कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

समयमै बन्दैनन् पुलहरू

सुवास बिडारी

मकवानपुर — मकवानपुरको ५ स्थानमा निर्माणाधीन पक्की पुल विभिन्न कारण देखाउँदै निर्माण व्यवसायीले समयमा पूरा गरेका छैनन् ।

मकवानपुरको गढीगाउँपालिका–३ कालिखोला, हेटौंडा–९ र १३ जोड्ने कुखरेनी खोला, राक्सिराङ गाउँपालिका–५, आँपखोल्सी, हेटौंडा–२१, कर्रा खोला तथा वाग्मती गाउँपालिका–५, सुकेदोभानमा निर्माणाधीन पुलहरू समयमा पूरा नभएका हुन् । वाग्मती खोलाको फापरबारी–भोर्लेनी–तालढुंगा रोड जोड्ने एकसय १६ मिटर सडक ठेक्का सम्झौता अनुसार ०७६ भदौ २७ मा सम्पन्न हुनुपर्नेमा हालसम्म पाँच प्रतिशत मात्र प्रगति भएको छ ।


१३ करोड १८ लाख ५८ हजार अनुमानित लागत भएको ठेक्का १३ करोड १७ लाख २२ हजार रुपैयाँमा महावीर–शिखर–तामाकोसी जेभी हेटौंडाले ०७४ असार ३० मा ठेक्का सम्झौता गरेको थियो । हालसम्म एक करोड ७० लाख रुपैयाँ भुक्तानी लगे पनि तोकिएको समयभित्र काम सम्पन्न नहुने निश्चित छ । ‘हामीलाई गाउँलेले काम गर्ने स्थानमा मेसिन लैजान दिएनन् । जसले गर्दा समस्या भयो । हामीले करिब पाँच किलोमिटरको ट्र्याक खोलेपछि मात्र काम गर्ने स्थानमा मेसिन लैजान सकियो ’ ठेकेदार विजय थापाले भने ।


यसै कम्पनीले राक्सिराङ–५, आँपखोल्सीमा निर्माण गरिरहेको १८ मिटरको पुलको काम पनि हालसम्म ५० प्रतिशतभन्दा बढी सकिएको छैन । ०७५ जेठ ३० मा सम्पन्न भइसक्नपर्ने पुलको निर्माण कार्य वर्षाका कारण रोकिएको छ । एक करोड २१ लाख ६७ हजार रुपैयाँमा ०७४ जेठ ३१ मा ठेक्का सम्झौता गरेपनि हालसम्म फाउन्डेसन र स्याल्याब ढलानको मात्र काम भएको छ ।


‘वर्षाको कारण अहिले काम रोकिएको छ । अब तार तान्ने र स्ल्याब ढलानपछिको काम मात्र बाँकी छ,’ निर्माण व्यवसायी थापाले भने । उक्त पुलको लागत अनुमान एक करोड ३१ लाख रुपैयाँ रहेकोमा हालसम्म ३५ लाख ४७ हजार रुपैयाँ रकम निकासा भइसकेको कार्यालयले जनायो ।


हेटौंडा–९ र १३ पदमपोखरी जोड्ने कुखरेनी खोलामा निर्माण भइरहेको एक सय चार मिटर लामो पुल निर्माण सम्पन्न हुनुपर्ने समय एक वर्षभन्दा बढी हुँदासमेत करिब ५१ प्रतिशत काम सम्पन्न भएको कार्यालयका इन्जिनियर राम यादवले जनाए । करिब पाँच करोड ९८ लाख ५४ हजार लागत अनुमान गरिएको पुल चार करोड ६६ लाख २३ हजार रुपैयाँमा ०७४ असोज २१ गते सम्पन्न गर्ने गरी नागार्जुन–शंकरमाली कम्पनी कोटेश्वरले ठेक्का लिएको थियो ।


कम्पनीले ०७३ असार २२ गते ठेक्का सम्झौता गरेर हालसम्म दुई करोड ३८ लाख ४१ हजार रुपैयाँ भुक्तानी कार्यालयबाट लगिसकेको भए पनि अझै कति समयभित्र काम सम्पन्न हुने अत्तोपत्तो छैन । निर्माण कम्पनीका इन्जिनियर सूर्यमान राईका अनुसार आयोजनाको डिजाइन परिवर्तन हुँदा काम सुरु हुन करिब ७ महिना ढिला भएको कारण समयमा नसकिएको दाबी गरे ।


सोही कम्पनीले मकवानपुरको गढीगाउँपालिका–३, कालिखोलामा एकसय २८ मिटर लामो पुल ०७४ चैत १७ मा सम्पन्न गर्नुपर्ने भए पनि हालसम्म २७ प्रतिशत मात्र काम भएको छ । कम्पनीले २०७४ साल पुस ११ मा पाँच करोड ३७ लाख ९० हजार रुपैयाँमा ठेक्का सम्झौता गरेर हालसम्म एक करोड ४२ लाख ५७ हजार रुपैयाँ भुक्तानी लगे पनि काम सम्पन्न गर्ने अन्तिम मितिको भने टुंगो छैन ।


सात करोड ७० लाख ४२ हजार रुपैयाँ लगात अनुमान गरिए पनि करिब २ करोड २३ हजार कममा कम्पनीले ठेक्का सम्झौता गरेको थियो । कम्पनीका इन्जिनियर राईका अनुसार जिल्ला विकास समितिमार्फत् आफूहरूले ठेक्का लिएको र पछि प्रदेशमार्फत् काम गर्नुपर्दा कामको अख्तियारी नै ढिला भएको र कर्मचारी समायोजनका कारण आफूहरूले पाउनुपर्ने रकम समेत ढिला भएकाले काम समयमै गर्न नसकिएको बताए ।


कर्रा खोलाको हेटौंडा–२० र २१ जोड्ने हटिया–बालबोध–गुवाबारी जोड्ने ४० मिटर लामो पुलको निर्माण ०७५ असोज २७ मा सम्पन्न हुनुपर्नेमा हालसम्म ७३ प्रतिशतभन्दा बढी काम भएको छैन । इलाइट–सपना विद्याञ्चल जेभी पुल्चोक ललितपुरले पाँच करोड २६ लाख ६० हजार रुपैयाँमा ०७४ साल असार ३० गते निर्माण सम्झौता गरेर हालसम्म तीन करोड ३० लाख ९९ हजार रुपैयाँ भुक्तानी लिइसकेको कार्यालयले जनाएको छ ।


कम्पनीले यसै आर्थिक वर्षभित्रमा काम सम्पन्न गर्ने गरी काम भइरहेको जानकारी कार्यालयलाई दिएको इन्जिनियर यादवले जानकारी दिए । कार्यालयका इन्जिनियर यादवका अनुसार अधिकांश पुल तोकिएको समयभन्दा ढिला निर्माण हुने गरेको बताए । ‘नेपालमा पुल निर्माणका लागि आवश्यक दक्ष जनशक्ति पाइँदैन र विशेषगरी सबै स्थानमा स्थानीयको अवरोधका कारण निर्माण कम्पनी र हामीलाई समेत समस्या छ ।’, उनले फाउन्डेसनमै कम्पनीले धेरै समय लागउने गर्दा पक्की पुल निर्माण असाध्यै ढिला हुने गरेको बताए ।

प्रकाशित : श्रावण ७, २०७६ ०९:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?