कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

महाशिलामा एक घर एक रोजगार

दिप्ती सिलवाल

पर्वत — महाशिलाका अध्यक्ष राजुप्रसाद पौडेलले स्थानीय तहको चुनावी घोषणापत्र सार्वजनिक गर्दा मुख्य नारा थियो ‘एक घर एक रोजगार’ कार्यक्रम । विपक्षीले घोषणापत्रबारे खुलेर विरोध गरे । कसैले हावा गफ भन्दै खिसिटिउरी गरे । 

महाशिलामा एक घर एक रोजगार

‘मतदाताले विश्वास गरे । म र मेरा टिमलाई जिताए,’ अध्यक्ष पौडेलले भने, ‘सहयोगी टिम भएकाले घोषणापत्र कार्यान्वयन हुनेमा विश्वास बढ्यो ।’ चुनावी परिणाम आएलगत्तै गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, सबै वडाध्यक्ष, पालिका सदस्यलगायतले सपथग्रहणकै दिन यो कार्यक्रमलाई मुख्य जिम्मेवारीका रूपमा लिँदै सपथ खाए । कार्यक्रम घोषणा गरे ।


जेठ र असारसम्म कार्यक्रमबारे कार्यविधि बनाइयो । कार्यविधिअनुसार गाउँपालिकाले पहिलो चरणका लागि ६०० जना स्वयंसेवक माग गर्दै सूचना निकाल्यो । तर, त्यो सूचना कसैले पत्याएनन् ।


‘हामीले पहिलोपटक सूचना निकाल्दा मुस्किलले ५० जनाको आवेदन परेको थियो,’ प्रवक्ता एवं वडा नम्बर ५ का अध्यक्ष जविनविक्रम उचैठकुरीले भने, ‘पछि मेरै संयोजकत्वमा समिति बनाएर टोलटोलमा सचेतना अभियान सुरु गर्‍यौं । दोस्रोपटक म्याद थप्दा २०० जनाले आवेदन हाले ।’


त्यतिले पनि नपुगेपछि गाउँपालिकाले तेस्रो पटक मिति थपेर सूचना निकाल्यो । ०७४ मंसिरसम्ममा आवेदन दिनेको संख्या ४ सय पुग्यो ।


अध्यक्ष पौडेलका अनुसार पहिलो चरणमा सबै ४ सय जनालाई प्रारम्भिक तालिम दिइयो । ‘विभिन्न सेक्टरमा ३–३ दिनको तालिम दिइयो,’ पौडेलले भने, ‘एउटा समुदायमा आधारित उद्यमको विषय । अर्को प्राकृतिक प्रकोपबाट बच्ने, प्राथमिक उपचार, योग अभ्यास र उद्यमशीलताको विषयमा शारीरिक अभ्यासको ।’ एक महिनासम्म बिहान र बेलुका एक–एक घण्टाका दरले अवकाशप्राप्त सैनिक खटाएर तालिम दिएको अध्यक्ष पौडेल स्मरण गर्छन् ।


एक महिने तालिमपछि आवेदन दिएका सबै गाउँपालिकाको योजनामा सकारात्मक भए । त्यति मात्रै होइन गाउँपालिकाले खटाएका हरेक काममा खट्न तयार समेत भए । त्यसलगत्तै गाउँपालिकाले पालिकाभित्र आवश्यक पर्ने शिक्षा, स्वास्थ्य, कृषि, पशु, विद्युत्, सिकर्मी, डकर्मी, सडक, खानेपानी, गाउँ सुरक्षा र मन्टेश्वरी शिक्षाका ११ विषयमा आवेदकलाई रोज्न लगाइयो ।


आवेदकमध्ये ३७३ जना यो अभियानमा सहभागी भए । दुई साताअघि सबैलाई समेटेर गाउँपालिकाले सम्बन्धित विषयका जानकारलाई डाकेर विषयगत प्रशिक्षण शुरु गरिसकेको छ । तालिममा सहभागिलाई सैद्धान्तिक र व्यावहारिक अभ्यास दिइएको छ ।


