कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हिरासतमै आत्महत्या प्रयास

रमेशकुमार पौडेल

चितवन — इलाका प्रहरी कार्यालय रत्ननगर टाँडीको हिरासतमा रहेका एक आरोपितले हिरासत कक्षको शौचालयभित्र आत्महत्या प्रयास गरेका छन् । आत्महत्याको प्रयास गर्ने व्यक्तिलाई उपचारका लागि भरतपुरको पुरानो मेडिकल कलेजको शिक्षण अस्पतालमा राखिएको छ । उनको अवस्था चिन्ताजनक छ ।

कालिका नगरपालिका-१ पदमपुरमा रहेको राष्ट्रिय आधारभूत विद्यालयमा ल्यापटप र कम्युटर चोरी भएपछि पदमपुर प्रहरी चौकीले समिर घिसिङ र अर्का एकजनालाई समातेर बुधबार टाँडी प्रहरीलाई बुझाएको थियो । तीमध्ये समिरले बिहीबार दिउँसो तीन बजे हिरासत कक्षभित्र रहेको शौचालयमा आफूले लगाएको सर्टको पासो बनाएर आत्महत्याको प्रयास गरेको इलाका प्रहरी कार्यालय टाँडीका डिएसपी दयानिधि ज्ञवालीले बताए ।


बिहीबार दिउँसो भएको यो घटना सार्वजनिक भएपछि साँझपख आक्रोशित स्थानीयले टाँडी र पदमपुरको प्रहरी कार्यालयमा प्रदर्शन गरेका छन् ।


'हिरासत कक्षमा हिजो १३ जना थिए । त्यसमध्ये शौचालय गएका बेलामा समिरले त्यस्तो गरेछ । देख्ने हिरासतका व्यक्तिहरु नै थिए । उनीहरु चिच्याएपछि प्रहरी भित्र गएको हो । उद्धार गर्नेमा पनि हिरासत कक्षका आरोपित नै थिए' डिएसपी ज्ञवालीले भने । हिरासत कक्षमा भएको यो घटना सार्वजनिक भएपछि पदमपुरका स्थानीयहरु प्रर्दशन गर्दै टाँडी प्रहरी कार्यालयमा पुगेका थिए ।


'प्रदर्शनकारीहरु निकै उग्र थिए । उनीहरुले प्रहरी कार्यालयमा नै ढुंगामुडा गरे । हामीले अश्रुग्यास हानेर हटाउनु पर्‍यो र साँझपख उनीहरुले रत्ननगरमा पूर्व-पश्चिम राजमार्ग बन्द गर्ने प्रयास पनि गरे । हामीले त्यहाँबाट पनि हटायौं । फेरि पदमपुर चौकी पुगेर प्रदर्शन र ढुंगामुडा गरे' चितवन जिल्ला प्रहरी कार्यालयका प्रमुख रहेका प्रहरी उपरीक्षक (एसपी) सुशिलसिंह राठौरले जानकारी दिए । राति १० बजेसम्म स्थानीयले प्रदर्शन गरेको उनले बताए ।


प्रहरीले ३७ जनालाई पक्राउ गरेको छ । २९ वटा मोटरसाइकल पनि नियन्त्रणमा लिएको एसपी राठौरले जानकारी दिए । आत्महत्याको प्रयास गरेका घिसिङको आईसीयूमा उपचार भइरहेको छ । प्रहरीका अनुसार उनको अवस्था चिन्ताजनक छ ।

प्रकाशित : वैशाख २७, २०७६ ०८:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?