उत्कृष्ट सामुदायिकमा हानथाप

अनिश तिवारी

सिन्धुपाल्चोक — इलामका विधाता किरण राई उत्कृष्ट शिक्षाका लागि मेलम्चीघ्याङ गाउँ आइपुगेका छन् । कक्षा ७ मा भर्ना हुन् आएका राई खुबै उत्साहित देखिन्थ्ये । गुणस्तरीय शिक्षा पाउन मेलम्चीघ्याङ पुगेका उनलाई विकट हिमाली गाउँको सिरेटोले रत्तिभर छोएको छैन । 

सिन्धुपाल्चोकको मेलम्चीघ्याङ माध्यमिक विद्यालयमा प्रवेश परीक्षा दिँदै बालबालिका । तस्बिर सौजन्य : पूर्ण गौतम 

६ मा भर्ना गरिसकेका काठमाडौं बासी अटोपांग राई दुई साथीसँगै भर्ना भइसकेपछि हिमाली परिवेशको दृश्यको आनन्द लिँदै थिए । काभ्रेका विश्लेषण कोइराला अध्ययनअघिको परीक्षाको तैयारीमा जुटिरहेका छन् ।

सिराहबाट हतारमा आएका सुमितकुमार कक्षा ८ मा भर्ना भएपछि ढुक्क देखिए । उनीसँगै नुवाकोटका सुजन तामाङ ,सन्देश जिल्लाकै नमुना मेलम्चीघ्याङ माध्यमिक विद्यालयमा भर्ना गरिसकेपछि ‘इन्ट्रास’ परीक्षाको तयारीमा छन् ।
काभ्रे, धनुषा, झापा, रसुवा, सिराहादेखि राजधानीसम्मका धेरै बालबालिका हिमाली भेगस्थित मेलम्चीघ्याङ माविमा अध्ययन गर्नको लागि मरिमेट्ने गर्छन् ।

जिल्लाभर अभियानको लहर चलेसँगै शिक्षामा उत्कृष्ट यस विद्यालयमा बाहिरी र सिन्धुपाल्चोकै बालबालिकाको भर्ना गर्नेको तँछाडमछाड चल्छ । ‘हालसम्म नयाँमा ७० जनाले भर्ना गरेका छन्, दिनहुँ बढ्दै छन्,’ मेलम्चीघ्याङ माविका प्रधानाध्यापक पूर्णप्रसाद गौतम भन्छन्, ‘अभिभावकवर्गले विश्वास गर्नुभएकाले यस्तो भइरहेको छ ।’ ३ देखि नौसम्म ९८ ले ‘इन्ट्रास’ परीक्षा दिइरहेको उनले सुनाए ।

पठनपाठनमा चर्चित मेलम्चीघ्याङमा १७ शिक्षकद्वारा अध्यापन गराइँदै आएको छ । ‘तीनदेखि नौ कक्षासम्म ‘इन्ट्रास’ परीक्षा चल्छ, यसकै आधारमा भर्ना समितिले कक्षा फिक्स गर्छ,’ उनले भने । २७ वर्षअघि हेलम्बु गाउँपालिकाअन्तर्गतको मेलम्चीघ्याङ गाउँमा निर्माण गरिएको मेलम्चीघ्याङमाविमा ३ सय १० बालबालिका अध्ययनरत छन् ।

ईसीसीडीदेखि १० सम्म चलेको यस विद्यालयमा अघिल्लो वर्ष ८० जनाले भर्ना गरेका थिए ।चौतारा साँगाचोकगढी नगरपालिकास्थित श्रीकृष्णरत्न गंगा माध्यमिक विद्यालयमा भर्ना गर्नेको लर्को बढिरहेको छ ।व्यवस्थापन एकदमै सकारात्मक बनाइएकाले यहाँ भर्ना बढिरहेको प्रधानाध्यापक ध्रुवलाल श्रेष्ठले बताए । ‘दिनकै जस्तो भर्ना गर्ने बढिरहेकाले यस वर्ष धेरै बालबालिका हुनेछन्,’ उनले भने ।

जिल्लाकै जेठो विद्यालय कृष्णरत्न गंगा माविमा शैक्षिक उन्नतिको अवस्था देखेर बालबालिका भर्ना गराउन आउने बढेको उनको भनाइ छ । ईसीसीडीदेखि १२ कक्षासम्म चलिरहेको यस विद्यालयमा १ हजार ४ सय बालबालिका पढिरहेका छन् । शिशु कक्षामा भर्ना गर्न आउने बढेका छन्, जसले धेरै ‘सेक्सन’ छुट्ट्याउनुपर्ने अवस्था देखिएको छ । एक कक्षामा २० या २२ हुनेबित्तिकै अलग्गै कक्षा बनाएर अध्यापन गराउने उनले प्रस्ट्याए ।

शिक्षामा अग्रिण अब्बल सामुदायिक विद्यालयमा भर्ना गर्नेको ओइरो लागेको जिल्ला शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख गौरीशंकर पाण्डे सुनाउँछन् । ‘निजीभन्दा दिग्गज मानिएका सामुदायिक विद्यालयमा भर्ना गर्नको लागि हिजोआज चटारो नै चल्ने गर्छ,’ उनले भने, ‘नमुना मेलम्चीघ्याङ, जेष्ठ कृष्णरत्नगंगा माविजस्ता शैक्षिक अगुवा विद्यालयले भर्ना अभियानलाई व्यापक बनाइरहेको छ ।’ उनले यस्ता लोभलाग्दो सामुदायिक विद्यालयबाट भर्ना अभियानलाई भरपर्दो बनाएर लगिरहेको जनाए ।

