कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

खडेरीले मकै सुके, खेत बाँझै

टीकाप्रसाद भट्ट

(रामेछाप) — ‘वारीमा मकै सुकेर आगो लाग्ने भए,’ भलुवाजोरका देवबहादुर बुढाथोकीले भने ‘बाह्र पाथीको विउ यो साल स्वाहा भयो ।’ खडेरीले उनको आउने सालको लागि भकारी रित्तो हुने भएको छ । पाखो बारीमा एक बालीको भरले पालिएका धेरै वस्ती खडेरीले अक्रान्त बनेका छन् । ‘वारीमा मकै सुके, घरमा भकारी रित्तिए अव कसोरी खाने ? ’ भलुवाजोरकै सान्नानी शाहीले भनिन । 

खडेरीले मकै सुके, खेत बाँझै

रामेछापको दक्षिणी क्षेत्रमा लामो खडेरी परेकाले खाद्य वाली सखाप भएको छ । बैशाखको अन्तिममा पानी परेकाले किसानले मकै रोपेका थिए । ‘राम्रै उम्रियो, गोडमेलमा पनि उत्तिकै खर्च गरियो ’ शाही भन्छिन् ‘गोडेपछि पानी परेन, सवै मर्‍यो ।’ कतिपय किसानले उखेलेर गाईभैसीलाई दिन लागेका छन् । जेठ लागेपछि पानी परेकै छैन ।


भलुवाजोर, रामेछाप, सुकाजोर, रामपुर, हिमगंगा, साँघुटार, देउरालीलगायतका गाउँमा खडेरीले सताएको छ । केही दिन अघिदेखि तापक्रममा निरन्तर वृद्धि भइरहेको छ । सदरमुकाम मन्थलीमा विहिबारको तापक्रम ४० डिग्री सेल्सीयस मापन गरिएको थियो । चर्को घामका कारण स्थानीयहरू घर बाहिर निस्कन सकिरहेका छैनन । बजार सुनसान बनेको छ । खडेरीले बालीनाली र वस्तुभाउमा मात्र असर परेको हैन, पानीका स्रोतहरू समेत धमाधम सुक्दैछन । ‘एक गाग्री पानी लिनका लागि एक दिन लाग्छ,’ गेलुका प्रदीपकुमार श्रेष्ठले भने । उनले अझै केहि दिन पानी नपरे वस्ती उठने अवस्थामा पुग्ने बताए ।


कृषि ज्ञान केन्द्रले जिल्लाका सवै स्थानीय तहबाट संकलन गरेको विवरणमा हालसम्म जम्मा ८ प्रतिशत मात्रै रोपाई भएको जनाएको छ । केन्द्रका प्रमुख दिनेश आचार्यका अनुसार रोपाईको प्रतिशत न्यून छ । पाखोबारीमा लगाइएका सबै बाली सुकिसकेका छन । असारको तेस्रो सातासम्म रोपाई सकिन्थ्यो । यो बर्ष रोपाई न्यून हुनुमा खडेरीनै कारण बनेको छ । खोला नालामा पानी छैन । किसानले जसोतसो राखेको धानको व्याड सुकेका छन् ।

प्रकाशित : असार २१, २०७६ ०९:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?