बाढीपहिरो : महिला–बालिका बढी प्रभावित

सोमबार दिउँसोसम्म हेटौंडा–सिस्नेरी–काठमाडौं सडक खण्डबाहेक सबै सडक सुचारु, महेन्द्र राजमार्ग, पृथ्वी राजमार्ग, त्रिभुवन लोकपथको अवरोध हट्यो, बीपी राजमार्गअन्तर्गतको काभ्रे–सिन्धुली खण्डमा एकतर्फी सवारी सुचारु 
सुवास विडारी, प्रताप विष्ट, हरिहरसिंह राठौर

मकवानपुर, हेटौंडा र धादिङ — अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण प्रदेशमा सबैभन्दा बढी महिला र बालिका प्रभावित भएका छन् । प्रदेशभर (उपत्यकाबाहेक) हालसम्म १७ जनाको मृत्यु भएको र पाँच हराइरहेका छन् । 

प्रहरीले हालसम्म बाढीपहिरोमा फसेका चार सय २३ जनालाई उद्धार तथा स्थानान्तरण गरिसकेको प्रदेश ३ प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक अरुण पौडेलले जनाए ।

उनका अनुसार प्राकृतिक विपद्मा परी १३ घाइते भएका छन् । मृत्यु भएकामा अधिकांश महिला र बालिका छन् । हालसम्म मृत्यु भएकामध्ये महिला ७ , बालिका ६ र पुरुष चार जना रहेका छन् । घाइते १३ मध्ये पाँच महिला, ६ पुरुष र एक/एक बालक र बालिका रहेका छन् । पाँच जना बेपत्ता भएकामध्ये तीन पुरुष र एक/एक जना महिला र बालिका छन् ।

पाँच दिन अवधिमा मकवानपुरमा सोमबारसम्म बाढीपहिरोका कारण ५ जनाको मृत्यु र पाँच जना घाइते छन् । प्रदेश ३ प्रहरी कार्यालय हेटौंडाका अनुसार बाढीपहिरोका कारण हालसम्म सिन्धुलीमा चार जनाको मृत्यु भएको छ भने तीनजना बेपत्ता छन् । दुईजना घाइते भएका छन् । त्यस्तै, काभ्रेमा तीन जनाको मृत्यु हुनुको साथै दुई घाइते छन् ।

धादिङमा दुई जनाको मृत्यु हुनुका साथै एक जना बेपत्ता छन् । अर्को एक जना घाइते अवस्थामा रहेका छन् । त्यस्तै, बाढीपहिरोका कारण सिन्धुलीमा पनि दुई जनाको मृत्यु र तीन जनाको अवस्था अज्ञात रहेको प्रहरीले जनाएको छ । बाढीपहिरोले हालसम्म १९ वटा घरगोठमा क्षति पुर्‍याएको प्रहरीको तथ्यांकले देखाएको छ । पाँच दिनको अवधिमा दुई बोलेरोका साथै एक/एक वटा ट्रक, एक्जाभेटर, ट्याक्टर, ट्रक र टिपरमा क्षति भएको प्रदेश प्रहरी प्रवक्तापौडेलले बताए ।

मानवीय तथा भौतिक क्षति बढेसँगै प्रहरीहरू उद्धारमा खटिएका छन् । प्रदेशमा करिब तीन हजारभन्दा बढी प्रहरी प्रभावित क्षेत्रमा उद्धार तथा राहतमा खटिएको प्रवक्ता पौडेलले बताए । ‘कार्यालय, कारागार र हिरासतको सुरक्षामा रहेका प्रहरीबाहेकका सबै प्रहरीहरू अहिले बाढीपहिरो प्रभावित क्षेत्रमा खटाएका छौं,’ उनले भने, ‘हाम्रो साधन स्रोतले भ्याएसम्म उद्धारका काममा खटिएका छौं ।’ उनका अनुसार प्रदेश २ मा समेत प्रदेश ३ बाट प्रहरी उद्धारका लागि पठाइएको छ ।

उनका अनुसार सोमबार दिउँसोसम्ममा हेटौंडा–सिस्नेरी–काठमाडौं सडक खण्डबाहेक सबै सडक सुचारु रहेका छन् । महेन्द्र राजमार्ग, पृथ्वी राजमार्ग, त्रिभुवन लोकपथमा भएको अवरोध हटिसकेको छ भने बीपी राजमार्गअन्तर्गतको काभ्रे–सिन्धुली खण्डमा एकतर्फी सवारी सञ्चालनमा ल्याइएको छ ।

