मुरलीले जुटाए एक करोड

रमेशकुमार पौडेल

चितवन — नेपालीमा उखान छ ‘एक थुकी सुकी, सय थुकी नदी ।’ खैरहनीका ५७ वर्षीय मुरलीप्रसाद गजुरेलले यो उखान मात्रै हैन सत्य नै बनेको छ ।

चितवन र आसपासका बासिन्दा जो जन्म दिवस, बिहेको वार्षिकोत्सव वा अन्य शुभकार्य गर्दै आएका छन् । उनीहरूमध्ये धेरैले गजुरेललाई चिनेका छन् । उनीहरूले सहर्ष दिएको केही नगदबाट गजुरेलले छात्रवृत्तिका लागि राम्रै रकम जुटाएका छन् ।
लगभग नौ वर्षअघि ०६७ सालको पुसमा गजुरेलले बैंकमा ५९ हजार पाँच सय रुपैयाँ जम्मा गरे ।

Citizen


पूर्वी चितवन खैरहनी नगरपालिका-६ मा रहेको खैरहनी माविको ‘जन्मोत्सव तथा स्मृति छात्रवृत्ती अक्षयकोष’ का लागि जम्मा भएको पहिलो रकम थियो त्यो । जसका लागि गजुरेल आफंैले १५ सय रुपैयाँ राखेका थिए । परिवारका अन्य सदस्यबाट समेत गरेर ६५ सय रुपैयाँ जुटेको थियो ।

‘जन्मजयन्ती मनाउन थालेका अन्य दुई जनाले एक एक हजार र अरुणकुमार विकले ५१ हजार दिनुभयो । हाम्रो परिवारको पनि गरेर ५९ हजार पाँच सय रुपैयाँ बैंकमा जम्मा गरियो,’ गजुरेलले भने । यसरी सुरु भएको अभियानमा शुक्रबार एक करोड एक लाख रुपैयाँ जम्मा भयो । अक्षय कोषमा एक करोड जुटाउने कुरा गर्दा पत्याउने कमै हुन्थे । तर आँटेपछि काम पूरा हुन सक्दो रहेछ भन्ने कुरा गजुरेलले सिद्ध गरे ।

‘उद्देश्य प्रस्ट हुनुपर्‍यो, नगद कारोबारमा पारदर्शिता आवश्यक हुँदो रहेछ । अनि काममा निरन्तर जुट्नुपर्‍यो । यसो भएपछि लक्ष्य पूरा हुँदो रहेछ,’ हाल अस्ट्रेलियामा रहेका गजुरेलले कान्तिपुरसँग टेलिफोन सम्पर्कमा भने । उनले एक करोड रुपैयाँको अक्षयकोष पूर्वी चितवनको पुरानो विद्यालय खैरहनी माविमा कक्षा ११ र १२ मा पढ्ने गरिब तथा जेहनदार छात्रछात्राहरूलाई छात्रवृत्ति दिन स्थापना गरेका हुन् ।

नौ जनाको समिति बनाएर कोष सञ्चालन गरेका छन् । संयोजन गजुरेलले गरेका छन् । संयोजकसहित विद्यालयका प्रअ र कोषाध्यक्षको हस्ताक्षरले खाता सञ्चालन हुन्छ । कोषका लागि भनेर दिएको रकम अन्यत्र कतै पनि खर्च हुँदैन । जब कि त्यो रकम जुटाउन गजुरेलले निकै मिहिनेत गरेका हुन्छन् । टेलिफोन गर्नेदेखि रकम लिन मोटरसाइकलमा टाढाटाढा जान्छन् । तर यो खर्च उनी आफ्नै खल्तीबाट गर्छन् ।

‘जन्म दिनमा मान्छेले खर्च गर्ने परिपाटी बसालेको छ तर केही रकम दिए शिक्षामा सहयोग पुग्छ भन्ने सन्देश फैलाउन मैले पहिला गाउँ घरमा डुलेरै कस्को जन्म दिन कहिले पर्छ भन्ने विवरण ल्याएर आएँ,’ गजुरेलले भने । जन्म दिनमा सहयोग गर्नेलाई फूलमालाले स्वागत गरेर तस्बिर सामाजिक सञ्जाल फेसबुकमा राख्न थाले । विस्तारै उनको कामका बारेमा चासो दिने मात्रै हैन सहयोग गर्ने नै बढ्न थाले ।

‘कम्तीमा एक हजार रुपैयाँ सहयोग गर्नेहरू हुनुहुन्छ । लाख रुपैयाँ सहयोग गर्नेहरू चार पाँचजना हुनुहुन्छ । चितवन, नवलपुर, मकवानपुरबाट सहयोग लिन फोन आउन थाल्यो । विदेशमा बस्नेहरूले पनि ठूलो सहयोग गर्नुभयो । सबैको सहयोगले यति चाँडै यो रकम जुटेको हो,’ गजुरेलले भने । कमजोर आर्थिक अवस्थाले गर्दा आफूले धेरै पढ्न नपाएका कारण गजुरेललाई शिक्षामा यस्तो अभियान चलाउने उपाए आएको हो ।

‘घरको आर्थिक अवस्था कमजोर भएका कारण १० कक्षाभन्दा धेरै पढ्न सकिएन । केही कमाउन भनेर साउदी गएको बेलामा अशिक्षाका कारण के कति हन्डर, ठक्कर र हेपाइ खानु पर्दो रहेछ भन्ने भोगियो । पछि नेपालमै आएर बसे । शिक्षा क्षेत्रमा केही गरैं भन्ने लाग्थ्यो,’ गजुरेलले सुनाए । जन्मदिन, बिहे वर्षगाँठ र दिवंगतको स्मृतिमा सहयोग गर्ने चलनलाई सामाजिक सञ्जालको बढदो लोकप्रियताले फैलाउन मद्दत गर्‍यो ।