अहिले महाशिलाका सडक, बाटोघाटो, वनजंगल, विद्यालय, सार्वजनिक स्थान जतासुकै ‘महाशिला विकास स्वयंसेवक’ लेखिएका पोशाक लगाएका युवाहरू भेट्न सकिन्छ । गाउँपालिकाले विकास स्वयंसेवक चिनाउन हरेकलाई कामको प्रकृतिअनुसारका उपकरण र पोसाक दिएर प्रयोगात्मक अभ्यासमा खटाएको छ ।


गाउँपालिकामा हाजिर भएदेखि तालिम नसकिने बेलासम्म सहभागीले दैनिक ४ सय भत्ता र खाजा तथा बाटोखर्च बापतको रकम पाउँछन् । त्यो रकमको व्यवस्थापन गाउँपालिकाले विकास खर्चबाट विनियोजन गरेको हो । चालु वर्षका लागि २ करोड ५० लाख रुपैयाँ विनियोजन गरेको छ ।


तालिम सकिएपश्चात सहभागीमध्ये ८ वटा शीर्षकमा सहभागीले मासिक १५ दिन काम गर्नुपर्छ । त्यसमा २ दिन बिदा हुन्छ । काम गर्ने दिन १३ । उक्त अवधि बिहान १० देखि दिउँसो ४ बजेसम्म गाउँपालिकाले खटाएको काम गर्नुपर्छ । त्यसबापत मासिक ६ हजार पारिश्रमिक पाउँछन् ।


सडक मर्मतपछि खाजासँगै सुस्ताउँदै स्वय‌सेवकहरु ।


शिक्षा स्वयंसेवक, मन्टेश्वरी शिक्षक र गाउँ स्वयंसेवकले महिनाभर नै काम गर्नुपर्छ । त्यसबापत उनीहरूले मासिक ९ हजार पारिश्रमिक पाउँछन् । विद्यालय स्वंसेवक, विद्यालय शिक्षक र गाउ स्वयंसेवक मासिक हुन् । यिनीहरूको संख्या ८३ जना छ ।


आगामी वर्षदेखि प्रदेश र केन्द्र सरकारसँग सहयोग मागेर उनीहरूको पारिश्रमिक १८ हजारसम्म पुर्‍याउने लक्ष्य लिएको छ । ‘स्थानीय, प्रदेश र केन्द्रले ३३/३३ प्रतिशत दिँदा १८ हजार तलब पुग्छ,’ प्रमुख प्रशासकीय अधिकृत किसान क्षत्रीले भने, ‘त्यो भनेको अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको पारिश्रमिक हो ।’ त्यसो हुन सकेमा २०–२५ हजारका लागि विदेशिनेको संख्या रोकिने उनले बताए ।


अर्को रोचक विषय गाउँपालिकामा १५ दिन काम गर्नेगरि स्वयंसेवक बन्न आउनेले बाँकी १५ दिन घरमै उद्यम गर्नुपर्छ । आफूले गर्ने उद्यमबारे आवेदकले निवेदनमै खुलाएको हुन्छ । अधिकांशले तरकारी, पशुपालन, नगदेबाली, कुखुरापालनलगायतका उद्यम सुरु गरिसकेको गाउँपालिकाले जनाएको छ । स्वयंसेवक भई उद्यम थाल्नेलाई लगानी गर्न आवश्यक पैसाको जोहो गाउँपालिकाले नै गरिदिन्छ ।


