कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्याराग्लाइडिङको परीक्षण उडान

बलराम घिमिरे

रसुवा — गोसाइँकुण्ड–५ ठूलो स्याफ्रुमा प्याराग्लाइडिङको परीक्षण उडान सफल भएको छ । भुल्दी गाङ प्याराग्लाइडिङ उपभोक्ता समितिले ठूलो स्याफ्रुमा परीक्षण उडान गरेको हो । बिहीबार र शुक्रबार गरी दुई दिनसम्म प्याराग्लाइडिङको परीक्षण उडान सञ्चालन भएको थियो । 

प्याराग्लाइडिङको परीक्षण उडान

साहसिक खेलको माध्यमबाट पर्यटन विकास गर्ने लक्ष्यसहित जिल्लामै पहिलो पटक प्याराग्लाइडिङको परीक्षण उडान गरिएको भुल्दी गाङ प्याराग्लाइडिङ उपभोक्ता समितिका सचिव दावा तामाङले बताए । दुर्सागाङदेखि ठूलो स्याफ्रुसम्म बिहीबार ३ र शुक्रबार ६ वटा गरी ९ वटा उडान भरिएको छ । ‘परीक्षण उडान सफल भएको छ,’ उनले भने, ‘अब व्यावसायिक उडानका लागि प्रक्रिया अधि बढाउँछौं ।’ उडान भर्ने स्थान दुर्सागाङको उचाइ २ हजार ७ सय मिटर रहेको छ । अवतरण गर्ने स्थान ठूलो स्याफ्रुको उचाइ २ हजार २ सय मिटर रहेको छ ।


शंखरापुर प्याराग्लाइडिङ कम्पनी काठमाडौंबाट आएका ४ जना पाइलटले उडान भरेका थिए । उत्तरी मोहडामा फर्केको जमिन र सन्तुलित हावा चल्ने क्षेत्र रहेकाले प्याराग्लाइडिङको व्यावसायिक उडान गर्न सकिने सम्भावना रहेको प्याराग्लाइडिङका पाइलट विजय चौलागाईले बताए ।


‘यस स्थानबाट व्यावसायिक उडान सञ्चालन भएमा नेपालकै पहिले अग्लो स्थानको प्याराग्लाइडिङ सञ्चालन हुने क्षेत्र हुनेछ,’ उनले भने । व्यावसायिक उडानका लागि अवतरण गर्ने स्थानको निर्माण र बिजुलीका पोलहरू हटाउनेलगायतका काम गर्ने तयारी भएको चौलागाईले बताए । परीक्षण उडान सफल भए अनुमति लिएर व्यावसायिक रूपमै प्याराग्लाइडिङ व्यवसाय अघि बढाउने योजना गाउँपालिकाको रहेको गोसाइँकुण्ड गाउँपालिका अध्यक्ष कैसाङनुर्पु तामाङले जनाए ।


‘व्यावसायिक उडानका लागि अब कम्पनी दर्ता गर्ने प्रक्रिया अघि बढाइनेछ,’ उनले भने । व्यावसायिक उडान सञ्चालन भएमा नेपाल भ्रमण वर्ष २०२० लाई पर्यटन प्रवन गर्न थप सहयोग पुग्ने अपेक्षा गरिएको छ ।


गोसाइँकुण्ड गाउँपालिका–५ ठूलो स्याफ्रु पर्यटकीय क्षेत्रको रूपमा विकास भइरहेको छ । व्यावसायिक उडानले यस क्षेत्रको थप पर्यटन प्रवर्द्धन हुने तामाङले बताए । यस स्थानबाट लाङटाङ र गोसाइँकुण्ड पदयात्रामा जान सकिन्छ ।

प्रकाशित : असार १५, २०७६ ०७:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?