कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

वीरमा अनियमितता

काठमाडौँ — चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) अन्तर्गतको वीर अस्पताल खरिद इकाईले खाद्यान्न खरिदमा अनियमितता गरेको भेटिएको छ । इकाईले खरिद ऐननियम मिचेर योग्यता नपुगेको फर्मसँग टेन्डर स्वीकृत गरी सामान खरिद गरेको हो ।

अस्पतालको खरिद इकाईले गत वर्षको माघमा गोरखापत्र दैनिकमार्फत रासन सामग्री खरिदका लागि टेन्डर सूचना प्रकाशित गरेको थियो । तीन सप्लायर्स फर्मले टेन्डर हाले । टेन्डर हालेका तीन फर्ममध्ये अस्पतालले १ करोड १४ लाख ९३ हजार ५ सय रुपैयाँमा वैशाख १ गते न्यु सुयोग इन्टरप्राइजेजको टेन्डर स्वीकृत गरेको छ ।


सार्वजनिक खरिद ऐनअनुसार सबैभन्दा सस्तो मूल्यमा सामान दिनेको टेन्डर स्वीकृत गर्नुपर्छ । वीर अस्पतालमा टेन्डर हालेका फर्ममध्ये सुयोगकै रकम सबैभन्दा सस्तो देखिए पनि टेन्डर पाउने फर्मको योग्यता न्याम्सले तोकेजस्तो छैन । टेन्डर स्वीकृतिका लागि न्याम्सले तोकेको विभिन्न योग्यतामध्ये बोलपत्रदाता (सप्लायर्स फर्म) कम्तीमा तीन वर्षसम्म लगातार रासन सामग्री कारोबार गरेकै हुनुपर्ने भनिएको छ । तर, सुयोगले टेन्डर पाउनका लागि बुझाएको प्रमाणपत्र न्याम्सले तोकेबमोजिम योग्यता पुगेको देखिँदैन ।


ऐनअनुसार सस्तो मूल्यमा सामान दिएकै आधारमा योग्यता प्रस्ट नखुलेको कम्पनीको टेन्डर स्वीकृत गर्न मिल्दैन । अस्पतालको खरिद इकाई प्रमुख भगवती थपलियाको मिलेमतोमा बारम्बार खरिद कारोबार गर्दा अनियमितता भइरहने स्रोत कर्मचारीको दाबी छ ।


यसबारे कुरा गर्न खोज्दा प्रमुख थपलियाले कुनै संवाद गर्न चाहिनन् । खरिदमा अनियमितता भएको भन्दै अस्पताल कर्मचारीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, प्रधानमन्त्री कार्यालय र अख्तियारमा समेत उजुरी दर्ता गरेका छन् ।

प्रकाशित : वैशाख १०, २०७६ ०८:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?