विस्थापितहरू सामुदायिक भवनमा
१५ दिनको नवजात शिशु च्यापेर शिलुमाया रुम्बा मकवानपुरको भीमफेदीस्थित सामुदायिक भवनमा आश्रय लिएर बसिरहेकी छन् । त्यस्तै, स्थानीय सुमित्रा गोम्जा पनि २० दिनको बच्चा च्यापेर त्यही भवनमा बसिरहेकी छन् । उक्त भवनमा रुम्बा, गोम्जा मात्र होइन ६ घरधुरीका ३० जना चार दिनयता आश्रय लिएर बसेका छन् ।

सामुदायिक भवनमा आश्रय लिएकामा १५ दिनदेखि २ महिनासम्मका चार जना सुत्केरी छन् । गाउँपालिकाका अध्यक्ष हिदम लामाले भने, ‘उक्त टोलबाट २६ घरका ९२ जनालाई उद्धार गरी विभिन्न ठाउँमा ल्याएर राखेका थियौं, वर्षा कम भएपछि धेरै जना फर्किसकेका छन् ।’

तर शिशुसहितका सुत्केरीहरूअझै समुदायिक भवनमै बसिरहेको उनले बताए । ‘उनीहरूको घर जोखिममा छ,’ अध्यक्ष लामाले भने, ‘सामुदायिक भवनमा बसेकामध्ये नवजात शिशु र सुत्केरीलाई समस्या छ ।’ वडा सदस्य सनककुमार घिसिङले स्थानीय रेडक्रस र गाउँपालिकाले सक्दो सहयोग गर्दै आएको बताए ।

खेत बन्यो बगर
मकवानपुरको थाहा नगरपालिका क्षेत्रमा आइतबार राति भारी वर्षापछि आएको बाढीले सडक, उर्वरा जमिन र तरकारी खेतीमा क्षति पुर्‍याएको छ ।

हालसालै बनाइएका विद्यालय भवन र केही घर पहिरोले बगाएको छ । केही पसल र घरभित्र भेल पसेको छ । थाहा नगरपालिकाको २, ३, ७ र ८ वडामा बाढीले बढी क्षति पुर्‍याएको हो । बाढीले दामन–डाँडाबास सडकको अधिकांश भाग बगाएको छ ।

थाहाको घर्तीखोला र फाँटबजारमा सयौं रोपनीमा लगाएको तरकारी खेती बगरमा परिणत भएका छन् । ‘थाहा नगरपालिकाको २ र ३ मा करिब ३ सय रोपनीका लगाएको तरकारी खेती बाढीले नष्ट गरेको छ,’ थाहा नपाका मेयर लवशेर विष्टलेभने, ‘ तरकारी खेतीमात्र करोडौको क्षति भयो ।’

यसैगरी, दामन–डाँडाबास सडक खण्डको झन्डै एक किलोमिटर सडककै बगाएको छ । बाढीले खइटे खोलाको पुललाई क्षति पुर्‍याएको छ । घर्तीखोलास्थित बायखोला र स्थानीय खहरे खोलाले केही गोठसमेत बगाएको छ । गोठमा राखेको आलुसमेत बाढीले बगाएको स्थानीय लक्ष्मण विष्टले बताए । थाहा नगरपालिका ८ आग्रामा हालै निर्मित पञ्चकन्या प्राविको चार कोठे भवन पहिरोले बगाएको छ ।

यसैबीच, मकवानपुरमा भारी वर्षाले खहरे खोलासँगै आएको पहिरोले घर बगाउँदा सोमबार आमाछोरीको मृत्यु भएको छ । इन्द्रसरोवर १ टौमासको खहरे खोलाले घरसहित बगाउँदा कान्छीमाया बलामी र बबिता बलामीको मृत्यु भएको हो । उनीहरू घरमा सुतिरहेको अवस्थामा खहरेसँगै आएको पहिरोमा परेका हुन् । प्रहरी र गाउँलेको खोजीपछि शव फेला पारेको प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताए ।

