कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

थालियो मानहुङकोट विकास योजना

दमौली — प्राकृतिक दृश्यावलोकनका लागि घुमन्तेहरू मानहुङकोट उपयुक्त मान्छन् । व्यास नगर क्षेत्रभित्र नै पर्ने यो डाँडामा पर्यटकीय आकर्षणका पूर्वाधार छैनन् । 

थालियो मानहुङकोट विकास योजना

व्यास नगरपालिकाले अब पर्यटन प्रवद्र्धनका लागि पूर्वाधार विकाससम्बन्धी गुरुयोजना अगाडि बढाएको छ । दमौलीको चापाघाटदेखि मानुङकोटसम्म ८ किमि सडकको ट्रयाक खुलेको छ । स्तरोन्नति भएको छैन । खानेपानीको पनि चरम समस्या छ ।


विकासका पूर्वाधार नबन्दा गाउँ रित्तिने अवस्था छ । सुविधा खोज्दै पुराना बसोबासी बसाइँ जाने क्रम बढेपछि नगरपालिकाले गुरुयोजना अघि सारेको हो । ‘अब चापाघाटदेखि मानहुङकोटसम्मको ६ किमिमा कालोपत्रे गर्छौं,’ नगरप्रमुख बैकुण्ठ न्यौपानेले भने, ‘विकासको मेरुदण्ड सडक हो । स्तरोन्नतिसँगै अरू पूर्वाधार निर्माणका पनि योजना छन् ।’


सडक स्तरोन्नतिका लागि गुरुयोजनाअनुसार ठेक्काको प्रक्रिया पनि सुरु गरिएको उनले बताए । ‘मानहुङकोटको सडकका लागि मात्रै १० करोड रुपैयाँ छुट्याएका छौं,’ उनले भने, ‘लिफ्टिङबाट खानेपानी व्यवस्थापन गर्ने र भ्युटावर बनाउने पनि योजना छ ।’ क्रमागत योजनामा पारेर मानहुङकोटमा पूर्वाधार विकासको काम नगरपालिकाले अघि बढाउने उनले बताए । ‘गुरुयोजनाअनुसारका सबै पूर्वाधारमा लगानी गर्न नगरपालिकाले मात्रै सक्दैन,’ उनले भने, ‘खानेपानी योजनाका लागि प्रदेश सरकारसँग बजेट माग गरेका छौं ।’


धारापानीमा ट्यांकी निर्माण गरेर पानी संकलन गरी लिफ्टिङ प्रणालीबाट वितरणको व्यवस्था मिलाइने उनले बताए ।

पूर्वाधार विकासको योजनामा काम सुरु भएपछि बसाइँसराइको लर्को थमिने व्यास–५ का वडाध्यक्ष मोहनकुमार श्रेष्ठले बताए । ‘३० लाखको लागतमा भ्युटावर बनाउने योजना छ,’ उनले भने, ‘पूर्वाधार विकाससँगै जनताको आयआर्जन वृद्धि हुने सम्भावना छ ।’ नगरपालिकाले मानहुङकोटमा केबुलकार सञ्चालनको सम्भाव्यता अध्ययन पनि अघि बढाएको उनले बताए ।

प्रकाशित : माघ १, २०७५ ०९:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?