कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मेलम्चीको काम अब द्रूत प्रक्रियाबाट

दीपेन्द्र विष्ट

काठमाडौँ — खानेपानी तथा सरसफाइ मन्त्रालयले मेलम्ची खानेपानी आयोजनाको बाँकी काम फास्ट ट्र्याक (द्रूत प्रक्रिया) बाट अघि बढाउने जनाएको छ । मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्माले आयोजना निर्माणमा निकै ढिलाइ भएको भन्दै विभिन्न प्याकेजमा विभाजन गरेर द्रूत प्रक्रियाबाट काम अघि बढाइने जानकारी दिए । 

मेलम्चीको काम अब द्रूत प्रक्रियाबाट

‘उपत्यकावासी निराश भइसकेका छन्, जसरी भए पनि काम अघि बढाउने पक्षमा छौं,’ उनले भने, ‘१०/१२ दिनभित्रै टुंगोमा पुर्‍याउंँछौं ।’ कानुनी जटिलता भएकाले मन्त्रिपरिषद्ले निर्णय गरेपछि मात्र प्रक्रिया अघि बढ्ने उनले बताए ।


आयोजनाले बाँकी कामलाई मुख्य दुई प्याकेजमा विभाजन गरेको छ । त्यसभित्र पनि १० साना प्याकेजमा बाँडिएको छ । आयोजनाका अनुसार पहिलो प्याकेजभित्र हेड वर्क्सअन्तर्गतको ड्याम निर्माण, पुल निर्माणलगायत छन् भने दोस्रो प्याकेजमा सुरुङभित्रको फिनिसिङ, गेट, भेन्टिलेटरलगायतका निर्माण कार्य छन् ।


यसरी विभिन्न प्याकेजमा काम गर्दा करिब १ वर्षभित्र पानी उपत्यकामा ल्याउन सकिने सचिव शर्माले बताए । छिटो पानी ल्याउन द्रूत प्रक्रियाबाहेक अर्को कुनै विकल्प नभएको उनको भनाइ छ । बाँकी काम सम्पन्न गर्न करिब २ अर्ब ५२ करोड रुपैयाँ लाग्ने आयोजनाको अनुमान छ । काम सम्पन्न गर्न विभिन्न समयमा इटालियन कम्पनी सीएमसीसँग सम्पर्क गरे पनि उसले थप सर्त राखेको आयोजनाका एक अधिकारीले बताए ।


‘२ अर्ब ५२ करोड दिएर पुनः १ अर्ब दिनुपर्ने सीएमसीले सर्त राख्यो, अनि कसरी हुन्छ सीएमसीबाट काम ?’ ती अधिकारीले भने, ‘त्यसपछि आयोजनाले द्रूत प्रक्रियाबाट स्थानीय ठेकेदारबाटै काम गराउने निष्कर्षमा पुगेको हो ।’


गत पुसमा इटालियन ठेकेदार कम्पनी सीएमसीले आफू आर्थिक रूपमा ‘टाट पल्टेको’ घोषणा गर्दै काम छाडेपछि आयोजनाको काम ठप्प छ । मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी उपत्यकामा ल्याउने खानेपानी मन्त्रालयको लक्ष्य अन्योलमा परेको छ ।


मेलम्चीमा खनिसकिएको साढे २७ किमि सुरुङमध्ये २ किमिमा फाइनल फिनिसिङ (पिच गर्ने), तिनमध्ये २ वटा भेन्टिलेसन सफ्ट निर्माण, हाइड्रो मेकानिकल जडान, सुन्दरीजल सप्लाई पाइप जडान, इन्ट्युमेन्टेसन जडान, पानी प्रशोधन केन्द्र–२ को निर्माण र मेलम्चीको पानी सुरुङमा लग्न बाँध (इन्टेक) निर्माण गर्न बाँकी छ । सीएमसीले निर्माणमा संलग्न नेपाली कामदारलाई तलबभत्ता र सञ्चयकोषबापत् १ अर्ब रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको जानकारी आयोजनाका कर्मचारीले दिएका छन्।


याङ्ग्री र लार्केको डीपीआर बुझायो

परामर्शदाता कम्पनी इप्टिसाले याङ्ग्री र लार्के खोलाको पानी राजधानी ल्याउने आयोजनाको विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) मेलम्ची खानेपानी आयोजनालाई बुझाएको छ ।


‘अन्तर्राष्ट्रिय विज्ञले यस विषयमा छलफल गरेर डीपीआरलाई अन्तिम रूप दिएका छन्,’ आयोजना अधिकारीले भने, ‘सुधार गर्नुपर्ने पक्ष समेटेर डीपीआर स्वीकृत भएको छ ।’ नर्वे, क्यानडा, भारतलगायतका मुलुकबाट विज्ञ मगाएर छलफल भएको उनले बताए ।


सिन्धुपाल्चोकको याङ्ग्री र लार्के खोलाबाट ३४ करोड लिटर पानी उपत्यकामा ल्याउने लक्ष्य आयोजनाको छ । यी खोलाबाट थप पानी ल्याउन सुरुङको संरचना निर्माण सुरु भइरहेको ती अधिकारीले बताए । मेलम्चीदेखि लार्केबीच निर्माण गर्नुपर्ने सुरुङको लम्बाइ ११ किमि छ ।


मेलम्चीको अम्बाथान (हेडवर्क्स) बाट २ किलोमिटर पर लार्के खोला छ । लार्केबाट याङग्रीको मुहानसम्म २ किलोमिटर सुरुङ बनाएर ल्याइने पानी सिधै अम्बाथान ल्याइएर मिसाइन्छ । तीनवटै खोला मेलम्ची, याङ्ग्री र लार्केबाट गरी दैनिक ५१ करोड लिटर पानी अम्बाथानदेखि २६ किलोमिटर टाढाको सुन्दरीजलमा सुरुङबाट ल्याइनेछ ।


प्रकाशित : वैशाख २५, २०७६ १२:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?