होङ्सी सिमेन्टमा क्षति
मध्यरातमा उर्लेको धादिङको मलेखु खोलाले चिनियाँ सहयोगमा निर्माणाधीन होङ्सी नारायणी सिमेन्टमा क्षति पुर्‍याएको छ । बाढीले मजुदर आवास, निर्माणाधीन संरचनामा क्षति पुगेको हो । बाढीले ३ वटा जिप, २ टिपर, २ डोजरसमेत बगाएको छ । खोलामा बाढी आएपछि अढाइ सय चिनियाँ र ३ सय नेपाली मजदुरले लत्ताकपडासमेत झिक्न पाएनन् ।

मजदुर र प्राविधिक बस्ने आवास घेरेर बाढी दुवैतर्फ पसेपछि २ कोरियाली र ५ चिनियाँबीचमै फसेका थिए । ती सातै जनालाई स्थानीयवासी र प्रहरीको सहयोगमा उद्धारगरिएको स्थानीय व्यवस्थापक तुलसी थापाले बताए । दैनिक ६० हजार बोरा सिमेन्ट उत्पादन गर्ने लक्ष्यसहित आएको उद्योगको आगामी ९ महिनामा निर्माण भई उत्पादन थाल्ने लक्ष्य थियो ।

प्रकाशित : असार ३१, २०७६ ०८:१८
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

क्रसरले जोखिममा बस्ती र राजमार्ग 

नगेन्द्र अधिकारी

रोशी, काभ्रे — मापदण्ड विपरीत सञ्चालित खानी तथा क्रसर उद्योगका कारण बीपी राजमार्ग जोखिममा छ । बस्तीमाथि रहेका उद्योगका कारण वर्षासँगै स्थानीय त्रासमा छन् । 

खोला मिचेर सञ्चालित खानी तथा क्रसरले थुपारेको धूलोले खोलाको सतह बढेको छ । साथै, बहाव परिवर्तन हुँदा राजमार्गका पुल जोखिममा छन् । खेतीयोग्य जमिन बगरमा परिणत भएका छन् । हालैको वर्षापछि खानी तथा क्रसरले थुपारेका धूलो र कच्चा पदार्थ बगाउँदा काभ्रेतर्फ बीपी राजमार्गका विभिन्न ९ स्थानमा लेदोले अवरोध पुर्‍यायो ।

नमोबुद्ध ५ लास्कोटमा पशुपति रोडा ढुंगा उद्योग (खानी) र मनकामना एग्रिगेट प्रालि (क्रसर) ले राजमार्ग छेउमै थुपारेको धूलो बगेर राजमार्ग नै अवरोध भयो । वडाअध्यक्ष बुद्धसिं तामाङसहित स्थानीय कर्मसिं, माइलाकाजी, कालदास, मिमबहादुर, छोइसाङ र टेकनसिं तामाङको ३ सय मुरी धान हुने खेत पुरेको छ । ‘१० र १८ मा ४ रोपनीमा रोपेको धान क्रसरको धूलोले पुर्‍यो,’ टेकनसिंले भने, ‘क्रसरवालालाई भन्दा झैझगडा नगर्नुस्, हामी क्षतिपूर्ति दिन्छौं भनेका छन् ।’

खानीले अवैध उत्खनन् गरेको डाँडा बगाएर/खसेर आफ्नो घर पुरिने भन्दै स्थानीय माया तामाङ चिन्तित छन् । ‘हिजो रातभरि निद्रा लागेन, आज फेरि पानी पर्‍यो भने त हाम्रो घर नै बगाउँछ,’ उनले भनिन्, ‘ससाना बच्चा छन्, केही भइहाल्ला कि भन्ने डर छ ।’
पशुपति रोडाढुंगा उद्योगको कारण दाप्चा खोलास्थित १ नं पुल जोखिममा छ ।

खोलाको सिमाना मिचेर धूलो थुपारेका कारण पुलमा प्रत्यक्ष असर परेको हो । सञ्चालक भरत घिमिरे भने मापदण्डभित्रै रहेर आफूहरूले काम गरिरहेको बताए । ‘मापदण्ड मिचेका छैनौँ, कागजमा हामी ठीक छौं,’ उनले भने, ‘केही गल्ती हामीबाट पनि भएको होला तर राज्यको नीतिअनुसार नै दर्ता भएर चलेका हौं ।’ बीपी राजमार्गमै पर्ने रोशी ८ खार्पाचोकस्थित नाङसाल रोडाढुंगा उद्योग र सोही वडाको नार्केमा रहेको गौरीशंकर रोडाढुंगा उद्योगबाट निस्केको लेदोले पनि राजमार्गमा अवरोध गरेको थियो ।

