७२ घण्टामै स्मार्ट लाइसेन्स

कान्तिपुर संवाददाता

मकवानपुर — प्रदेश ३ अन्तर्गतको यातायात व्यवस्था सेवा कार्यालय हेटौंडाले बुधबारबाट औपचारिक रूपमा सवारी चालक अनुमतिपत्र नवीकरण र वितरण सुरु गरेको छ ।

प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले हेटौंडा–१, चौकीटोलका शिवकुमार थापालाई लाइसेन्स नवीकरण गरेको ७२ घण्टामै स्मार्ट लाइसेन्स प्रदान गरे । ‘वीरगन्जमा एक वर्ष लाग्छ भनेको हेटौंडामा तीन दिनमा भयो,’ स्मार्टलाइसेन्स लिँदै थापाले भने ।

यातायात व्यवस्था विभागको चालक अनुमतिपत्र दर्ता तथा नवीकरण प्रणालीमा यस कार्यालयको प्रणाली जोडिएपछि सवारी चालक अनुमतिपत्र दर्ता तथा नवीकरण हेटौंडाबाट सुरु भएको हो । कार्यालय माघ ९ गते स्थापना गरिएको थियो । हालसम्म २६ जनालाई स्मार्ट लाइसेन्स वितरण गरिसकिएको थापाले बताए ।

यसअघि सवारी चालक अनुमति पत्रको दर्ता तथा नवीकरणका लागि वीरगन्ज र काठमाडौं जानुपर्ने बाध्यता थियो । ‘अब हेटौंडाबाटै सवारी चालक अनुमतिपत्र दर्ता तथा नवीकरण सेवा सुरु भएसँगै वीरगन्ज तथा काठमाडौं पुगेर यहाँका सेवाग्राहीले पाउने सास्तीबाट मुक्त हुनेछन् ।’ अब नयाँ सवारीचालक अनुमतिपत्र जारी गर्ने तयारी पनि भएको छ । उनका अनुसार आगामी आर्थिक वर्षबाट हेटौंडामै लाइसेन्स प्रिन्ट गर्ने मेसिन खरिद प्रक्रिया बढेको पनि बताए ।

‘नवीकरणलाई नियमित गरेपछि सवारी चालक अनुमतिपत्रका नयाँ जारी गर्नका लागि प्रक्रिया सुरु भएको छ,’ उनले भने, ‘हेटौंडाको विभिन्न स्थानमा निजी क्षेत्रबाट निर्माण भएको ट्रायल सेन्टरहरूको निरीक्षण हामीले गरिरहेका छौं । ट्रायल सेन्टरलाई भाडामा लिएर हामी लाइसेन्स जारी गर्ने कामको सुरुवात गर्नेछौं ।’

उनले यसै आर्थिक वर्षभित्र यस प्रक्रियाको सुरुवात हुने दाबी गरे । लाइसेन्स प्रदान गर्दै मुख्यमन्त्री तथा भौतिक पूर्वाधार विकास मन्त्रीसमेत रहेका पौडेलले यातायात क्षेत्रमा रहेको विकृति हटाउन आफूले काम गरिरहेको बताए ।

प्रकाशित : जेष्ठ ९, २०७६ ०७:३९
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

विद्यालय सहयोगीले पढाउँदै

सुजता लामा

सिन्धुलीमाढी — सिन्धुलीको गोलञ्जोर गाउँपालिका ४ स्थित कुभिन्डे प्रावि, वितिजोरमा शिक्षक अभावले विद्यालय सहयोगीले पढाउने गरेका छन् । उक्त विद्यालयमा एक जना मात्र शिक्षक भएकाले विद्यालय सहयोगीले पनि पढाउने गरेका हुन् ।

विद्यालयमा एक राहत शिक्षक जुनु श्रेष्ठ मात्रै छिन् । विद्यालयका प्रअ र एक अस्थायी शिक्षक शिक्षक सेवा आयोगको परीक्षामा असफल भएपछि विद्यालयमा शिक्षकको अभाव भएको हो ।

