कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

डीपीआरमै २ वर्ष

सुजता लामा

सिन्धुलीमाढी — सिन्धुलीको कमलामाई नगरपालिकाको २ वर्ष विस्तृत योजना प्रतिवेदन (डीपीआर) निर्माणमा बितेको छ । नगरपालिकाका निर्वाचित जनप्रतिनिधिको पद बहालीपछि २ वर्षमा गरेका कार्यहरू मंगलबार सार्वजनिक गर्दा डीपीआर बनाउनै समय लागेको जानकारी भएको हो ।

जिल्लाको धार्मिक तथा पर्यटकीय स्थल कमलामाई मन्दिरमा पिकनिक स्पट निर्माणका लागि प्रतिवेदन तयार भइरहेको नगर प्रमुख खड्गबहादुर खत्रीले बताए । अन्तर स्थानीय तह तथा अन्तर जिल्ला जोड्ने महत्त्वपूर्ण ५ वटा सडकको प्रतिवेदन तयारी अन्तिम चरणमा रहेको उल्लेख छ । नगरसभा हलको प्रतिवेदन निर्माण पनि अन्तिम चरणमा रहेको नगर प्रमुख खत्रीले बताए ।


यस्तै, कमलामाई नदी नियन्त्रणको प्रतिवेदन तयारीका लागि सर्भेको कार्य सुरु भएको छ । चदाहा दोभान पार्क निर्माण प्रतिवेदन तयार भएको छ । नगर क्षेत्रभित्र विद्युतीकरणका लागि प्रतिवेदन पनि तयारी अवस्थामा छ । जनमैत्री खानेपानीको प्रतिवेदन तयार भएको उनले बताए । यसरी हेर्दा जनप्रतिनिधि आफ्नो २ वर्ष डीपीआर तयार गर्नमा नै बितेको छ ।


जनप्रतिनिधि निर्वाचित भएको २ वर्षमा त्यस्तो कुनै पृथक् काम भएको देखिँदैन । जनप्रतिनिधि आउनुपूर्व नै भइरहेका काम बाटो खन्ने, विद्युत् विस्तार गर्ने, विभिन्न तालिम, कार्यक्रम र गोष्ठी सञ्चालन गर्ने कामलाई अहिलेको जनप्रतिनिधिले पनि निरन्तरता दिएका छन् ।


तत्कालीन जिल्ला विकास समितिले लक्षित वर्गका लागि बजेट छुट्याएर सिलाइ कटाइ, कम्प्युटर, ढाका बुनाइजस्ता सिप विकास तालिम र क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालन गर्दै आएको थियो । जनप्रतिनिधि आएको पहिलो वर्ष भने लक्षित वर्गका लागि बजेट विनियोजन भएन, जसले गर्दा जनप्रतिनिधिको विरोधसमेत भएको थियो ।


चालु आर्थिक वर्षमा भने लक्षित वर्गका लागि बजेट विनियोजन गरेर विभिन्न सिपमूलक तालिम दिएको छ । कृषकलाई अनुदानमा बीजविजन वितरण, विद्यालय उमेर समूहका सबैलाई विद्यालयमा ल्याउन प्रोत्साह स्वरूप खेलकुद तथा शैक्षिक सामग्री वितरण, आँखा शिविर यस अघिसञ्चालन थिएन । जनप्रतिनिधि आएसकेपछि तिनै कामलाई निरन्तरता दिँदै आएका छन् ।


प्रकाशित : जेष्ठ ८, २०७६ ०८:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?