कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

६० वडाका आफ्नै भवन

थाहा नगरपालिका र राक्सिराङका सबै वडाको कार्यालय, ४२ वटा वडाको बाँकी
प्रताप विष्ट

हेटौंडा — मकवानपुर जिल्लाका १० स्थानीय तहमध्ये २ वटा स्थानीय तह मात्रै आफ्नै भवनमा वडा कार्यालय सञ्चालन गर्ने अवस्थामा पुगेका छन्  । जिल्लाको उत्तरी क्षेत्रमा पर्ने थाहा नगरपालिकाले करिब १ करोड ६० लाखको लागतमा चालू आवमा ७ वडा कार्यालयका भवन निर्माण गरेको छ  ।

६० वडाका आफ्नै भवन

१६ लाखमा निर्माण गरेको ५ नम्बर वडा कार्यालयको भवन सम्पन्न भइसकेको छ । उक्त भवनमा वडाको कार्यालय सञ्चालनमा आइसकेको मेयर लवशेर विष्टले बताए । १५ लाखमा निर्माण गरिएको १० नम्बर वडाको भवन निर्माण सम्पन्न भएर बुधबारदेखि कार्यालयको काम सुरु हुने भएको छ । थाहा नपाले चालू आवमा १, ४, ५, ७, ८, १० र १२ नम्बर वडा कार्यालयको भवन निर्माण गरेको छ । सबै भवनको निर्माण कार्य असार १५ सम्म सम्पन्न हुने नपाले जनाएको छ ।

वडा कार्यालयको भवन नहुँदा ७ वटा वडा कार्यालय भाडामा घर लिएर सञ्चालनमा थिए ।
यसैगरी, जिल्लाको दुर्गम राक्सिराङ गाउँपालिकाको ९ वटै वडा कार्यालयको आफ्नो भवन छ । चालू आवमा गापाले ५ वटा वडा कार्यालयको भवन निर्माण गरेको गापा अध्यक्ष राजकुमार मल्लले बताए ।

‘आफ्नै भवन नहुँदा गाउँमा घर भाडामा लिएर वडा कार्यालय सञ्चालन भइरहेका थिए,’ उनले भने । यसैगरी मनहरी गाउँपालिकाको ९ वटा वडामध्ये ७ वटा वडा कार्यालय भाडामा घर लिएर सञ्चालन भइरहेका छन् ।

‘आगामी वर्षसम्म सबै वडा कार्यालयको आफ्नै भवन निर्माण गरिसक्छौँ,’ गापा अध्यक्ष एकराज उप्रेतीले भने । जिल्लाकै दुर्गम कैलाश गापाका १० वडामध्ये ८ वटा वडाको आफ्नो कार्यालय भवन थिएन । तीनवटा कार्यालयको भवन निर्माणाधीन अवस्थामा छन् । ‘चालू आर्थिक वर्षको अन्त्यसम्ममा तीनवटा वडाको भवन निर्माण भइसक्छन्,’ गापा अध्यक्ष टंकबहादुर मोक्तानले भने, ‘आगामी वर्षसम्म सबैको आफ्नै भवन निर्माण भइसक्छ ।’

गाउँपालिकाहरूमध्ये जनसंख्या र भूगोलका हिसाबले ठूलो बकैया गाउँपालिकाका १२ वटा वडामध्ये ३ वटा वडा कार्यालयको भवन छ । ६ वटाको भवन निर्माणाधीन छन् । ३ वडा कार्यालयको भवन आगामी आर्थिक वर्षमा वनाउने योजना रहेको गापा अध्यक्ष दामोदर खनालले बताए ।

८ वटा वडामा विभाजित मकवानपुरगढी गाउँपालिकामा ५ वडा कार्यालय घर भाडामा लिएर चलाइएको गापा अध्यक्ष विदुर हुमागाईंले बताए । उनले भने, ‘आगामी आवसम्म सबै वडाको आफ्नै भवन बनाउने तयारीमा छौं ।’ गाउँपालिकाहरूका मात्र होइन हेटौंडा उपमहानगरपालिकाका १९ वटामध्ये ६ वटाको कार्यालय घर भाडामा लिएर चलेको छ । २, ५, १२, १४, १६ र १९ नम्बर वडा कार्यालयका आफ्नै भवन छैनन् । उपमहानगरपालिका वडा कार्यालयका लागि भवन बनाउने तयारीमा जुटेको मेयर हरिबहादुर महतले बताए ।

जिल्लाका १० वटा स्थानीय तहमा १ सय २ वटा वडा छन् । यिनमा ६० वटा वडाहरूको आफ्नै कार्यालय भवन छन् । ४२ वटाको छैनन् । मकवानपुरका १० वटा स्थानीय तहमध्ये चारवटा गाउँपालिकाका कार्यालय नै घर भाडामा लिएर चलेका छन् । वाग्मती गाउँपालिकाले आफ्नै भवन बनाएर कार्यालय सारेको छ । मनहरी, राक्सिराङ, कैलाश र भीमफेदी गाउँपालिकाले घर भाडा लिएर कार्यालय सञ्चालन गरिरहेका छन् ।

प्रकाशित : जेष्ठ २९, २०७६ ०९:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?