बालविकास केन्द्रकी सहयोगी कार्यकर्ता तृष्णा कुँवर छिन् । उनको ड्युटी १ बजेसम्म मात्रै छ । उनी १ बजेपछि घर जान्छिन् । विद्यालय सहयोगी यादव ठकुरीले नियमित ढंगले पढाउँदै आएका छन् । ‘विद्यालय सहयोगीले पनि पढाउने गरेका छन्,’ शिक्षक श्रेष्ठ भन्छिन्, ‘विद्यालयमा शिक्षकको अभाव भएपछि विद्यालय व्यवस्थापन समितिले नै विद्यालय सहयोगी यादवलाई पढाउन दिने निर्णय गरेको हो ।’

विद्यालय सहयोगी यादवले ८ कक्षा पढेका छन् । विद्यालयको पठनपाठन नै ठप्प हुने भएपछि विद्यालय सहयोगीलाई विद्यालयको आन्तरिक स्रोतबाट ३ हजार रुपैयाँ थप दिएर पढाउन लगाएको शिक्षक श्रेष्ठले बताइन् । शिक्षक आफूमात्र रहेकाले १,२ र ३ कक्षाका विद्यार्थीलाई एकै ठाउँमा राखेर पढाउने गरेको उनले बताइन् । ४ र ५ कक्षाका विद्यार्थीलाई पनि एउटै कक्षामा राखेर पढाउने गरेकी छन् । ‘कहिलेकाहीँ त ५/७ दिन नै शिक्षकका लागि तालिम हुन्छ । कहिले कार्यक्रम पर्छ । जानु परिहाल्यो,’ शिक्षक श्रेष्ठले भनिन्, ‘त्यति बेला त विद्यालय सहयोगीकै भरमा विद्यालय चल्ने हो ।’

आफू र सहयोगी बिरामी तथा घरायसी काम परेको बेला सबै विद्यार्थीलाई एकै ठाउँमा राखेर पढाउनुपर्ने बाध्यता भएको उनले सुनाइन् । ‘कहिले कार्यालय सहयोगी बिरामी पर्छन् त कहिले घरायसी काम परेर आउँदैनन् । त्यस्तो बेला त सबैलाई एकै ठाउँमा राखेर पढाउनुपर्छ,’ उनले भनिन्, ‘एकै ठाउँमा राखेर पढाउँदा समस्या हुन्छ तर के गर्नु अरू शिक्षक छैनन् ।’

विद्यार्थीको पनि उस्तै गुनासो छ । सबै कक्षाका विद्यार्थीलाई एकै ठाउँमा राखेर पढाउँदा आफूहरूलाई डिस्टब हुने उनीहरू बताउँछन् । कक्षा ५ मा अध्यनरत मेख तामाङ भन्छन्, ‘सबैलाई एकै ठाउँमा राख्दा धेरै नै समस्या भएको छ । एक, दुई कक्षामा पढ्ने भाइ बहिनीहरू भने चल्ने, झगडा गर्ने, एकले अर्कोलाई पिट्यो, जिस्कायो भनेर रुने, कराउने गर्छन् । हाम्रो पढाइमा डिस्टब हुन्छ ।’

प्रावि वितिजोर कुपिण्डेमा आर्थिक अवस्था कमजोर भएका अभिभावकका छोराछोरी अध्यनरत छन् । ‘आर्थिक अवस्था राम्रो भएकाहरूले सदरमुकाम सिन्धुलीमाढीमा राखेर छोराछोरीलाई पढाउने गरेका छन् । सदरमुकाममा राखेर पढाउन नसक्नेले मात्र यस विद्यालयमा पढाएका छन् । कुपिण्डेमाप्रावि वितिजोर मात्रै छ ।

आफ्ना छोराछोरीलाई अन्त पढ्न पढाउन पनि टाढा पर्छ । त्यहाँबाट झन्डै डेढ घण्टा टाढा पञ्चकन्या निमावि छ । प्रावि वितिजोर कुभिन्डेमा ४२ जना विद्यार्थी छन् ।

गाउँपालिकाले सामुदायिक विद्यालयमा लागू गरेको दिवा खाजा कार्यक्रमपछि विद्यार्थी नियमित विद्यालय आउने गरेका छन् । शिक्षकको अभावले गर्दा गुणस्तरीय पठनपाठन हुन नसकेको शिक्षक श्रेष्ठ बताउँछिन् । ‘शिक्षकको पद रिक्त भएपछि विद्यालय व्यवस्थापन समितिलाई आफूले पटकपटक भनेको तर सुनुवाइ भएको छैन,’ उनले भनिन् ।

प्रकाशित : जेष्ठ ९, २०७६ ०७:३८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT