कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७२

‘घरमा सुत्केरी हुने शून्य’

प्रताप विष्ट

हेटौंडा — मकवानपुर जिल्लाको एउटा वडालाई ‘जेरो होम डेलिभरी’(घरमा सुत्केरी हुने शून्य) घोषणा गरिएको छ । थाहा नगरपालिका ६ अर्थात् साविकको बज्रवराही गाविसलाई शुक्रबार उक्त घोषणा गरिएको हो । यसअघि धादिङको ज्वालामुखी गाउँपालिकाको २ र ३ नम्बर वडालाई ‘जिरो होम डेलिभरी’ घोषणा गरिएको थियो ।

‘घरमा सुत्केरी हुने शून्य’

थाहाका मेयर लवशेर विष्टले बज्रवराहीस्थित स्वास्थ्य चौकीमा आयोजित कार्यक्रममा स्वास्थ्यकर्मीहरूको सक्रियताले वडा नं ६ ‘जेरो होम डेलिभरी’ बनेको बताए । बज्रवराहीस्थित स्वास्थ्यचौकीमा गत वर्ष एक सय १ जना गर्भवतीहरू सुत्केरी हुन आएका थिए ।


चौकीले ६ नम्वर वडामा एक सय ५८ जना गर्भवती हुने अनुमान गरेको थियो । चौकीमा पहिलो पटक गर्भ परीक्षण गराउन १ सय ५८ जना आएका थिए । ‘सबै गर्भवतीहरू गर्भ परीक्षण गराउन आएका थिए,’ स्वास्थ्यचौकी प्रमुख सजिता पराजुलीले भनिन्, ‘यहाँका गर्भवतीहरू गर्भ परीक्षण गराउन मात्र आउँदैनन् सुरक्षितसँग सुत्केरी हुन पनि स्वास्थ्यचौकीमा एक/दुई दिन अगाडि नै आउँछन् ।’


सुत्केरी हुन आउने महिला र सहयोगीलाई बस्न र खानका लागि स्वास्थ्यचौकीले निःशुल्क व्यवस्था गरेको छ । स्वास्थ्य चौकीका अनुसार गत वर्ष एक सय १ जना स्वास्थ्य संस्थामा सुत्केरी हुन आएका थिए भने ५७ जना गर्भवती सुत्केरी हुन बाँकी छ । एक हजार घरधुरी रहेको वडाका गर्भवतीलाई स्वास्थ्यचौकीमा सुत्केरी हुन आउनका चौकीले टोल/टोलमा गर्भवतीको समूह गठन गरेको थियो ।


थाहाका स्वास्थ्य संयोजक मेघराज बलामीले भने, ‘ बज्रवराहीस्थित स्वास्थ्य संस्थाले गर्भ परीक्षण गर्न आउनेलाई १०/१० वटा अन्डा पनि दिने गरेको छ ।’ अन्डा पाउने आशले पनि गर्भवतीहरू चौकीमा गर्भ परीक्षण गर्न आउने गरेका छन् । स्वास्थ्य संस्थामा सुत्केरी हुन आएकामध्ये जटिल खालको गर्भवतीलाई काठमाडौं रिफर गर्ने गरेको छ । रिफर गर्दा चौकीले एम्बुलेन्स भाडा तीन हजार रुपैयाँ पनि नगद दिने गरेको छ । ०७५/०७६ मा २५ गर्भवतीलाई सुत्केरी हुन काठमाडौं रिफर गरेको थियो ।


रिफर गरिएकामध्ये २३ जनाको शल्यक्रिया गर्नुपरेको स्वास्थ्य संयोजक बलामीले बताए । उक्त स्वास्थ्य संस्थामा सुत्केरी हुने आमा र नवजात शिशुलाई स्वास्थ्यचौकीले न्यानो कपडा दिनुको साथै २ लिटर तोरीको तेल पनि दिने गरेको छ । नवजात शिशु र सुत्केरी आमालाई तेल लगाउन स्वास्थ्य चौकीले सुत्केरी भएर घर फर्कंदा तेल उपलब्ध गराउने गरेको चौकीका प्रमुख पराजुलीले भनिन् । स्थानीय बज्रवराही सहकारी संस्थाले सुत्केरी आमा र नवजात शिशुलाई न्यानो कपडाहरू दिने गरेको छ ।


‘स्वास्थ्यचौकी भए पनि यहाँ ल्याबको सेवा उपलब्ध छ । ‘कैयौं प्राथमिक स्वास्थ्य केन्द्रमा प्रयोगशाला छैन,’ प्रदेश सामाजिक विकास मन्त्रालयकी वरिष्ठ नर्स मिलन घिमिरेले भनिन्, ‘बज्रवराही स्वास्थ्यचौकी यो प्रदेशकै नमुनाको स्वास्थ्य चौकी हो, यसबाट अन्य स्वास्थ्यचौकीले सिक्नुपर्छ ।’


उक्त स्वास्थ्यचौकीलाई व्यवस्थित ढंगले सञ्चालन गर्न थाहा नगरपालिकाले गत वर्ष ५ लाख रुपैयाँ अनुदान दिएको थियो । नेवार र तामाङ समुदायको बाहुल्य रहेको बज्रवराही क्षेत्रमा विगत ४ वर्षसम्म स्वास्थ्य संस्थामा सुत्केरी हुन आउने संख्या अत्यन्त न्यून थियो ।

प्रकाशित : श्रावण १८, २०७६ ०७:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?