कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आन्दोलनकारी हटाएर सिसडोलमा फोहोर फाल्न थालियो, दर्जन पक्राउ 

कृष्ण थापा

नुवाकोट — प्रहरीले आन्दोलनकारीलाई पक्राउ गरी शनिबार अपराह्न सवा ४ बजेदेखि सिसडोलमा फोहोर फाल्न थालिएको छ । आन्दोलन गरिरहेका सिसडोलवासीलाई पक्राउ गरी फोहोर फालिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी कृष्णबहादुर पल्लीमगरले बताए ।

आन्दोलनकारी हटाएर सिसडोलमा फोहोर फाल्न थालियो, दर्जन पक्राउ 

‘आन्दोलन गर्ने मान्छे पक्राउ गरिएको छ,’ उनले भने,‘कति पक्राउ परे भन्ने यकिन जानकारी आएको छैन । सिसडोलमा फोहोर खसाल्न थालियो ।’ पुराना माग पूरा गर भन्दै आन्दोलनरत सिसडोलवासीले उपत्यकाबाट संकलित फोहोर फाल्न ५ दिनदेखि रोक लगाएका थिए । पक्राउको क्रममा १ महिला बेहोस भएपछि उपचारका लागि काठमाडौं पठाइएको छ ।


सिसडोल व्यवस्थापन संघर्ष समिति गठन गरी आन्दोलन गरिरहेका स्थानीयले प्रहरी हस्तक्षेप गरेर धरपकड गरेको भन्दै यसको परिणाम नराम्रो हुने चेतावनी दिएको छ । ‘हामीले राखेका जायज मागलाई बेवास्ता गर्दै प्रहरी लगाएर धरपकड र कुटपिट गरेर कहिलेसम्म फोहोर फाल्ने ?,’ सिसडोल व्यवस्थापन संघर्ष समिति अध्यक्ष चक्रमान बलामीले भने, ‘स्थानीयलाई यसरी प्रहरी दमन गरेर फोहोरको समस्या समाधान हुँदैन ।’


ककनी गाउँपालिका २ ओखरपौवाको सिसडोल र धादिङ धुनीबेंसी नगरपालिका ३ को बीचमा सिसडोल छ । सिसडोलको अधिकांश भाग नुवाकोटमा पर्छ । काठमाडौं महानगरपालिकाले ०६२ सालमा ओखरपौवाको सिसडोलमा फोहोर फाल्न थालेको हो । त्यतिबेला काठमाडौं महानगरले ओखरपौवा र धादिङको धुनीबेंसीवासीसँग दुई वर्ष अवधिका लागि मात्र सिसडोल क्षेत्रलाई फोहोर फाल्न तोकिएको थियो । महानगरले सिसडोलभन्दा २ किमि पर बन्चरेडाँडामा दक्षिण एसियाको आधुनिक फोहोर फाल्ने ठाउँ निर्माण गर्ने तयारी गरेको छ ।


स्थानीयले राखेका माग सम्बन्धित निकायले पूरा नगरेको भन्दै ५ दिनदेखि उनीहरुले फोहोर फाल्न दिएका थिएनन् । शनिबार बिहानदेखि स्थानीयवासीले नारा जुलुससहित सडकमै सुतेर सिसडोलमा फोहोर फाल्न नदिएपछि प्रहरी हस्तक्षेपमा उत्रेको थियो । उनीहरुले प्रहरी हस्तक्षेप बढेको, फोहोरमाथि राजनीति गरेको, जनतालाई मार्न खोजिएको, शान्तिपूर्ण आन्दोलन गर्न खोज्दा धरपकड गरेको, फोहोर फाल्न पाइँदैन भनेर नारा जुलुस गरेका थिए । सयौं फोहोरका गाडीहरु पासाङ ल्हामु सडक खण्डको तीन पिप्लेदेखि बालाजुसम्म सडक किनारमा लाइन लागेर रोकिएका थिए ।


शुक्रबार संघर्ष समिति गठन गरेर काठमाडौंमा फोहोरले पारेको असरका विषयमा जानकारी गराएका थिए । सिसडोलमा अस्तव्यस्त रहेको फोहोर दिगो व्यवस्थापन गरी डम्पिङ साइडका समस्याहरुको अन्तर्राष्ट्रिय मापदण्डअनुसार व्यवस्थापन गर्न स्थानीयले माग गर्दै आएका छन् । उक्त समस्यालाई लिएर काठमाडौं महानगरपालिकाका प्रतिनिधिहरुसँग धेरै पटक वार्ता गर्दा पनि समस्या समाधान नगरेको समिति अध्यक्ष बलामीले बताए । १८ वटा नगरको करिब दैनिक ८ सय टन फोहार सिसडोलमा फालिन्छ ।

प्रकाशित : असार १४, २०७६ १७:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?