गाउँपालिकाले बनाएको नियमअनुसार वार्षिक दुई लाख आम्दानी हुनेगरी योजना बनाउनुपर्छ । ‘सबैको नयाँ–नयाँ विषयका उद्यम छन्,’ प्रवक्ता ठकुरीले भने, ‘उद्यम नगर्नेलाई टिममा समावेश गरिन्न ।’ उनका अनुसार तरकारी खेती गर्नेले ६ रोपनीमा खेती गर्नुपर्छ । कुखुरा पाल्नेले कम्तीमा १०० र गाई–भैंसी पाल्नेले कम्तीमा ५ वटा पाल्नैपर्छ । उत्पादित तरकारी र दूधजन्य पदार्थको बिक्री गाउँपालिकाले नै गरिदिन्छ । मुख्य बजार पोखरासम्म दूध र तरकारी लैजाने ढुवानीको व्यवस्था गरिसकेको गाउँपालिकाले जनाएको छ ।


विकास स्वयंसेवकमा १८ देखि ५५ वर्ष उमेर हद छ । अपाङ्गता भएका व्यक्ति, दलित जनजातिलाई प्राथमिकता छ । ४५ दिने तालिम सकिएपछि गाउँपालिकाले हरेक विषयगत समुहका विकास स्वयंसेवकलाई सम्बन्धित क्षेत्रमा खटाउने तयारी गरेको छ ।


तयारी अनुसार पालिकाभित्रका २७ वटा विद्यालयमा अंग्रेजी माध्यमबाट पठनपाठन गराउन २७ जना मन्टेश्वरी शिक्षक खटिने छन् । हरेक विद्यालयमा ५० जना विद्यार्थी बराबर एक जना शिक्षक गाउँपालिकाले पठाउँछ । त्यसका लागि २१ जना छन् ।


हरेक वडामा दुई–दुई जनाका दरले कृषि र पशु स्वयंसेवक खटाउँदैछ । खानेपानी र विद्युत् समस्या समाधान गर्न वडैपिच्छे एक–एक प्राविधिक खटिनेछन् । सडक मर्मत, पदमार्ग निर्माण, सामुदायिक वन काँटछाँट तथा सरसफाईमा आवश्यकता अनुसार स्वयंसेवक खटाउन तालिम चलिरहेको छ । त्यस्तै गाउँमा हुने मेलामहोत्सव, सामाजिक विकृति र मदिरा निषेधको व्यवस्थापन गर्न हरेक वडामा ४ जनाका दरले स्वयंसेवक परिचालित छन् ।


महाशिलामा करिब २ हजार ४ सय घरधुरी छन् । पहिलो चरणमा चार सयबाट सुरुवात गरेको गाउँपालिकाले अबको तीन वर्षभित्र सबै घरमा यो कार्यक्रम पुर्‍याइने दाबी गरेको छ । ‘सुरुवाती चरणमा हामीलाई कसैले पत्याएनन्,’ अध्यक्ष पौडेलले भने, ‘गरे हुन्छ भनेर खटिरहेका छौं । यो चरणसम्म सफल भएका छौं । यसैलाई निरन्तरता दिने हो । ३ वर्षभित्र सबै घरमा पुग्नेछौं ।’


गाउँपालिकाले आगामी ३ वर्षभित्र यहाँका प्रतिव्यक्ति आम्दानी २५ सय डलर पुर्‍याउने दाबी गरेको छ । त्यसका सूचकका रूपमा मदिरा नियन्त्रण, एक घर एक रोजगार र उद्यमलाई लिएको छ ।


तथ्यांकअनुसार गाउँपालिकामा बर्सेनि १२ करोडको मदिरा भित्रिन्छ । त्यसलाई रोक्दा मात्रै प्रतिव्यक्ति आय ५ सय डलर बढ्ने अध्यक्ष पौडेलले दाबी गरे । त्यसबाहेक एक घर एक रोजगार कार्यक्रम र घरघरै उद्यम सञ्चालन गर्दा करिव १५ सय डलर आम्दानी बढ्ने अनुमान छ ।


