कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

वाग्मती हाइड्रो पवार : ६ करोडको क्षति, तीन सातायता ठप्प

प्रताप विष्ट

(हेटौंडा) — असार अन्तिम साताको बाढीपहिरोले वाग्मती जलविद्युत्् आयोजनामा ६ करोड बराबरको क्षति पुगेको छ । आयोजनाको इन्टेकको पर्खाल, एप्रोच च्यानल, सुरुङमा पानी लैजान बनेको ड्यामलाई वाग्मतीको बाढीले क्षतविक्षत बनाएको हो । विद्युत् गृहको पेनेस्टक पाइपको ढलान पहिरोले विभिन्न स्थानमा क्षति पुर्‍याएको छ । आयोजनाका प्लान्ट म्यानेजर दीपककुमार साहका अनुसार बाढीपहिरोले करिब ६ करोड रुपैयाँभन्दा बढी क्षति पुर्‍याएको छ ।

वाग्मती हाइड्रो पवार : ६ करोडको क्षति, तीन सातायता ठप्प

‘आयोजनाको बाँध क्षेत्रमा बाढीले ३ करोड र पेनेस्टक पाइपमा पहिरोले ३ करोड रुपैयाँभन्दा बढीको क्षति पुर्‍याएको छ,’ उनले भने ।


वाग्मती र कोगटेको पानी इपापञ्चकन्या दोभानमा १० देखि १३ मिटर उचाइको वेयर (बाँध) बनाएर सुरुङमार्फत इपापञ्चकन्याको बगरबेसीस्थित पावर हाउसमा पुर्‍याएर विद्युत्् उत्पादन गरिन्थ्यो । वाग्मतीको पानी लैजान ५५ मिटर लामो वेयर (बाँध) बनाइएको थियो । बाढीले बाँधको केही भाग भत्काउनुका साथै एम्प्रोच च्यानल गिटी र बालुवाले पुरेको छ । वाग्मती खोलामा निर्मित विभिन्न भौतिक संरचनाहरूमा समेत बाढीले क्षति पुर्‍याएको छ । त्यस्तै, ६ सय मिटर लामो पेनस्टक पाइपमाथि गरिएको ढलान पहिरोले क्षतिग्रस्त बनाएको छ ।


०७६ असार २७ मा विद्युत् उत्पादन ठप्प भएको आयोजनाको निर्माण कार्य केही दिनयता सुरु भएको छ । ‘बुधबारदेखि करिब ४० जनाले बाँध क्षेत्रमा मर्मत सम्भार कार्य गरिरहेका छन्’ साहले भने, ‘ सिस्नेरीबाट ड्याम क्षेत्रमा आउने र त्यहाँबाट विद्युत् गृहका जाने मोटरबाटो नै विभिन्न स्थानमा पहिरो खसेर अवरुद्ध भएकाले काम गर्न र उपकरणहरू पुर्‍याउन समस्या छ ।’ पुन: बाढी पहिरो गएन भने साउनको अन्तिम सातासम्ममा मर्मत सम्भार गरी विद्युत् पुन: उत्पादन गर्ने लक्ष्यमा आयोजनाका कर्मचारीहरू कस्सिएका छन् ।


‘पानी परेन भने २४ सै घण्टा काम गरेर सकेसम्म छिटो विद्युत् उत्पादन गरि छाडछौ’ मेनेजर साहले भने । मान्डु हाईड्रोपावर लिमिटेडले निर्माण गरेको वाग्मती साना जलविद्युत् आयोजनाले ०७५ चैत २ देखि विद्युत् उत्पादन गरेको भए पनि व्यावसायिक रुपमा नेपाल विद्युत् प्राधिकरणलाई चैत १९ मा विद्युत् बिक्री गरेको थियो । मकवानपुरको भीमफेदी ८ इपापञ्चकन्याको वाग्मती दोभानमा निर्मित विद्युत् आयोजनाको मुख्य सुरुङ २ हजार ४ सय २४ मिटर लामो छ । काठमाडौंबाट फोहोर बटुल्दै वगेको बागमती खोलाको पानीबाट इपापञ्चकन्याको बगरबेंसीस्थित विद्युत् गृहबाट २२ मेगाबाट विद्युत् उत्पादन गर्दै आएको थियो । वाग्मती खोलाबाट विद्युत् उत्पादन गर्ने यो पहिलो कम्पनी हो । नीजि क्षेत्रको माण्डु हाइड्रो पावर कम्पनी र चाईनिज कम्पनीको संयुक्त लगानीमा वाग्मतीको पानीबाट विद्युत् उत्पादन गरिएको हो । सिईच्वाङ हेईच्वाङ चाइनिज कम्पनीको सहयोगमा माण्डु हाइड्रो पावरले चार अर्व २५ करोडको लगानीमा बागमती साना जलविद्यूत आयोजनाको निर्माण गरेको हो । ०७२ जेठबाट सुरु गरेको आयोजनाले ०७५ चैतमा विद्युत् उत्पादन गरेको थियो ।


वाग्मतीको बाँध हुदै सुरुङबाट प्रतिसेकेन्ड १२.४ क्युसेक पानी बग्ने गर्छ । वाग्मतीमा निर्माण गरिएको बाँधबाट पावर हाउस, २ हजार ४ सय २४ मिटरको दूरीमा छ । मुख्य सुरुङ अर्थात टनेलको चौडाइ ३.७ र उचाइ ३.८ डाइमिटर रहेको छ । वाग्मती र कोगटेको पानी थुनेर सुरुङतर्फ लैजान बाँध निर्माण गरेको हो । बाढीले बाँध र पेनेष्ट पाईपमामात्र होइन प्राधिकरणको राष्ट्रिय प्रशारण लाईनमा जोडन निर्माण गरेको ४४ मध्ये १३ टावर उच्च जोखिम अवस्थामा छन् प्लान्ट मेनेजर साहले भने,‘स्थानीयवासीले टावर नजिकबाट मोटरबाटो बनाएको र त्यहीक्रममा पानी परेर पहिरो गई टावरहरू जोखिममा रहेका हुन ।’


माण्डु हाइड्रोपावरले नेपाल विद्यूत प्राधिकरणसंग वर्षायाममा प्रतियुनिट ४ रुपैयाँ ४० पैसामा र हिउँदमा ८ रुपैयाँ ४० पैसामा बिक्री गर्ने सम्झौता गरेको छ ।

उक्त आयोजनाले विद्युत् उत्पादन गरेर कुलेखानी प्रथमको सबस्टेसन धोर्सिङको राष्ट्रिय प्रशारण लाइनमा जोडेको थियो । आयोजनाको पावर हाउसबाट कुलेखानी प्रथमको सबस्टेसन साढे १३ किमिको दूरीमा रहेको छ । कुलेखानी प्रथमको सबस्टेसनसम्म उत्पादित विद्युत् पुर्‍याउन ४४ वटा टावर निर्माण गरेको थियो । उक्त आयोजनाको बाँध र सुरुङको निर्माणस्थलको सुरक्षाको निम्ति नेपाली सेनाको बेस क्याम्प पनि दोभानमा राखिएको छ ।

प्रकाशित : श्रावण १९, २०७६ ०८:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?