कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘योग नेपालबाट फैलियो’

चितवन — उपराष्ट्रपति नन्दबहादुर पुनले योग नेपालबाट विश्वभर फैलिएको बताएका छन् । उनले योग ऋषि पतञ्जली पनि नेपालमै जन्मेको तथ्य पत्ता लागेको जानकारी गराए । शुक्रबार भरतपुरमा आयोजित योग दिवसमा बोल्दै उपराष्ट्रपति पुनले बताएका हुन् । 

पाँचौँ अन्तर्राष्ट्रिय योग दिवसका सन्दर्भमा पतञ्जली योग समिति चितवन शाखाले भरतपुरको प्रहरी तालिम केन्द्रमा योग शिविर आयोजना गरेको थियो । उपराष्ट्रपति पुनले नेपालको हिमालय क्षेत्रबाट फैलिएको योग र शिक्षालाई आज संसारभरका मानिसले अंगिकार गरेको बताए । ‘नेपालबाट फैलिएर अन्तर्राष्ट्रियजगत्ले स्वीकार गरेको र संयुक्त राष्ट्रसंघको ६९ औं महासभाले जुन २१ लाई विश्व योग दिवसको रूपमा मनाउने निर्णय गरेको अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा विश्वभरका योग अनुरागीहरूमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु,’ उनले भने । योगले मानिसलाई रोग लाग्नबाट बचाएको र आत्मिक शान्ति दिएर सुखी बनाइरहेको उनको भनाइ थियो ।


‘प्राथमिक तहदेखि विश्वविद्यालय तहसम्म योगलाई पाठ्यक्रममा राख्ने यसअघि सुरु भएको प्रयासलाई सार्थकता दिन म सम्बन्धित पक्षको ध्यानाकर्षण गराउन चाहन्छु,’ उपराष्ट्रपति पुनले भने । पुनले भरतपुरमा आयोजना भएको कार्यक्रमको उद्घाटन र योग पनि गरे । ‘योग शिक्षालाई अझै प्रभावकारी बनाउन जरुरी छ । नागरिकहरू शारीरिक र मानसिक रूपमा स्वस्थ भए मात्रै देश स्वस्थ हुन्छ । अनि मात्रै हामीले भनेजस्तो समृद्ध नेपाल, सुखी नेपालीको चाहना पूरा हुन्छ,’ पुनले जोड दिए ।


प्रकाशित : असार ७, २०७६ ०७:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?