कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बाँदरबाट बाली जोगाउन हम्मे

कान्तिपुर संवाददाता

सिन्धुली — सुनकोसी गडतीर र महाभारत क्षेत्रका किसानलाई बाँदरबाट अन्नबाली जोगाउन हम्मे छ । मौसमअनुसार लगाएको खाद्यान्न बाली, तरकारी र फलफूल बाँदरले नष्ट पार्न थालेपछि सामल खाजा बोकेर बिहानदेखि बेलुकासम्मै खेतबारीमै बस्न बाध्य छन् । फिक्कल, गोलान्जोर र सुनकोसी गाउँपालिकाका किसान बाँदरबाट बढी पीडित छन् । 

गाउँका सबै किसानले आलोपालो लगाई सामल खाजा घरबाटै लगेर दिनभरि खेतमा बाँदर धपाउनमै समय खर्चेको गोलन्जोर फिक्कल–५ दुर्गा बुर्जामगरले बताए । पानी ढिलो परेकाले यतिखेर मकैबाली जोगाउन मुस्किल हुने गरेको उनले दुखेसो पोखे ।

मकैमा मात्र हैन, खेतमा भएको तरकारी बाली हुलका हुल दैनिक आउने बाँदरले खाएर र भाँचेर नष्ट गरेको गोलान्जोर गाउँपालिका–४ तीनकन्याकी देवकी ठकुरीले सुनाइन् ।


उनले भनिन्, ‘बिहान हुन नपाउँदै हुलका हुल बाँदर नजिकैको जंगलबाट बारीमा पसेर फलफूल तथा तरकारी बाली नष्ट पार्छन् । बाँदर धपाउने साधन अभावमा निकै दुःख पाइएको छ ।’ उनका अनुसार कुकुर र लौरोलाई बाँदरले टेर्दैनन् । उनले भने, ‘हजारिया–रातो) बाँदरको बथानमा परियो भने उस्तै पर्दा एक्लै मानिसलाई झम्टिने गर्छ ।’


बाँदरकै कारण कतिपय किसानले खेती गर्नै समेत छाडेका छन् । तीमध्ये केहीले खाद्यान्न किनेर खान बाध्य छन् । किसानका अनुसार बाँदर धपाउन घरमा भएका भरुवा बन्दुक द्वन्द्वको समयमा तत्कालीन माओवादी र सुरक्षाकर्मीले लगेपछि सास्ती खेप्नुपरेको हो ।


‘दिनको एक पटक बन्दुक पड्काएर बाँदर धपाउने गरेका थियौं,’ अतीत सम्झँदै सुनकोसी गाउँपालिका ६ चैनपुरका रणमर्दन कार्कीले भने, ‘गाउँका सबै बन्दुक माओवादी र सुरक्षाकर्मीले लगेपछि सुरु–सुरुमा काठको नक्कली बन्दुक बनाएर बाँदर धपाएका थियौं,’ बाँदर आउनेबित्तिकै नक्कली काठको बन्दुक तेर्स्याएपछि भाग्थे । पछि बन्दुकको आवाज आउन छाडेपछि नक्कली बन्दुकलाई पनि बाँदरले टेर्नै छाडे ।’


धेरै नै सास्ती खेप्नु परेपछि केही वर्ष पहिले पासो थापेर कमलामाई नगरपालिका ३ तारुफेदीमा एक दर्जन बाँदर मारेको स्थानीय बासिन्दा बताउँछन् । बाँदर धपाउन अन्य वैकल्पिक उपाय नभएकाले द्वन्द्वको समयमा माओवादी र सुरक्षाकर्मीले लगेको भरुवा बन्दुक फिर्ता गर्नुपर्ने बाँदरपीडित किसानको भनाइ छ ।

प्रकाशित : श्रावण २७, २०७६ ०७:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?