कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जोखिमयुक्त डुँडे भीरमा गोरेटो

सिन्धुपाल्चोक — पहरोको छेउ समात्दै ज्यान हत्केलामा राखेर हिँड्नुपर्ने । असुरक्षित डुँडे भीरकै साँघुरो बाटोबाट हात फुत्किएर अघिल्लो वर्ष दुई गाउँलेले ज्यान गुमाए । जोखिम मोलेर हिँड्नुपर्ने बाटो बाह्रबिसे नगरपालिकाको वडा ८ एक्लेबेसीबाट वडा ९ राम्चे साउँबेसी जोड्ने आकर्षक गोरेटो देखेपछि स्थानीय खुसी भएका छन् ।

‘पहरोको ढिस्को समाउँदै हिँड्नुपर्थ्यो, बल्ल भीरमा गोरेटो बनेको छ, अब पहिलेजस्तो पिरलो रहेन,’ बाह्रबिसे नगरपालिका ९ साउबेसीका निलराज तिमल्सिनाले भने । यातायातको सुविधा नभएपछि भीर समातेर आउजाउ गर्दै आएका स्थानीयले भीरमा बल्ल सुविधाजनक बाटो पाएको उनले सुनाए ।


‘हामीजस्तो बूढाबूढी र बिरामीलाई भीर कटाउन सजिलो हुने भयो,’ ७३ वर्षीय उनले भने । पर्यटन तथा वन मन्त्रालायको पहलमा बाह्रबिसे नगरको समन्वयमा विभिन्न स्थानमा पहिरो रोकथाम गर्दै गोरेटो बाटो बनाइएको दमैखोला डुँडुे भीर गोरेटो बाटो समितिका अध्यक्ष विकास तिमल्सिनाले जनाए ।


सधैंजस्तो अभाव झेल्नुपर्ने अवस्था आएपछि नगरपालिका र प्रदेश सरकारलाई स्थानीयले गुहार मागेका थिए । यसबारे सबै विवरण लिएपछि दुवै सरकारको सहयोगमा गोरेटो बाटो निर्माण थालिएको अगुवा हरि तिमल्सिानले बताए । ‘यातायात पूर्वाधार सहज नभइरहेको अवस्थामा गोरेटे बाटोले बैसाखीको काम गरेको छ, खुसी लागेको छ,’ उनले भने । उनका अनुसार यसमा नगरपालिकादेखि भू तथा जलधार व्यवस्थापन, विभिन्न कार्यालयबाट प्राविधिक सहयोग रहेको छ ।


यातायात सहज नभएकाले दमैगाउँ, जैसीगाउँ, एक्लेबेसी, साउबेसीका सयौं परिवार यही भीरको कुनाको सानो बाटो प्रयोग गरेर बाह्रबिसे बजार झर्ने गर्दछन् । ‘भीर समातेर हिँड्नुबाहेक अरू विकल्प थिएन, गोरेटो गाउँलेका लागि डुँडे भीर वरदान सावित भएको छ,’ बाह्रबिसे जैसीगाउँका रंगनाथ तिमल्सिनाले भने ।


सडकको बाटो हुँदै यात्रा गर्दा दिनभर लाग्ने र भीरको बाटो आउँदा छोटो समयमै आउन सकिने भएकाले गोरेटो बाटो उपयुक्त भएको उनको अनुभव छ । गाउँको मुख्य समस्या बनिरहेको डुँडे भीरको बाटो बल्ल समाधान बनेको उनको कथन छ । भीरको कुनामा सुरक्षित बनाइएको गोरेटोसँगै ‘भू तथा जलधार व्यवस्थापन’ को सहयोगमा जाली गारो लगाइएको छ । बर्खा र विपत्देखि गम्भीर बिरामी भएमा सधैं भागभाग गर्नुपर्ने अवस्था बेहोरिरहेका गाउँलेलाई गोरेटो बाटोले सहज बनाएको छ ।


स्थानीय तहमा गोरेटो
तीन नगर ९ गाउँपालिकामध्ये पर्यटकीय क्षेत्रको रूपमा नाम कमाएका गाउँपालिकाले गोरेटो निर्माणलाई प्राथामिकता दिएका छन् । चीनकोझैं नेपालमै पहिलो पटक ‘हिमालयन ग्रेट ट्रेल’ बनाइरहेको हेलम्बु गाउँपालिकाले मेलम्चीघ्याङ, घ्याङ्लु, शेर्माथानदेखि विभिन्न पर्यटकीय स्थल जोड्ने गोरेटो बनाउन थालेको छ । हिमाली गोरेटोलाई प्राथमिकता दिएर पर्यटकीय अभियानलाई आफ्नो नीति तथा कार्यक्रममा समेटेको हेलम्बु गापा प्रमुख निमा ग्याल्जेन शेर्पाले बताए ।

प्रकाशित : असार २९, २०७६ १५:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?