कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

खर्च तेब्बर, बनेन भवन

सुजता लामा

सिन्धुलीमाढी — सिन्धुलीको तिनपाटन गााउँपालिकाले भवन निर्माणमा स्टमेटभन्दा झन्डै तेब्बर खर्च गरेको छ । भवन भने अझै बन्न सकेको छैन । जग्गा सम्याउन मात्रै स्टमेटभन्दा तेब्बर खर्च भएको हो । 

४० लाख रुपैयाँको स्टमेट बनाएर काम सुरु गरेको गाउँपालिकाले १ करोड रुपैयाँ खर्च गरिसकेको छ । जग्गा सम्याउनै १ करोड रुपैयाँ खर्च भएको भन्दै अहिले चौतर्फी आलोचना भएको छ । भवन निर्माणका लागि भन्दै गाउँपालिकाकै वडा ११ स्थित ताावाघारी ठुलचौरमा एक करोड रुपैयाँ लगाएर जग्गा सम्याएको हो ।


आर्थिक वर्ष ०७४/७५ मा गाउँसभाबाट विनियोजित ४० लाख रुपैयाँबाट काम सुरु गरेको गाउँपालिकाका योजना शाखा प्रमुख झिल्लीबहादुर खड्काले बताए । उनका अनुसार उक्त रकम अपुग भएको भन्दै फेरि सोही शीर्षकमा ०७५/७६ मा ४० लाख रुपैयाँ विनियोजन गरिएको हो । ८० लाख रुपैयाँले पनि जग्गा सम्याउनै नपुगेपछि फेरि थप रकम छुट्याएको खड्काले बताए ।


इन्जिनियरकै सल्लाहमा काम सुरु गरेको भए पनि काम गर्दै जाँदा अनुमानित रकमले नपुगेको उनले बताए ।


अहिलेसम्म उक्त खर्चले जग्गा सम्याउने र पर्खाल लगाउने कामबाहेक अरू केही पनि काम हुन सकेको छैन । उल्टै बर्खामा खनेको माटो बगाएर स्थानीयको खेतीयोग्य जमिन पुरिएको थियो । जसको क्षतिपूर्ति स्वरूप गाउँपालिकाले ४० हजार रुपैयाँ स्थानीयलाई तिर्‍यो । गाउँपालिका भने अर्को वर्षबाट भवन निर्माण थालिने योजनामा छ ।


कार्यालयको भवन नै निर्माण गर्न सकिने पैसा जग्गा सम्याउनमै सकेको भन्दै स्थानीयले असन्तुष्टि जनाएका छन् । वडा १ का छत्रबहादुर दाहालले गाउँपालिकाले बिनाअध्ययन हचुवाका भरमा पैसा खर्च गरेको आरोप लगाए । भिरालो जग्गामा डोजर लगाउँदा माथिबाट माटो झरेर स्थानीयको अन्नबालीमा समेत क्षति भएको उनले बताए ।


‘गाउँपालिकाले पैसाको कुनै प्रवाह नगरी यो निर्णय लिँदा समस्या भएको हो । १ करोडले त भवन नै सम्पन्न भइसक्थ्यो,’ उनले भने, ‘त्यो पैसाले पालिकाको विकासमा खर्च गर्नु आवश्यक थियो । स्थानीय सरकार आवश्यकभन्दा बढी खर्च गरेर भवन निर्माणमा लागेको देखिन्छ ।’


गाउँपालिकाले सामुदायिक वनमा भवन बनाउन थालेको छ । वडा ११ का अर्का स्थानीय मायानाथ पहाडी भने सामुदायिक वन विनाश गरेर भवन बनाउने गाउँपालिकाको निर्णय गलत भएको बताउँछन् ।


‘सुन्दर फाँटमा मैले र मेरा अरू छिमेकी मिलेर १२ कठ्ठा जग्गा दिने भनेका थियौँ । तर गाउँपालिका अध्यक्ष र उपाध्यक्षले वास्तै गर्नुभएन,’ उनले भने । ‘अहिलेकै स्थानमा भवन निर्माण गर्दा कस्तो हुने हो,’ उनले भने, ‘त्यो ठाउँमा त पुरुवा माटो छ । फेरि वर्षात्मा माटो बगाउने देखिन्छ ।’


यता गाउँपालिका अध्यक्ष कर्णबहादुर थापा मगर भने गाउँ कार्यपालिकाको बैठकले नै सामुदायिक वनमा भवन बनाउने निर्णय गरेको बताउँछन् । गाउँ कार्यपालिकाको बैठकले नै योजना पारित गरेर काम सुरु गरेको उनले बताए । गाउँपालिकाको भवन नहुँदा कार्य सम्पादनमा समस्या आएकाले आफ्नै भवन बनाउन लागि परेको उनले भने ।


स्थानीयले जग्गा दिन्छु भने पनि त्यो जग्गा पर्याप्त नभएकाले सरकारी जग्गामा भवन निर्माण गर्न लागिएको हो ।

प्रकाशित : जेष्ठ १८, २०७६ ०७:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?