कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बाह्रबिसेको कर्कलेबारीमा पहिरो

अनिश तिवारी

सिन्धुपाल्चोक — बाह्रबिसे नगरपालिका–९ स्थित राम्चे र मानेश्वारा पुग्ने सडकको माथिल्लो भाग भास्सिएपछि कर्कलेबारीका स्थानीयमा त्रास फैलिएको छ । भारी वर्षाका कारण बुधबार बेलुकी माथिल्लो भाग भत्किएपछि तल्लो कर्कले बस्तीका ५ परिवार कहाँ जाने भन्ने अन्योलमा परेका छन् ।

बाह्रबिसेको कर्कलेबारीमा पहिरो

‘चाँडै पहिरो रोकिएन भने हामी यसैमा पुरिएर मर्ने पक्का हो, अब के गर्ने नर्गने हामी त अलमलमा परेका छौँ,’ स्थानीय कृष्ण नेपालीले भास्सिएको जमिन देखाउँदै दुखेसो गरे । ‘रातदिन चैन छैन, जतिखेर पनि पहिरो खस्ला जस्तो लाग्छ’, उनले भने ।


राम्चे सडक खण्डको कालोपत्रे जिम्मा पाएको बन्धन भगवती र मानेश्वारा खण्डमा कार्यरत नेपाल आदर्श निर्माण कम्पनीले जथाभाबी उत्खनन् गरेपछि पहिरो लागेको पीडित परिवारको भनाइ छ । ‘जतापनि खन्दै छोड्दै गरे, हामीले जति अनुरोध गरे पनि बेवास्ता गर्दै जाली पर्खाल लगाएनन्, त्यही लापरबाहीले हाम्रो बास उठ्ने अवस्था भइसकेको छ,’ स्थानीय खड्गबहादुर लामाले भने । बाटो छेउ र राम्चेभिरको तल्लो पानी ओडारको पहरो खस्दै आउन थालेपछि रातदिन त्रासले निदाउन नसकेको उनले सुनाए ।


बाह्रबिसेको राम्चे, भिरकुना, घुम्थाङ, मानेश्वाराजस्ता दर्जनौँ दुर्गम हिमाली गाउँ पुग्ने सडकको सुरुवाती भाग ध्वस्त भएपछि यात्रुलाई आउजाउमा सास्ती भएको छ ।


माथिल्लो गाउँबाट घण्टौँ हिँडेर किनमेल र उपचारार्थ बाह्रबिसे बजार आउने गाउँलेलाई पहिरोले अवरोध गरेको छ । पहिरो आए लगत्तै उपप्रमुख, प्राविधिकको टोलीसहित स्थलगत निरीक्षणमा पुगेका बाह्रबिसे नगरपालिकाका प्रमुख निफुञ्जो शेर्पाले दुवै कम्पनीका ठेकेदारलाई सचेत गराएको बताए । ‘यसबारे ठेकेदार पक्षलाई सूचना दिएर अवरुद्ध खोल्न र मर्मत गर्न सुझाएको फलोअप पनि गरिरहेका छौँ,’ उनले भने । नगरपालिकाबाट प्राविधिक पक्षलाई स्थानमा पहिरो रोक्नेबारे खटाइरहेको उनले सुनाए ।

प्रकाशित : श्रावण ९, २०७६ १४:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?