कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

६० परिवारलाई गोबर ग्यास 

प्रमिता ढकाल

भरतपुर — रामपुरस्थित राष्ट्रिय गाई अनुसन्धान कार्यक्रमले कार्यालयको आवास क्षेत्रमा पाइपलाइनमार्फत ग्याँस वितरण गर्ने तयारी गरेको छ । कार्यक्रम र राष्ट्रिय मकैबाली अनुसन्धान कार्यत्रमको आवास क्षेत्रमा ४ सय मिटर पाइप बिच्छाएर ग्यास वितरण गर्ने तयारी गरिएको हो । यसै साताबाट ४ सय मिटर पाइप बिच्छाउने काम सुरु हुँदै छ । 

राष्ट्रिय गाई अनुसन्धान कार्यक्रमले यसका लागि १ करोड ३० लाखको लागतमा बायोग्यास उत्पादन परियोजना सुरु गर्न लागेको हो । कृषि अनुसन्धान परिषद्को ६५ लाख र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको ६५ लाख गरी उक्त लागतमा बायोग्यास उत्पादनको तयारी गरिएको हो ।


रामपुरमा पालिएका गाईको गोबरको उपयोग गरी ऊर्जा उत्पादनका लागि प्लान्ट निर्माण गर्न लागिएको छ । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको प्राविधिक सहयोगमा २ सय घन मिटर क्षमताको बायोग्यास प्लान्ट निर्माण गर्न लागिएको राष्ट्र्रिय गाई अनुसन्धान कार्यक्रम रामपुरका प्रमुख माधवप्रसाद आचार्यले बताए । ‘मोडेलका रूपमा निर्माण गर्न लागिएको प्लान्टबाट ६० घरपरिवारलाई पुग्ने ऊर्जा उत्पादन हुन्छ,’ उनले भने ।

गाई र मकैबाली अनुसन्धान कार्यक्रमको आवास क्षेत्रमा करिब ६० परिवार बस्छन् । उनीहरूले एक महिनामा कम्तीमा पनि ३० देखि ४० सिन्लिडर एलपीजी ग्यास खपत गर्दै आएका छन् । यसरी हेर्दा आवास क्षेत्रमा मात्रै मासिक ५८ हजार बराबरको एलपीजी ग्यास खपत हुँदै आएको छ ।


गाई अनुसन्धान कार्यक्रममा उत्पादन गर्न लागिएको उर्जा आवास क्षेत्रमा मात्रै प्रयोगमा ल्याउन सके एलपीजी ग्यासमाथिको निर्भरता कम गर्दै लैजान सकिने आचार्यले बताए । ‘यहाँ उत्पादित बायोग्यासको खपतका गर्न आवास क्षेत्रलाई प्राथमिकतामा राखिएको छ, उनले भने ‘न्यूनतम शुल्क लिएर ऊर्जा वितरण गर्ने सोचमा छौं ।’ बायोग्यास प्लान्टबाट निकालिने ऊर्जा कार्यक्रम क्षेत्रका सबै घरपरिवारमा पाइपलाइनबाट वितरण गरिने छ ।


प्रतिपरिवार मासिक ५ सय रुपैयाँसम्म शुल्क लिने गरी वितरणको योजना बनाइएको प्रमुख आचार्यले बताए । ‘फार्ममा भएका गाईको आहारा तथा अन्य व्यवस्थापनका लागि पनि आम्दानीको थप स्रोत हुनेछ,’ उनले भने, ‘अनुसन्धान कार्यक्रमअन्तर्गत हाल रामपुरमा १ सय ६० वटा गाई छन् । गाईको संख्या बढाएर ३ सय पुर्‍याउने लक्ष्य छ ।


गाईको गोबरमललाई दोहोरो प्रयोगका लागि बायोग्यास प्लान्ट उपयोगी मानिन्छ । प्लान्टले गोबरमा हुने मिथेन ग्यासलाई हटाए रिफाइन्ड लेदो मलिलो गोबर मात्र निकाल्छ । यसरी निकालिएको लेदो बालीमा प्रयोग गर्न उत्तम हुने उनले बताए । ‘हामीका अर्गानिक खेती भनेको गोबर मलबाट मात्र हुन्छ भन्ने मान्यता छ,’ आचार्यले भने, ‘तर, गोबर मलमा हुने मिथेन ग्यासले बालीलाई राम्रो गर्दैन ।’


रामपुरमा मोडेलका रूपमा निर्माण गर्न लागिएको बायोग्यास प्लान्टबाट निस्किने ग्यास र मल अनुसन्धान कार्यक्रमका बालीमा प्रयोग गरेर कृषकहरूलाई उदाहरणका रूपमा प्रस्तुत गर्ने योजना छ । किसानलाई बायोग्यास प्रयोगमा उत्प्रेरणा दिन कार्यक्रम प्रभावकारी हुने अपेक्षा लिइएको छ ।


परीक्षण सफल भएको खण्डमा बजार क्षेत्रमा छाडा पशु चौपाया नियन्त्रण गर्नसमेत यो परियोजना विस्तार गर्न सकिने बताएको छ । ‘अहिले हामी परीक्षण गर्दै छौं । ऊर्जा उत्पादन र वितरण सहज भएको खण्डमा स्थानीय तहसँग छलफल गरेर यसबारे पहल गर्ने सोचमा छौं,’ उनले भने ।

प्रकाशित : जेष्ठ १९, २०७६ ०७:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?