पहिलो पटक २०६३ सालमा एसएलसीमा सहभागी भएदेखि विशिष्टसहित शतप्रतिशत नतिजा ल्याइरहेको मेलम्चीघ्याङलेभर्नालाई बलियो बनाएकोउनको कथन छ । गत सालभर गरेको सर्वेक्षणअनुसार विद्यालयबाहिर रहेका ६ सय ४६ बालबालिकालाई भित्र्याउने र जिल्लाभरका झन्डै ८३ हजारलाई भर्ना गराउने लक्ष्य राखिएको शिक्षा विकास तथा समन्वय इकाईले जनाएको छ ।

प्रकाशित : वैशाख १५, २०७६ ०७:२५
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

ऋण बोक्दै भूकम्पपीडित

अनिश तिवारी

सिन्धुपाल्चोक — नयाँ घरमा बस्ने हतारोमा लागेका भोटेकोसी गाउँपालिका लिस्तीकोट सिंगेरीका शुकवीर विक कसरी ऋण तिर्ने अन्योलमा छन् । सामग्री र कामदार अभावले घर निर्माणलाई तीव्रता दिन नसकेका उनलाई झ्यालसम्मको संरचनामा आइपुग्दासम्म ३४ प्रतिशत ऋणको ब्याजले लगातार थिच्दै गएको छ । 

‘घर त बनाउनु नै पर्‍यो तर अझै बाँकी ३ लाख ऋण कसरी तिर्ने आत्तिन थालेको छु,’ विकले बन्दै गरेको घर देखाएर दुःखेसो गरे । आवास अनुदानको पूरा किस्ता लिँदासमेत आवास बनाउन हम्मे परेको उनले सुनाए ।

भोटेकोसी–१ लिस्तीकोट पाउँगुम्बाका कामी शेर्पा छिमेकी र साहुबाट गरी सय कडा २ अर्थात् २४ प्रतिशत ब्याजको ऋण लिन बाध्य भए । ‘हामीजस्तालाई बैंक सहकारीले जग्गा धितो राख्दा पनि पत्याउँदैनन्, चर्को ब्याजमा ऋण नलिए घर कसरी बनाउनु ?,’ शेर्पाले प्रश्न गरे ।

पाँचपोखरी थाङपाल गाउँपालिका थाङपालधापकी सुनीता तामाङ यस्तै मारमा परिरहेको सुनाउँछिन् । ‘सरकारले अनुदान दिएकै हो, तर हामीजस्ता गरिबका लागि घर बनाउनु युद्ध बराबरकै कामभएको छ,’ आवास सम्पन्नको तरखरमा रहेकी उनले घर देखाएर भनिन् । बैंकबाट जग्गा धितो राखेर र सापटी लिएर चारकोठे घर बनाउन झन्डै सात लाख खर्चिएको उनको भनाइ छ ।

जिल्लाका ग्रामीण भेगका अधिकांश भूकम्पपीडितले ऋण लिएर पुनर्निर्माणलाई तीव्रता दिइरहेको पाइएको गाउँमा पुगेका इन्जिनियर बताउँछन् । सरकारी मापदण्डको अन्योलताबीच चटारोमा रहेका भूकम्पपीडित महँगीको कारण क्रमशः ऋणमा डुबिरहेका छन् । ‘ऋण नपाउनुको समस्या एकतर्फछ, अर्को चर्को ब्याज र ऋणतिर्नुको मार । आवास पुनर्निर्माणमा यस्ता समस्या पनि देखिएका छन्,’ जिल्ला आयोजना कार्यान्वयनइकाई (भवन) का प्रमुख सन्तोष निरौलाले भने ।

त्यति बेला ध्वस्त आवास तीन नगरदेखि नौ गाउँपालिकाले सडक सञ्जालमा वडालाई जोडिदिएपछि अहिले पुनर्निर्माणले एकैसाथफड्को मारेको निरौलाले बताए । पहिरोको जोखिममा भएका केही स्थानबाहेक अन्यत्र पुनर्निर्माणले गति लिइरहेको उनको भनाइ छ ।

अहिलेसम्म पहिचान गरिएका ८८ हजार दुई सय ४९ भूकम्पपीडितमा ८५ हजार ५ सय २३ ले सम्झौता सकेर पहिलो किस्ता लगिसकेका छन् । भने ७९ हजार ३ सय ३८ ले दोस्रो र ६१ हजार चार सय २५ जनाले तेस्रो किस्ता पाइसकेका छन् ।

तत्कालीन जिल्ला दैवीप्रकोप उद्धार समितिको अध्ययनले (९५ प्रतिशत) ६६ हजार घर भत्काएको देखाएको छ । भूकम्पले जिल्ला ध्वस्त बनाउँदा ३ हजार ५ सय ७० ले ज्यानगुमाएका थिए ।

छुटेको गुनासो संकलन हुँदै
अहिले ७ हजार ८ सय ९२ परिवारको गुनासोको सर्वेक्षणविवरण संकलन भइरहेको जिल्ला आयोजना कार्यान्वय इकाई भवनले जनाएको छ ।

‘प्रत्येक नगर र गाउँपालिकामा तीन प्राविधिक इन्जिनियर खट्दै छन्,’ उनले भने । तीन नगरदेखि नौ गाउँपालिकाको प्रत्येक वडास्तरीय गुनासो सुनुवाइ समितिसँग समन्वय गरेर गुनासो जम्मा गरिरहेको उनको भनाइ छ । बजारभन्दा गाउँ क्षेत्रमा भूकम्पपीडितले ऋण गरेर भए पनि आवास ठड्याइसकेको पाइएको अनुगमनमा पुगेका प्राविधिकबताएका छन् ।

प्रकाशित : वैशाख १३, २०७६ ०८:३४
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT