय होमस्टेलाई झनै व्यवस्थित बनाएको छ,’ उनले भने । दिगो आयस्रोतलाई पर्यटकीय अभियानमा लगेर व्यवस्थापन गर्ने वडाले योजना बनाएको उनले सुनाए ।


पर्यटकीय आकर्षणलाई बढाउन इन्द्रावती गाउँपालिकाले पर्यटन बोर्डको सहयोगमा ५ दिने २० होमस्टे तालिम दिएर घरबास व्यवस्थापन गरेको जनाएको छ । ‘तामाङ, दनुवार, बाह्मण, श्रेष्ठ लगायतका मौलिक खाना, रहनसहन, संस्कृति झल्कने होमस्टेका लागि अभियान थालेका छौं,’ इन्द्रावती गाउँपालिकाका अध्यक्ष वंशलाल तामाङले भने ।


पर्यटन प्रवर्द्धनका लागि १५ लाख बजेट राखेर अनेक प्रयास सुरु गरिएको उनको भनाइ छ । भोटेकोसी गाउँपालिकाले दुगुनाको यार्मासिंहस्थित यार्मासिंह, खाम्गेक विक टोल, भूमाचौर पाटीकुना, भेकासिंह, थांमाछे र ढिसिङ टोलजस्ता होमस्टेगाउँ बनाउने अभियान थालेको छ । तिब्बतसँग युद्व गर्न जंगबहादुर राणाले बनाएको गढक्षेत्रसँगै थापिनारायण, तातोपानीजस्ता धार्मिक स्थलको संरक्षणमा जुटेको भोटेकोसी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलले बताए ।


‘दिनिथाङ, दुगुना हुँदै चर्चित भैरवकुण्ड पुग्ने ५ किमि पदमार्गको स्तरोन्नतिका लागि ७ लाख, पर्यटकीय महोत्सवका लागि दस लाख छुट्याएका छौं । हालै भैरवकुण्ड पार्क बनाउन डीपीआरको तयारी भइरहेको छ,’ उनले भने । होमस्टेलाई लक्षित गरेर ८ लाखको लागतमा थगामबाट बगाम जाने ५ किलोमिटर सिढी बनाइसकेको छ ।


पर्यटकीय गाउँपालिकाको रूपमा नाम कमाएका पाँचपोखरी थाङपाल र हेलम्बुले होमस्टे कार्यक्रमलाई व्यवस्थित बनाएर प्रयोगमा ल्याउने तरखरमा छन् । पर्यटकीय क्षेत्रका रूपमा चर्चित पाँचपोखरी ताललाई प्रवर्द्धन गर्न अभियान सुरु गरिसकेको पाँचपोखरी थाङपाल गाउँपालिकाका अध्यक्ष टसी लामा ह्योल्मोले बताए ।


‘पर्यटकीय क्षेत्रको उन्नतिका लागि होमस्टे, पाँचपोखरीको अघिल्लो गाउँसम्म जोड्ने सडक निर्माण सकेका छौं,’ उनले भने । सुन्दरतम लाक्पादोर्जे हिमाल देखिने पाँचपोखरीको ओखरेनी, लार्गाचे, थाङपालजस्ता गाउँमा विभिन्न संस्कृतिको होमस्टे अपनाइएको उनले प्रस्ट्याए ।


होमस्टेलाई लक्षित गरेर हेलम्बु गाउँपालिकाले पर्यटकीय प्रवर्द्धनमा एक करोड बराबर बजेट राखेर काम थालेको छ । भूकम्पपछि धमाधम भइरहेको पुनर्निर्माणमा होमस्टेसहितको आवास निर्माण गर्न सूचना दिइएको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पा सुनाउँछन् । ‘पर्यटकीय ट्रेल लक्ष्य राखेका छौं, सबै आवास र एकीकृत बस्तीको पुनर्निर्माण सकेलगत्तै होमस्टे अभियानलाई व्यापक बनाउने तरखरमा जानेछौं,’ उनले भने ।


चैत १५ गते आरोहण सुरु गरिन लागिएको जुगल हिमाल आरोहणसँगै पर्यटकीय होमस्टे अभियानलाई तीव्र बनाइएको जुगल गाउँपालिकाले जनाएको छ । ‘जुगल आरोहणको तयारी गर्दै प्रदेश सरकारबाट ४० लाख, ५ लाख ५० हजार विनियोजन गरिएको छ,’ जुगल गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठले भने ।


गाउँपालिका महासंघका अध्यक्षसमेत रहेका श्रेष्ठका अनुसार हिमाल हेर्न आउनेलाई चिटिक्क परेका पुराना संस्कृति बोकेका सेलाङ, गुम्बाथान, तेम्बथानजस्ता गाउँमा होमस्टे अपनाइएको छ । ‘डल्लेपोखरी, धुम्मे पोखरी कृषि पर्यटन ७० लाख छुट्याएका छौं,’ पर्यटक मैत्री गुरुयोजना बनाइरहेको बताउँदै उनले भने ।

प्रकाशित : चैत्र ११, २०७५ ०७:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?