कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दशकपछि बल्ल काम सुरु

२०६६ मा हेटौंडा उपमहानगरपालिका ७ मा नेपाल भारत बहुप्राविधिक महाविद्यालय स्थापना गर्ने सम्झौता भएको थियो । बल्ल बहुप्राविधिक महाविद्यालयको निर्माणस्थलका रूख कटान कार्य धमाधम भएको छ ।
प्रताप विष्ट

(हेटौंडा) — दुई देशबीच सम्झौता भएको एक दशकपछि हेटौंडा उपमहानगरपालिका–७ मा नेपाल भारत मैत्री बहुप्राविधिक महाविद्यालयको निर्माण स्थलका रूख कटान कार्य एक सातादेखि धमाधम भइरहेको छ  । एक साताको बीचमा करिब साढे चार सयवटा रूख कटान गरिसकिएको छ  ।

दशकपछि बल्ल काम सुरु

चित्रपानी सामुदायिक वनले उक्त महाविद्यालय निर्माण गर्न एक दशकअघि नै साढे २६ बिघा जमिन उपलब्ध गराएको थियो । उक्त सामुदायिक वनमा रहेको २ हजार ३ सय ५१ वटा रूख कटान ठेकदारमार्फत सुरु गरिएको हो । ‘एक महिनाभित्रमा रूख कटान गरिसक्ने सम्झौता रहेको छ,’ महाविद्यालयका प्रशासन प्रमुख विष्णु घिमिरेले भने, ‘रूख कटान सँगसँगै महाविद्यालयको शिलान्यास पनि एक महिनाभित्रै गर्छौँ ।’ निर्माण कम्पनीलाई निर्माणस्थल छिट्टै नै खाली गरिदिनुपर्ने भएको उनले बताए ।

र्माणस्थलमा विगतमा करिब ८ सय रूखमात्र कटान गर्नुपर्ने भनिए पनि अहिले २ हजार ३ सय ५१ वटा रूख कटान गर्नुपर्ने
भएको छ । कटान हुने रूखमा करिब १ हजार ९ सय रूख सल्लाह जातका छन् भने चार सय जति अन्य जातका छन् । भारत सरकारको सहयोगमा उक्त महाविद्यालय निर्माण हुन लागेको हो ।

नेपाल र भारतको राष्ट्रपति स्तरमा २०६६ सालमा हेटौंडा उपमहानगरपालिका ७ मा नेपाल भारत बहुप्राविधिक महाविद्यालय स्थापना गर्ने सम्झौता भएको थियो । सम्झौताअनुसार हेटौंडामा जग्गा उपलब्ध गराएर तारबार लगाउने काम पनि गरिएको तर भारत सरकारको ढिलासुस्तीका कारण महाविद्यालयको निर्माण कार्य सुरु हुन सकेको थिएन । भारत सरकारको सहयोगमा निर्माण गर्ने भनेर सम्झौता भएको उक्त महाविद्यालयको निर्माण कार्यको टेन्डर भारत सरकारले नै गत वर्ष निकालेको थियो । निर्माण कम्पनी पनि छनोट भइसकेको छ ।


भारतीय टीसीआईएन निर्माण कम्पनीले निर्माण कार्यको ठेक्का पाएको छ । ‘महाविद्यालयको निर्माण कार्य वैशाखको अन्तिम सातादेखि सुरु गर्ने तयारीमा छौँ,’ नेपाल–भारत मैत्री बहुप्राविधिक महाविद्यालयका प्रशासन प्रमुख घिमिरेले भने, ‘महाविद्यालयको निर्माण कार्य गर्न कन्स्ट्रक्सन पनि तयारी अवस्थामा छ ।’

प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले महाविद्यालयको निर्माण कार्य सुरु गर्न सम्बन्धित निकायलाई दबाब दिन दिँदै आएका छन् । मुख्यमन्त्री पौडेलले निर्माण कार्यमा चासो राखेकाले पनि काम छिटो सुरु हुन लागेको प्रमुख घिमिरेले बताए । मुख्यमन्त्री पौडेल विगतमा महाविद्यालयका अध्यक्षसमेत थिए । उनले महाविद्यालय निर्माण स्थलको पटकपटक अवलोकन गर्नुको साथै डिभिजन वन कार्यालयलाई रूख कटानका लागि ताकेतासमेत लगाएका थिए । ५५ करोडको लागतमा निर्माण हुने महाविद्यालयको भवन निर्माण कार्य भारतीय टीसीआईएनले गर्न लागेको हो । खानेपानी र विद्युत्को काम नेपाल सरकारको जिम्मेवारीमा छ । विगतमा नेपाल सरकारले समयमा नै जग्गा उपलब्ध गराउन सकेन र ईआईए पनि समयमा गर्न नसकेकाले पनि महाविद्यालयको निर्माण कार्य ढिला हुन गएको हो ।

भारत सरकारले अहिले चासोका रूपमा लिएकाले महाविद्यालयको निर्माण कार्य सुरु हुन लागेको मुख्यमन्त्री पौडेलले बताए । रूख कटान हुनेबितिक्कै भौतिक संरचना बनाउने कार्य तीव्रगतिले अगाडि बढ्ने शिक्षालयले जनाएको छ । निर्माण कार्य सुरु भएको दुई वर्षमा काम सम्पन्न गरिसक्नुपर्नेछ । साढे २६ बिघा जमिनमा अध्ययन गर्ने भवन, छात्रावास, खेलकुद मैदान, व्यावसायिक तालिम भवनलगायत संरचनाहरू निर्माण हुनेछन् ।

पहिलो चरणमा उक्त विद्यालयमा डिप्लोमा तहको कम्प्युटर अर्थात् आईटी, मेकानिकल र इलेक्ट्री विषयका पढाइ हुनेछ । यो महाविद्यालयले मुलुकलाई आवश्यक पर्ने जनशक्ति उत्पादन गर्ने शिक्षालय प्रशासन प्रमुख घिमिरले बताए । महाविद्यालय स्थापना हुने स्थल हेटौंडा बजारबाट ६ किलोमिटर पूर्व पर्छ ।

प्रकाशित : वैशाख ४, २०७६ ०८:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?