कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पैदलै ७७ जिल्ला

काभ्रे — भर्खर १९ पुगेका एक युवाले १४ महिनाबीचमा ७७ जिल्लाको पैदल यात्रा गरेका छन् । नमोबुद्ध नगरपालिका ५ का शरद कोइरालाले ०७४ भदौबाट थालेको यात्रा ०७५ कात्तिकमा धुलिखेल आएर पूरा गरेका थिए । उनी वैशाख महिनाभित्रै विश्व यात्रामा निस्कने तयारीमा छन् । 

‘डिस्कभरी च्यानलमा म्यान भर्सेज वाइल्ड हेरिरहन्थेँ, पुष्कर शाहको किताब पनि पढेँ, यिनै कुराले मलाई प्रेरणा दियो,’ कोइरालाले भने, ‘एसएलसीमा राम्रै रिजल्ट आएको थियो, १२ कक्षा पढदै गर्दा नेपाल यात्रामा निस्किएँ ।’


परिवारको अनुमतिबिना यात्रामा निस्किएका कोइरालाले घर छोडदा खल्तीमा ७ सय रुपैयाँ मात्र थियो । रोइकराइ गरेपछि दिदीले झोला किनिदिइन् । हिँडेको पहिलो रात पाँचखालस्थित पाटीमा सुत्नुपर्‍यो । ‘घरको अनुमतिबिना हिँडेको थिएँ, पहिलो रातमै पाटीमा सुत्नुपर्‍यो,’ कोइरालाले भने, ‘पुलिस देखेर डर लाग्थ्यो तर उद्देश्य सही भएको कारण निरन्तरता दिएँ ।’


कसैले पुलिस र स्थानीय निकायसँग समन्वय गर्न भनेपछि उनी ताप्लेजुङ पुग्दा जिल्ला प्रहरीमा बास मागे । प्रहरीले गरेको स्वागत, सम्मान र खानपानको व्यवस्थाले उनको मनोबल उचो भयो । त्यसपछिका दिनमा भने उनले प्रायः प्रहरीकोमा बास माग्न थाले । सोलुखुम्बु पुग्दा गोजीमा भएको ७ सय पनि सकियो । सेतेबाट लुक्ला पुग्न २ घण्टा बाँकी थियो ।


भोक लागेर झोला हेर्दा केही पनि रहेनछ । खोज्दै जाँदा चाउचाउको मसला भेटे । त्यो भेटा उनलाई स्वर्ग नै पाएजस्तो भयो । त्यही खाएर अघि बढेको उनले सुनाए । ‘त्यति बेला बाबुआमा सम्झेँ, परिवारको माया याद आयो,’ उनले भने । सुदूरपश्चिमका जिल्ला पुग्दा भने उनलाई नयाँ अनुभव भयो । त्यहाँको सुन्दरताकै कारण ‘सुन्दर सुदूरपश्चिम’ भनिएको होला भन्ने लाग्यो ।

प्रकाशित : वैशाख १, २०७६ ०७:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?