कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

खर्च अभावले बिरामीको बिचल्ली

हात–गोडा भाँचिएकी छोरीलाई उपचार गराउन नसक्दा वृद्धा चिन्तित
हरिराम उप्रेती

गोरखा — उपचार खर्च अभावले गोरखा अस्पतालमा एक बिरामीको बिचल्ली भएको छ । गोरखा नगरपालिका–४ पीपलथोककी ५५ वर्षीया छायाँदेवी परियार गत शुक्रबार लडेर घाइते भइन् । आइतबार उनी उपचारार्थ गोरखा जिल्ला अस्पताल आइन् । 

खर्च अभावले बिरामीको बिचल्ली

देब्रे हात र खुट्टा भाँचिएकी परियारलाई थप उपचारका लागि गोरखा अस्पतालले मंगलबार चितवन रिफर गर्‍यो । आकस्मिक कक्षको बेड ३ मा रहेकी उनले बुधबार पनि अस्पताल छाडेकी छैनन् । ‘एक रुपैयाँ पैसा पनि छैन,’ उनले भनिन्, ‘डाक्टरले चितवन गएर अप्रेसन गर्नुपर्छ भनेर लेखिदिएका छन् । म गरिबले त्यति टाढा पुगेर दबाइ गर्ने पैसा कहाँबाट पाउनु ।’


आफन्त र छिमेकीसँग उपचारका लागि हारगुहार गर्दा पनि पैसा नपाएको उनले गुनासो गरिन् । ‘खाटबाट लड्दा ज्यानले च्यापेर खुट्टा र हातमा मर्का पर्‍यो । साँझका बेला तत्कालै अस्पताल आउन पनि सकिँन,’ उनले भनिन्, ‘दुई/तीन दिनसम्म थला परेर ऐया आत्थु भन्दै बिताएँ । सक्दै नसकेपछि अस्पताल आएकी हुँ ।’


घाइते छायाँदेवीको रेखदेखमा ८२ वर्षीय आमा पुतली खटिएकी छन् । ‘श्रीमान् पनि हिँड्न सक्नुहुन्न । निबेक गरेर बिहान–बेलुकीको गर्जो टरेको थियो,’ छायाँदेवीले भनिन्, ‘दिन लागेपछि के लाग्दो रैछ र । उपचार नगरे खुट्टा र हात पनि नचल्ला ।’


छोरीलाई उपचार खर्च जुटाउन नसक्दा पुतली पनि चिन्तित छिन् । ‘१५ पुसको दिन लट्टे र मासु लिएर भेट्न आएकी छोरी त हल न चल भएर बसेकी रहिछ,’ पुतलीले भनिन्, ‘तीन दिनसम्म खानु न पिउनुको अवस्थामा देखेपछि चाड पनि खल्लो भयो । चानचुन पैसा थियो ट्याक्सी भाडा तिरेर १६ गते अस्पताल ल्याएँ । अहिले यहाँबाट पनि अन्त लानुपर्छ भनेका छन्, चितवनसम्म पुग्ने गाडीभाडा पनि छैन ।’


छोरीको उपचार खर्च जुटाउन प्रयास गरे पनि सफल नभएको उनले बताइन् । ‘दुई/तीन घण्टा हिँडेर हिजो ज्वाइँलाई भेट्न गएँ । दुई/तीन हजार भए पनि खोज्न भनेको छु, उहाँ पनि हिँड्न सक्नुहुन्न,’ उनले दु:खेसो पोख्दै भनिन्, ‘म बूढी मान्छे जाडोका बेला यहाँ अस्पताल बस्न पनि गाह्रो छ ।’


गरिबीकै कारण छोरीले उपचार नपाए गरेर खाने हात पनि नचल्ने भन्दै उनले चिन्ता जनाइन् । हाडजोर्नी विशेषज्ञ नहुँदा छायाँदेवीलाई रिफर गर्नुपरेको अस्पतालले जनाएको छ । ‘१७ गते रेफर गरेका हौं,’ अस्पतालको आकस्मिक कक्ष इन्चार्ज सुजिता अमात्यले भनिन्, ‘पैसा नभएर उहाँहरू विशेषज्ञ डाक्टरसम्म पुग्न सक्नुभएको छैन । उहाँको अवस्था हेर्दा विशेषज्ञको सल्लाह लिएर थप उपचार गर्नैपर्छ ।’


खुट्टाको हड्डी बांगिएको उनले बताइन् । ‘बिरामीकी आमाबाहेक अन्य नातेदार पनि आएका छैनन्,’ अमात्यले भनिन्, ‘अस्पतालबाट पाउने नि:शुल्क औषधि उपचार गरिरहेका छौं ।


खुट्टाको प्लास्टर यहींबाट नि:शुल्क गरिदियौं ।’ बिरामीको आर्थिक अवस्था कमजोर देखेपछि यहाँका चिकित्सक पनि अन्योलमा परेका छन् । ‘साधारण बिरामी भए विशेषज्ञलाई देखाउन जरुरी हुन्थेन । उमेर पनि धेरै नै छ, उहाँकै सुविधाका लागि विशेषज्ञलाई देखाउन भनेका हौं,’ उनले भनिन् ।

प्रकाशित : पुस १९, २०७५ ०९:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?