कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सडक ३ वर्षदेखि अलपत्र

नुवाकोट — कालोपत्रे गर्न निर्माण जिम्मा लिएको ठेकेदारले कामै नगरी पेटी ठेकेदारलाई जिम्मा दिँदा करिब तीन वर्षदेखि सडक अलपत्र परेको छ  । ठूला ठेकेदारले साना पेटी ठेकेदारलाई निर्माण जिम्मा दिई नाफा लिन खोजिएका कारण सडक अलपत्र परेको स्थानीयबासीले बताए  ।

कालोपत्रे गर्ने सडक किस्पाङ गाउँपालिका १ देखि ५ नम्बर वडा जाने १७ किमि छ । किस्पाङ गाउँपालिकाको मानेगाउँ, मनकामना, फिकुरी, काउले, साल्मे र भाल्चे सडक ०७३ साल असार २ मा निर्माण गर्ने सम्झौता भएको थियो ।

‘चाँडो पिच गर्न भनेर सडक डिभिजन धेरै धाइयो,’ किस्पाङ गाउँपालिका १ भाल्चेका पशुपति घलेले भने, ‘ठेकेदारले कामै गरेन ।’ सलाखुखोलादेखि मानेगाउँ, मनकामनाको केही स्थानमा सडकको डिस्को र मोड काट्ने काम भएको छ । वर्षाको पानीले सलाखुखोला, मनकामना भगाले, मानेगाउँ, कार्कीगाउँमा बनाएको नाली भत्किसकेको छ । सडकभरि खाल्डैखाल्डा छन् ।


‘ठेकेदारलाई सडक डिभिजनले कामै लगाउन सकेन,’ विबराम तामाङले भने, ‘ठेकेदारले समयमा काम गरेको भए । सर्र गाडी गुड्थ्यो ।’ समयमा सडक पिच नभएकोमा स्थानीयबासीले गाउँपालिकालाईसमेत दोष दिने गरेका छन् । हिउँदमा गाडी चले पनि वर्षात्मा कच्ची सडक बिग्रने र बिरामीको उपचार गराउन लैजानसमेत समस्या हुने गरेको स्थानीयबासीले बताए ।


साढे दुई वर्षमा १७ किमि सडक स्तरोन्नति गर्न ठेक्का सम्झौता गरी चन्द्रसूर्य, आशिष, लोहनी जेभीले भ्याटसहित ३२ करोड रुपैयाँको ठेक्का ३८ प्रतिशत घटेर १७ करोड २३ लाख रुपैयाँमा निर्माण ठेक्का सकारेका थिए । मुख्य ठेकेदार चन्द्रसूर्य निर्माण सेवाले पेटीठेकेदार उत्तरबहादुर लामालाई दिएको एक स्थानीयले बताए । उनले उक्त साइडको काम छाडिसकेका छन् । सडक डिभिजन निमित्त प्रमुख रामप्रसाद पौडेलले बजेट शीर्षकको काम रोकिएकाले बताए ।


सडक डिभिजन कार्यालयले उक्त सडक निर्माण कार्य गरेको भनेर ५ करोड ८२ लाख रुपैयाँ भुक्तानी दिइसकेको छ । कामको प्रगति साढे ४५ प्रतिशत देखाइएको छ । स्थानीयबासीले भने २० प्रतिशत पनि काम नभएको आरोप छ । यही ठेकेदार कम्पनीले तीनपिप्ले ओखरपौवा १७ किमि सडकसमेत काम नगरेर अलपत्र पारेको छ ।

प्रकाशित : जेष्ठ २, २०७६ ०८:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?