यो कार्यक्रमप्रति महाशिलावासी उत्साहित छन् । ‘सुरुसुरुमा सुन्दा त पत्याएकै थिइनँ,’ सडक मर्मतको प्रयोगात्मक अभ्यास गरिरहेकी कमला पौडेलले भनिन्, ‘अहिले आफै भर्ना भएर काम गर्नपाउँदा खुसी लागेको छ । घरमै खाना खाएर महिनामा ६ हजार हाम्रा लागि ठूलो कुरा हो ।’ अहिले हरेक वडामा १० जनाको समूहले सडक मर्मतको प्रयोगात्मक अभ्यास लिइरहेको छ ।


हरेक टोलीले गाउँपालिकाभित्रका सडकमा कच्ची नाली बनाउने, खाल्टाखुल्टी पुर्ने काम गरिरहेका छन् । कृषि स्वयंसेवकका टोलीप्रमुख रामलाल अधिकारीले आफ्नो गाउँ आफै बनाउने कार्यक्रमले उत्साहित भएको प्रतिकृया दिए । स्वयंसेवक टोलीका सबैले गाउँमै उत्पादिद मकै, भट्ट, कोदो लगायतका खाजा मात्रै खानुपर्ने नियम छ । त्यसो गर्दा आयातित खाद्यान्नमा जाने रकम समेत गाउँमै रहने कुरा टोलीमा सहभागिले राम्रोसँग बुझेका छन् ।


चुनौती पनि छ

गाउँपालिकाले एक घर एक रोजगार कार्यक्रम सुरु गर्दा ४०० जनाले आवेदन दिएका थिए । तर, तालिममा सहभागि हुन ३७३ जना मात्रै आए । अनुपस्थितमध्ये केहीले घरयासी कारण देखाए । केहीले गाउँपालिकाप्रति विश्वास गरेनन् ।


तालिम सिकेकामध्ये केहिको सीप सिकेर विदेश हानिने सोचसमेत बनाएका छन् । यही गतिमा जाँदा तीन वर्षसम्म एक तिहाइले काम छाड्ने अनुमान गाउँपालिकाको छ । ‘विदेश गए पनि तालिम सिकेर जाँदा हामीलाई नोक्सान हुँदैन,’ अध्यक्ष पौडेलले भने, ‘अन्यत्र रोजगारी नपाउने त यहाँ बस्छन् ।’ सबै घर समेट्ने योजना भए पनि वैदेशिक रोजगारीमा जाने, अध्ययन र सफल योजनामा अघि बढ्नेलाई भने नरोकिने गाउँपालिकाले जनाएको छ ।


कानुनी उल्झनले तनाव

एक घर एक रोजगार कार्यक्रमअन्तर्गत गाउँपालिकालाई सबैभन्दा धेरै गाउँ रक्षक आवश्यक छ । गाउँ रक्षक लाई महाशिलाले संविधानमा व्यवस्था भएबमोजिम ‘नगर प्रहरी’ को अवधारणा अनुसार प्रशिक्षण दिनेगरी गृहमन्त्रालयमा अनुमति मागेको थियो ।


तर, गृहमन्त्रालयले तत्काल त्यो व्यवस्था नभएको भन्दै रोक्यो । नगर प्रहरीको शीर्षकलाई परिमार्जन गर्दै ‘गाउँ रक्षक’ उत्पादन गर्ने अनुमति माग्दा पनि रोकियो । ‘प्रहरीको अवधारणाअनुसार जाँदा प्रहरीको सहयोग चाहिने,’ प्रवक्ता ठकुरीले भने, ‘प्रहरीले तालिम दिन नमिल्ने भनेपछि हामी खच्किएका छौं ।’ गाउँ स्वयंसेवकका रूपमा तालिम दिन पनि प्रहरीले अनुमति नदिएपछि केही स्वयंसेवकको प्रकृया अघि बढाउनै नसकिएको गाउँपालिकाले जनाएको छ ।

प्रकाशित : पुस १७, २०७५ १०:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?