उनको यो अभियानमा पाँच हजार जनाभन्दा धेरै जोडिए । कोषमा रकम जम्मा हुन थालेपछि सुरुमा ०६९÷७० सालमा खैरहनी माविमा पढ्ने ७२ जनालाई ९० हजार रुपैयाँ छात्रवृत्ति दिएको गजुरेलले जानकारी दिए । त्यसपछि एक लाख, डेढ लाख हुँदै गएको वर्ष पौने सात लाख रुपैयाँ छात्रवृत्तिबापत् वितरण भएको उनले बताए । हालसम्म ६३० जना विद्यार्थीलाई छात्रवृत्तिबापत् १९ लाख १८ हजार आठ सय रुपैयाँ वितरण भएको छ । कोषमा राखेको रकमको ब्याजबाट मात्रै छात्रवृत्ति वितरण भएको हो ।

अक्षय कोषमा एक करोड रुयैयाँ नाघेपछि ब्याजबापत् मात्रै वर्षमा १० लाख रुपैयाँ प्राप्त हुने अवस्था छ । ‘कोषको विधानमा छात्रवृत्तिमा रकम खर्च हुने भन्ने छ । अब हामीसँग पर्याप्त रकम भएको छ । यसलाई शैक्षिक विकासमा के कसरी परिचालन गर्ने भन्नेबारेमा समिति बसेर मन्थन गर्नेछ,’ खैरहनी माविका प्रधानाध्यापक शम्भुशंकर बर्तौलाले भने ।

बर्तौलाका अनुसार विद्यालयमा अहिले कक्षा ११ मा ९३ जना र कक्षा १२ मा ७४ जना विद्यार्थी छन् । व्यवस्थापन र शिक्षाको पढाइ हुन्छ । विसं. २०१४ सालमा खुलेको विद्यालयमा पढ्ने अधिकांश निम्न आय अवस्था भएका विद्यार्थी रहेका बर्तौलाको भनाइ छ ।
‘एक करोड रुपैयाँको कोष खडा गर्छौ भन्दा हिजो हाँस्नेहरू पनि थिए । तर हामीले यो प्रण पूरा गरेरै छाड्यौं । अब विद्यालयको शैक्षिक गुणस्तरलाई पनि सुधार्नेछौं । यसमा पनि हामी सफल नै हुने छौं,’ प्रअ बर्तौलाले भने ।

एक करोड रुपैयाँको लक्ष्य पूरा भएपछि अभियानकर्ता गजुरेल निकै खुुसी छन् । तत्कालका लागि सहयोग जारी नै रहनेछ । छोराहरू अस्ट्रेलियामा बसेका कारण हाल उनी पनि उतै छन् । चाँडै नेपाल आएर अभियानलाई के कसरी अगाडि बढाउने भन्ने विषयमा कोषका सञ्चालकसँग छलफल गर्ने गजुरेलले बताए ।

प्रकाशित : जेष्ठ १, २०७६ ०८:४५
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

सुनकोसीमा पानीको हाहाकार

कान्तिपुर संवाददाता

सन्धुलीमाढी — सिन्धुलीको सुनकोसी गाउँपालिकाका विभिन्न वडामा खानेपानीको हाहाकार भएको छ । पालिकाको सदरमुकाम रहेको वडा नम्बर ५ रामटार, साइटार र वडा नम्बर ३ बोहोरेटारमा खानेपानीको हाहाकार भएको हो । लामो समयको खडेरी पछि पानीको मुहान सुक्दा स्थानीयहरू समस्यामा परेका छन् ।

एक हप्तादेखि धारमा पानी आउन छोडेपछि स्थानीयहरू समस्यामा परेका हुन् । पानी नहुँदा आफूहरूको दैनिकी निकै नै कष्टकर बनेको रामटारका स्थानीय पवन श्रेष्ठले बताए । पानीको मुहान सुकेपछि ३ किलोमिटर टाढा सुनकोसीको किनारमा रहेको कुवाबाट पानी ल्याउन बाध्य छौं,’ उनले भने । धारामा पानी आउन छोडेसँगै आधा घण्टा लगाएर कुवामा पानी लिन जानुपर्ने अवस्था रहेको छ ।

सुनकोसी क्षेत्रमा चैत्र, वैशाख र जेठ ३ महिना खडेरी नै पर्ने गरेको छ । पहिलेदेखि नै कम पानी पर्ने सुनकोसी क्षेत्रमा भूकम्पपछि भने पानी पर्न छाडेको उनले बताए । ‘असारमा पनि फाट्टफुट्ट मात्र पानी पर्छ । अरुतिर ३/४ दिनदेखि झरी परिरहेको समाचार सुनिन्छ, त्यो बेला त हाम्रोतिर पानी नै परिरहेको हुँदैन,’ उनले भने । पानी पर्न छाडेदेखि पानीको मुहान सुक्न थालेको हो ।

स्थानीय नीलकुमार श्रेष्ठ पनि धारामा पानी आउन छोडेपछि धेरै नै समस्या परेको बताउँछन् ।

पेसाले होटल व्यवसायी उनलाई भने व्यवसाय सञ्चालनमा समेत मुस्किल परेको छ । होटल व्यवसायमा अत्यधिक मात्रामा पानी आवश्यक पर्ने भए पनि पानीको मुहान नै सुक्दा निकै नै समस्या परेको उनी सुनाउँछन् ।

प्रकाशित : जेष्ठ १, २०७६ ०८:४१
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT