कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

क्यान्सर अस्पतालको आफ्नै फार्मेसी

चितवन — भरतपुरको बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले आफ्नै औषधि पसल सञ्चालन गरेको छ । क्यान्सर उपचारमा निकै महँगो मूल्यका औषधि प्रयोग हुन्छ । बाहिरका पसलबाट औषधि किन्दै आएका सेवाग्राहीलाई सुविधा दिन सरकारी नीतिअनुसार अस्पताल आफैंले फार्मेसी चलाउन सुरु गरेको हो ।

अस्पतालमा हुने उपचारमा आवश्यकमध्येका सबै किसिमका औषधि भने फार्मेसीमा आइपुगेको छैन ।


उक्त अस्पताल क्यान्सर रोगको उपचार हुने देशको प्रमुख स्वास्थ्य संस्था हो । देशका विभिन्न ठाउँसँगै भारतबाट पनि बिरामी यहाँ उपचारार्थ आउँछन् । रुपन्देहीको सिद्धार्थनगर–१ बेल्हिया भैरहवाकी कमला गैरे श्रीमान् उमाकान्तको उपचारका लागि यो अस्पताल आउन थालेको दुई महिना भयो । ‘अस्पतालमा पहिलेभन्दा अरू कुरा खासै नौलो थिएन । अहिले अस्पताल आफैंले औषधि पसल राखेछ,’ उनले भनिन् ।


अस्पतालभित्रकै फार्मेसीमा शनिबार उनले ६ प्रकारका औषधि किनिन् । ‘मलाई किन्न त ८ प्रकारको औषधि थियो । २ प्रकारको पाइएन,’ उनले भनिन्, ‘यहाँ औषधिको मूल्य निकै सस्तो लाग्यो । बाहिर गएर किन्दा पाँच सय रुपैयाँ तिर्नुपर्ने दबाईलाई यहाँ ढाइ/तीन सयमै पाइँदो रहेछ ।’ सबै औषधि अस्पतालकै फार्मेसीमा पाए बिरामी र तिनका आफन्तलाई सुविधा हुने उनले बताइन् । ‘चाहिनेमध्ये ८० प्रतिशत औषधि फार्मेसीमा उपलब्ध छ । केही औषधि हामी तुरुन्तै किन्दै छौं, छिट्टै सबै पाइन्छ,’ फार्मेसी इञ्चार्ज सुषमा आचार्यले भनिन् । केमो थेरापी उपचारमा रहेका बिरामीको औषधि अत्यधिक महँगो हुन्छ ।


अस्पतालको फार्मेसीमा २६ हजार रुपैयाँसम्म पर्ने केमोथेरापीको औषधि छ । यो नै सर्वाधिक महँगो औषधि हो । ‘हामीले २६ हजार रुपैयाँमा बेच्ने औषधि बाहिर ३४ हजार रुपैयाँसम्म पर्छ । यहाँ फार्मेसी हुँदा बिरामीलाई धेरै नै राहत हुने अवस्था छ,’ उनले भनिन् ।


गत बुधबारबाट फार्मेसी सञ्चालन सुरु भएपछि दैनिक तीन लाख रुपैयाँको हाराहारीमा औषधि बिक्री भएको छ । तुलनात्मक रूपमा आइतबार, सोमबार र मंगलबार गरी साताका तीन दिन धेरै औषधि बिक्री हुन्छ । ‘सरकारी अस्पतालले आफ्नै फार्मेसी चलाउनुपर्ने ०७२ सालमा बनेको नियम हो । हामीले अहिलेबाट सुरु गर्दै छौं,’ अस्पतालका कार्यकारी निर्देशक डा.विजयचन्द्र आचार्यले भने, ‘विभिन्न प्रक्रियाहरू पूरा गर्दा ढिला हुन गयो ।’


क्यान्सर अस्पताल बाहिर थुप्रै औषधि पसल छन् । अस्पतालभित्रै साझाले फार्मेसी सञ्चालन गर्दै आएको थियो । अस्पताल आफैंले फार्मेसी सञ्चालन गर्न २ जना अधिकृतसहित १० जना कर्मचारी राखेको छ ।


अस्पतालभित्र अब अरू कुनै निजी फार्मेसी हुने छैनन् । बहिरंग र अन्तरंग विभागका लागि अस्पतालले सम्बन्धित विभागकै छेउमा दुइटा फार्मेसी राखेको छ । ‘हामीले टेन्डरमार्फत घटाघटमा औषधि खरिद गर्दा सस्तोमा पाएका हौं । सामान्य सञ्चालन खर्च जुटाउनुबाहेक हामीले नाफा खानु छैन,’ डा. आचार्यले भने, ‘त्यसैले उपभोक्तालाई जतिसक्दो सस्तो मूल्यमा औषधि बेचेर राहत दिने छौं ।’ अस्पतालमा बहिरंग विभागमा वर्षमा सवा लाखको हाराहारीमा बिरामी आउँछन् । भर्ना नै गरेर उपचार गराउने बिरामीहरू वर्षमा सात हजार जनाको हाराहारी हुने गरेका छन् ।


त्यसैले अस्पतालमा ठूलो मात्रामा औषधि खपत हुने गरेको छ । विपन्न असहायका लागि अस्पातलबाट प्रतिव्यक्ति एक लाख रुपैयाँ बराबरको औषधि निःशुल्क उपलब्ध हुने व्यवस्था थियो ।


‘जसले एक लाख रुपैयाँ बराबरको निःशुल्क औषधि पाउँथ्यो त्यसले बाहिरबाट औषधि किनेर स्वास्थ्य मन्त्रालयबाट भुक्तानी दिने परिपाटी थियो,’ उनले भने, ‘यसरी वर्षमा २० करोड रुपैयाँ बराबरको औषधि खर्च हुन्थ्यो । त्यसैले औषधि खपत निकै नै हुन्छ भन्ने यसैले देखाउँछ ।’ अब २० करोड रुपैयाँमा बिरामीले धेरै नै औषधि पाउने अवस्था आएको उनले बताए ।

प्रकाशित : असार १, २०७६ ०७:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?