१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८२

नयाँ प्रविधिबाट फोहोरमैला व्यवस्थापन

कान्तिपुर संवाददाता

काभ्रे — फोहोरमैलाको समस्या भोगिरहेको बनेपा नगरपालिकाले व्यवस्थापनका लागि नयाँ प्रविधि सुरुवात गर्न लागेको छ । धुवाँ र ध्वनि प्रदूषणबिनै सबै प्रकारका फोहोरलाई एकैपटक जलाउन मिल्ने ‘इन्डस्ट्रियल वेट इन्सिनेटर’ जडान गरेर व्यवस्थापन गर्न लागेको हो ।

जापानी प्रविधि नेपाल भित्र्याएको हिटा ग्रुपको नेपालस्थित प्रबन्धक ग्याल्पो लामाका अनुसार, ‘सीएक्स ५’ मेसिनले एक दिनमा ८ घण्टाको दरले दैनिक ५ टन फोहोर जलाउन सक्छ ।


२ करोड ५० लाख मूल्य पर्ने मेसिनले फलाम र सिसाबाहेकका फोहोर जलाउन सक्छ । जलाउँदा निस्क्ने धुवाँलाई पानीको बाफले नियन्त्रण गर्ने भएकाले धुवाँ र गन्धसमेत नआउने उनले दाबी गरे । पानी, डिजेल र बत्तीबाट चल्ने मेसिनबाट निस्कने तातो पानी नुहाउन, लुगा धुन प्रयोग गर्न सकिने र फोहोर जलाएर निस्कने खरानीबाट ब्लक निर्माण गर्न सकिने लामाले सुनाए ।


‘धुलो, धुवाँ पनि नहुने र बहुउपयोगी देखेर यो प्रविधि प्रयोग गर्ने निर्णय गरेका छौं,’ कार्यपालिका बैठकबाट निर्णय भएको जानकारी दिँदै नगरप्रमुख लक्ष्मीनरसिं बादेले भने, ‘तत्कालको व्यवस्थापनका लागि यो निर्णयमा पुगेका हौं ।’ बनेपामा दैनिक १० टन फोहोर जम्मा हुने गरेको छ । श्रीखण्डपुरस्थित आफ्नो जग्गामा फोहोर थुपार्न नगरपालिकालाई स्थानीयले अवरोध गरेपछि काठमाडौं नगरपालिकाको सहकार्यमा ठेकेदारमार्फत् सिसडोलमा व्यवस्थापन गर्दै आएको छ ।


बस्तीको बीचमा र कृषिका लागि छुट्ट्याएको जग्गामा फोहोर जलाउने मेसिन राख्न लागेको भन्दै बनेपा–९ का स्थानीयले विरोध जनाएका छन् ।

प्रकाशित : श्रावण २४, २०७६ ०७:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?