कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४०

गाउँमै चियाको व्यावसायिक उत्पादन

दोर्दी गाउँमा चिया उत्पादन गरेर मुलुकका मूख्य सहरदेखि विदेशसम्म बिक्री गर्दै
चियाको आम्दानी महिनाको सरदर १ लाखसम्म

लमजङ — लमजुङका एक किसानले गाउँमै व्यावसायिक चिया उत्पादन थालेका छन् । उत्पादित चिया बेंसीसहरबाट बिक्री थालिएको छ । दोर्दी गाउँपालिका–८ दुवारगाउँका ४४ वर्षीय ओमलाल गुरुङले गाउँमा उत्पादन गरेको चिया बेंसीसहरमा बिक्री थालेका हुन् ।

गाउँमै चियाको व्यावसायिक उत्पादन

बेंसीसहर नगरपालिका–८ झिंगेखोलामा एउटा सटर भाडामा लिएर उनले चियाको होलसेल तथा खुद्रा बिक्री केन्द्र स्थापना गरेका छन् । ८ वर्षअघि इलामबाट २० हजार गुम्ती चियाका बिरुवा ल्याएर उनले चियाको परीक्षण खेती थालेका थिए ।

२०६७ जेठबाट चियाखेती थालेका उनले डेढ सय रोपनीमा चिया खेती गर्दै आएका छन् । २ वर्षयता चिया उत्पादन गरी बजारमा पुर्‍याउँदै आएका उनले बुधबारदेखि बेंसीसहरमा चिया बिक्री केन्द्र स्थापना गरी चिया बिक्री थालेका हुन् । उनले २ वर्षयता आफैं चियाका बिरुवा उत्पादन गरेर बिक्रीसमेत गर्दै आएका छन् ।

यसअघि केही मात्रामा चिया काठमाडौं लगेर बिक्रीवितरण गर्दै आएका उनले पछिल्लो समय तयारी चिया प्याकेटमा राखेर बिक्री गर्न थालेका छन् । क्रिष्टा टी प्रालिमार्फत बजारमा आएको ‘लमजुङ टी’ को प्याकेट एक वर्षयता हरेक ३/३ महिनामा अमेरिकाका एक व्यवसायीले ५० किलोग्राम र जर्मनका एक व्यवसायीले ४० किलोग्राम लाने गरेको उनले बताए । ‘अहिले महिनाको १ सय किलो चिया उत्पादन हुन्छ । गाउँमा खपत भएर बाँकी रहेको चिया काठमाडौंका पसलमा लाने गरिएकोमा उत्पादन बढ्दै गएपछि आफ्नै जिल्लामा बिक्री सुरु गरेका छौं,’ उनले भने ।

चियाका अलावा उनले लमजुङ टीको लोगो अंकित पेपर कप, हार्ड कप र टीसर्ट बनाएका छन् । चिया खान रुचाउनेलाई बिक्री केन्द्रमै प्रतिकप १० रुपैयाँमा बिक्री समेत गरेका छन् । बेंसीसहर नगरपालिका प्रमुख गुमानसिंह अर्यालले चिया बिक्री केन्द्रको उद्घाटन गर्दै जिल्लामै व्यावसायिक चिया उत्पादन हुनु सुखद पक्ष रहेको बताए । ‘आफ्नै गाउँघरमा अर्गानिक खाद्यवस्तु उत्पादन गर्ने र केही गर्छु भनेर गाउँ फर्केका युवालाई यहीं टिकाउन जरुरी छ । हामी युवा व्यवसाय लक्षित कार्यक्रम सञ्चालन गरिरहेका छौं’ उनले भने ।

आफ्नै गाउँघरमा व्यवसाय सञ्चालन गर्नेलाई स्थानीय सरकारले सहयोग गर्ने र गर्दै आएको उनले बताए । चियाको आम्दानी महिनाको सरदर १ लाख रुपैयाँ हुने गरेको उनले बताए । झट्ट हेर्दा हरित चिया (ग्रिन टी) जस्तै देखिने उनको चियाको रंग गाढा रातो छ । एकपटक चियापत्ती राखेपछि ३ पटकसम्म उमालेर पिउन सकिने उनले बताए ।

‘चिया उत्पादन गर्न मात्रै गाह्रो हो । खोसाखोस हुन्छ । मागअनुसार बेंसीसहरमा चियाको होलसेल तथा खुद्रा बिक्री थालेका छौं,’ उनले भने । गाउँमै चिया उत्पादनपछि स्थानीयले बजारका चिया प्रयोग गर्न छाडेका छन् । ‘हामी गाउँकै चिया पिउँछौं । सहरका गाउँलेले समेत बजारको चिया किनेर खाँदैनौं,’ बेंसीसहर बस्दै आएका ओमलालका कान्छोबुबा कर्णबहादुर गुरुङले भने ।

प्रकाशित : माघ ३, २०७५ ०९:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?