०७० देखि बिनानवीकरण सञ्चालन भइरहेका क्रसर उद्योगहरूबाट स्थानीय तहले राजस्व भने उठाइरहेको छ । जिल्लामा सञ्चालित कुनै पनि क्रसर उद्योग मापदण्डअनुसार छैनन् । मापदण्डमा नदी, खोलाको वर्षातको प्रवाह सीमा किनारबाट ३ सय मिटर, हाइटेन्सन लाइनबाट सय मिटर, राजमार्गको राइट अफ वेबाट ३ सय मिटर, शिक्षण संस्था, स्वास्थ्य संस्था, धार्मिक, सास्कृतिक, पुरातात्त्विक महत्त्वका स्थान तथा सुरक्षा निकायबाट १ किलोमिटर, निकुञ्ज, आरक्ष र संरक्षण क्षेत्रबाट २ किलोमिटर, वनक्षेत्रबाट १ किलोमिटर, पक्की पुलबाट १ किलोमिटर र अन्तर्राष्ट्रिय सीमाबाट १ किलोमिटर हुनुपर्ने उल्लेख छ । मापदण्डमा नरहेका क्रसर उद्योगहरूलाई स्थानान्तरणका लागि प्रदेश ३ सरकारले असार मसान्तसम्मको समय दिएको थियो ।

प्रदेश सरकारले मापदण्ड परिमार्जनका लागि सुझाव मागेपछि जिल्ला समन्वय समितिले राजमार्ग, खोलाकिनार, वन तथा आरक्ष, धार्मिक, सांस्कृतिक, पुरातात्त्विक महत्त्वका स्थानबाट ५० मिटर, शिक्षण संस्था, स्वास्थ्य संस्था, सुरक्षा निकाय, न्यूनतम ५० घरधुरी भएको बस्तीबाट १ किलोमिटरमा रहनुपर्ने मापदण्ड सिफारिस गरेको थियो । पक्की पुलको तलमाथि २ सय ५० मिटरमा क्रसर उद्योग रहनुपर्ने मापदण्ड राख्न सिफारिस गरिएको थियो । तत्कालीन जिल्ला विकास समितिले पनि मापदण्ड खुकुलो पार्नुपर्ने भन्दै परिमार्जन गर्न सुझाव दिएको थियो ।

निरीह स्थानीय सरकार
राजमार्गमै क्षति पुग्ने गरी खानी तथा क्रसर उद्योग सञ्चालन हुँदा पनि स्थानीय सरकार निरीह छन् । उल्टै पदाधिकारीहरू ‘नियतवश र जानीजानी’ राजमार्ग नबिगारेको तर्क गर्छन् । ‘उहाँहरू (व्यवसायी) ले जानीजानी विगारेको हैन,’ जिल्ला समन्वय समिति प्रमुख उद्धव केसीले भने, ‘मापदण्डमा नभएको सत्य हो, असार मसान्तसम्म सार्न प्रदेशले समय सीमा दिएको छ, बाँकी कुरा त्यसपछि हुन्छ ।’

रोशी गाउँपालिका अध्यक्ष दलबहादुर (डीबी) लामा कारबाही गर्न आफू तयार भए पनि दबाबका कारण गर्न नसकिएको तर्क गर्छन् । ‘व्यवसायीबाट एक पैसा फाइदा लिएको छैनौं,’ लामाले भने ।

बिगार्नेकै उपकरण प्रयोग
धूलो बगाएर राजमार्ग अवरुद्ध गराएका क्रसर तथा खानी उद्योगी व्यवसायीकै डोजर र स्काभेटर प्रयोग गरेर राजमार्ग एकतर्फी खुलाइएको छ ।

राजमार्गमा पर्ने रोशी गाउँपालिकाबाहेक नमोबुद्ध नगरपालिकाले चासो नदिएपछि प्रहरीले व्यवसायीकै उपकरण अनुरोध गरेर राजमार्ग खुलाउन प्रयोग गरेको जिल्ला प्रहरी प्रमुख एसपी जयराज सापकोटाले जनाए । सूर्यविनायक–धुलिखेल, धुलिखेल–सिन्धुली–बर्दिबास आयोजनाले केही इन्धन सहयोग गरेको आयोजना प्रमुख सूर्यबहादुर भाटले बताए । उनका अनुसार आयोजनाका दुई डोजर पनि प्रयोग भएका थिए ।

प्रकाशित : असार ३१, २०७६ ०८:१६
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT