कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

खरका छाना विस्थापित गरिँदै

नगरसभाले खरका छानालाई विस्थापित गरी जस्तापाता लगाइदिने नीति तथा कार्यक्रम अगाडि

स्याङ्जा — स्वास्थ्यको दृष्टिकोणले खरको छाना निकै राम्रो मानिन्छ । आगलागी हुने सम्भावना पनि त्यति नै बढी हुन्छ । बूढापाकाले काम गर्न नसक्ने, युवा जनशक्ति विदेशिने भएपछि अर्कातर्फ खर छाउने दक्ष कामदारको अभाव छ । 

यसकारण वालिङ नगरपालिकाले नगरभित्र रहेका सबै खरका छाना विस्थापित गर्ने भएको छ । स्मार्ट सिटीको अवधारणा लिएर अगाडि बढेको नगरपालिकाको पाँचौं नगरसभाले नगरभित्र रहेका खरका छानालाई विस्थापित गरी जस्तापाता लगाइदिने नीति तथा कार्यक्रम अगाडि बढाएको हो ।


सभाले नगरभित्रका १४ वटै वडामा खरका छाना भएका घरहरूको लगत लिने र नगरभित्र खरका छानारहित अभियान सञ्चालन गर्ने नीति तथा कार्यक्रम पारित गरेको नगरप्रमुख दिलीपप्रताप खाँणले जानकारी दिए । ‘गरिबीका कारण समाजमा विद्यमान रहेको हेय मानसिकता हटेर जाने विश्वास लिएका छौं,’ उनले भने ।


खरको छानाप्रतिको जोखिमलाई मध्यनजर गर्दै नगरपालिकाको आर्थिक सहयोगमा जस्तापाता लगाइदिने योजना बनाएको नगरप्रमुख खाँणको भनाइ छ । ‘कतिपय घरपरिवार खरको छाना पनि फेर्न नसक्ने अवस्थामा हुनुहुन्छ’ उनले भने, ‘खरका छाना भएकाहरू गरिब हुन् भनी फरक ढंगले हेर्ने र हेप्ने प्रवृत्तिको अन्त्यका लागि पनि यो अभियान सञ्चालन गर्न लागेका हौं ।’ चालु आर्थिक वर्षमा खरले छाएका घरहरूको लगत संकलन गरी आगामी आर्थिक वर्षको सुरुदेखि नै अभियानको थालनी गर्ने वालिङ नगर कार्यपालिकाले जनाएको छ ।


गुलावी रंगमा सजिँदै वालिङ

स्मार्ट सिटीको अवधारण लिएर अगाडि बढेको वालिङ नगरपालिका गुलावी रंग (पिंक कलर) मा सज्जिएको छ । नगरपालिकाले कलरबाट आफ्नो पहिचान बदल्न थालेको छ । वालिङ नगरपालिकाअन्तर्गत ग्रामीण वा सहरमा रहेका प्रत्येक घरमा पिंक कलर लगाउन थालिएको छ । नगरभित्रका प्रत्येक घरमा पिंक कलर लगाउने कार्य २० प्रतिशत सम्पन्न भएको वालिङ नगरप्रमुख दिलीपप्रताप खाँडले बताए ।


‘घरमा लगाइएका विभिन्न कलर हेर्दा त्यति राम्रो देखिँदैन’ नगरप्रमुख खाँडले भने, ‘नगर कार्यपालिकाले स्मार्ट वालिङको अवधारण अगाडि बढाइएको छ । ‘स्र्माट सिटी र स्र्माट भिलेज’ का साझेदारी र छुट्टाछुट्टै अवधारण बनाएर काम गरिरहँदा यस नगरभित्र पर्ने सम्पूर्ण घरको बाहिरी भित्तामा पिंक कलर लगाउने निर्णण गरेका हाैं । निर्णयबमोजिम काम अगाडि बढिरहेको छ ।’


उनले घरभित्र घरधनीको स्वेच्छाले कलर लगाए तापनि घरबाहिर भने नगरपालिकाको निर्णय बमोजिम कलर लगाउनुपर्ने बताए । नगर कार्यपालिकाका अनुसार प्रत्येक गाउँ/गाउँले कलर रोज्ने र एउटा गाउँमा एउटै कलर लगाउने निर्णय भएको थियो ।


नगरसभाको बैठकमा एउटै कलर लगाउने निर्णय भएको कार्यपालिकाले बतायो । घरबाहिर लगाइने कलर भने नगरपालिकाले सहयोग गर्नेछ । ‘पहिलो चरणमा हामीले ५० प्रतिशत कलर अनुदानमा दिन्छौं,’ प्रमुख खाँडले थपे, ‘आफूखुसी कलर लगाउने चलन छ । नियममा बसाल्नका लागि पनि सुरुसुरुमा सहयोग गर्नुपर्छ ।’


उनले दस वर्षभित्र स्र्माट वालिङको कार्य पूरा गर्ने लक्ष्य स्वरूप रङ लगाउने कार्य पनि एक रहेको बताए । पुराना घरहरूमा लगाइएको कलर अहिले पनि यत्तिकै छ । अब कलर लगाउने बेला पिंक नै लगाउनुपर्ने नगरप्रमुख खाँड बताउँछन् । कार्यपालिकाले नयाँ घरको हकमा भने पिंक कलर नलगाएसम्म घर नक्सापास नै रोकिदिएको छ । पिंक कलर सद्भावको प्रतीक भएकाले पनि नगरभित्र लगाइने कलर पिंक नै रोजिएको खाँडले बताए ।

प्रकाशित : पुस ३०, २०७५ ०९:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?