कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मान्छे आक्रमण गर्ने बाघ नियन्त्रणमा

प्रमिता ढकाल

भरतपुर — मान्छेलाई सख्त घाइते बनाएको बाघ चितवन राष्ट्रिय निकुञ्जले शनिबार अपराह्न नियन्त्रणमा लिएको छ । शुक्रबार साँझ कार्यक्षेत्रमा रहेका वटुकदल गणका पिउठ फैजाराज विकलाई आक्रमण गर्ने बाघलाई नियन्त्रणमा लिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले जानकारी दिए । घाइते विकलाई उपचारका लागि काठमाडौं पठाइएको छ ।

बाघले विकलाई निकुञ्जको मुख्यालयबाट १ सय ५० मिटर टाढा आक्रमण गरेको थियो । बाघ नियन्त्रणमा लिन ४ जना पशु चिकित्सकसहित ३० देखि ४० जना खटिएका थिए । ३ वटा हात्तीमा प्राविधिकसहित गएको टोलीले शनिबार करिब साढे ४ बजेको समयमा बाघलाई नियन्त्रणमा लिन सफल भएको निकुञ्जका सूचना अधिकारी गोपाल घिमिरेले जानकारी दिए । डाट गनमार्फत बेहोस बनाई बाघलाई नियन्त्रणमा लिइएको हो ।


नियन्त्रणमा लिइएको बाघलाई घडीयाल प्रजनन् केन्द्रको आडमा रहेको काठको खोरमा राखिएको छ । बाघको गतिविधि हेर्न खोरमा सीसीटीभी जडान गरिएको छ । बाघको गतिविधि हेरी थप उपचार आवश्यक भए/नभएको अध्ययन गरिने बताइएको छ । विज्ञका अनुसार ठूला सिकार गर्न नसके बाघले मान्छे र घरपालुवा जनावरलाई आक्रमण गर्छ ।


यसैबीच बाघलाई नियन्त्रण गर्ने क्रममा हात्तीबाट लडेर एक पछुवा घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बाराको कोल्वी नगरपालिका ११ घर भई कसरामा कार्यरत देवनारायण तनहर घाइते भएका छन् । तनहर रुखमा ठोक्किएर घाइते भएका हुन् । उनको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।


पछिल्लो गणनाअनुसार चितवन राष्ट्रिय निकुञ्जमा ९३ वटा बाघ छन् ।


प्रकाशित : जेष्ठ १८, २०७६ २०:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?