कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बलेवामा काटिएका रूख अलपत्र

बागलुङ — एक वर्षअघि बलेवास्थित विमानस्थल संचालनका लागि भन्दै काटिएका रूख अझै छरपष्ट छाडिएका छन् । नारायणस्थानको 
बलेवा एयरपोर्ट संचालनका लागि ती रूख काटिएका हुन् । 

बलेवामा काटिएका रूख अलपत्र

सामान्यतया संरक्षित वनका रूख काट्न डिभिजन वन कार्यालयको अनुमति लिनुपर्छ । लिएर कटान गरेपछि त्यसको तथ्यांक बनाउनुपर्ने, निकासी गर्ने भए सोहीअनुसारको राजस्व तिर्नुपर्ने व्यवस्था छ ।


आन्तरिक रूपमा खपत गर्ने भए सामुदायिक वन उपभोक्ता समितिले आम भेला गरेर उपयोग गर्ने नीति बनाउनुपर्ने प्रावधान छ । तर, एक वर्षअघि बलेवास्थित विमानस्थल संचालनका लागि भन्दै काटिएका रूख अझै छरपष्ट छाडिएका छन् । नारायणस्थानको बलेवा एयरपोर्ट सञ्चालनका लागि ती रूख काटिएको थियो । बलेवा विमानस्थल सदरमुकामदेखि झण्डै १० किमि दक्षिणमा छ । जहाजमा चढ्नुपर्छ भन्दै विस २०१६ देखि तीन वर्ष लगाएर स्थानीयको प्रयासका १ हजार १ सय मिटरको विमानस्थल निर्माण भएको थियो ।


२०१८ सालदेखि सञ्चालन भएको विमानस्थल विसं २०४८ मा पोखरा–बागलुङ राजमार्ग बनेपछि बन्द भएको थियो । सडक सञ्जालले बलेवा नजोडिँदा जहाज चल्न सकेको थिएन । बागलुङ नगरपालिका र नागरिक उड्ययन प्राधिकरणबीच गत वर्ष सातामा दुई उडान भर्ने सहमति भएपछि असारमा एकाध जहाजले उडान भरेका थिए । २६ वर्षदेखि उपयोगविहीन बलेवा हवाईमैदानमा हिजोआज फेरि जहाज चल्न छाड्यो ।


विमानस्थलको कच्ची धावनमार्ग फेरि गौचरनमा परिणत भएको छ । जहाजलाई उडान–अवतरणका लागि आवश्यक भन्दै काटिएका सल्लाका रूख त्यसै अलपत्र छन् । बलेवास्थित डुगाचौर सामुदायिक वनको ४ सयभन्दा बढी रूख जहाज चलाउनका लागि कटान गर्नुपर्ने भन्दै नागरिक उड्ययन प्राधिकरणले आग्रह गरेपछि स्थानीयले काटेका थिए । ‘जहाज चलाउनका लागि रूख काट्नै पर्ने सल्लाह पाएपछि ढालिएको थियो,’ वडाध्यक्ष चक्रबहादुर खत्रीले भने, ‘जहाज पनि नियमित भएन, रूखहरू कसरी व्यवस्थापन गर्ने अन्योल भएको छ ।’ हरेक काम गर्दा डिभिजन वन कार्यालयको अनुमति लिनुपर्ने बाध्यताले ढलेका रूख जस्ताको तस्तै रहेको उनले बताए ।


डिभिजन वन अधिकृत गोविन्दप्रसाद दाहालले भने समूहले निर्णय गरेर सामुहिक कामका लागि फर्निचर र दाउरा बनाउन सक्ने बताए । ‘व्यक्तिले आफूखुसी नगरी सामुहिक भेलाबाट सार्वजनिक हितका काम गर्न रोक लाग्दैन,’ उनले भने, ‘निकासी पैठारी गर्नुपर्दा भने कार्यालयको प्रतिनिधिले तोकेका गोला र नम्बर लगाएपछि राजस्व तिरेर मात्र पठाउन सकिन्छ ।’ सार्वजनिक हितकै लागि काटिएकाले समूहले मिलेर व्यवस्थापन गर्नुपर्ने उनले बताए ।


स्थानीयलाई सहज हुनेगरी सल्लाह दिए पनि कानुनी झन्झट भन्दै अलपत्र छाडेको भेटेको उनले बताए । ‘जंगल मास्नु हुँदैन भन्ने थाहा छ तर, सार्वजनिक हितमा कटान भएको हो भने व्यवस्थापन पनि सार्वजनिक रुपमै गर्नुपर्छ,’ उनले भने, ‘अवैध कटानी र निकासीलाई भने हामीले कडाई गर्ने हो ।’ लाखौं रुपैयाँ आम्दानी हुने अवस्थाका ती रूखहरू अहिले कालीगण्डकी करिडोर आसपासमा अलपत्र छन् । कतिपय रूखहरू कुहिएका छन् भने कतिपय चोरी भएको अनुमान समेत छ ।


सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष सोर्केन्द्रबहादुर खत्रीले भने स्थानीय उपभोगका लागि लिलामीको तयारी गरेको बताए । ‘निकासी पैठारी गर्नका लागि वन कार्यालयबाट अनुमति पाउन सकिएन । त्यसैले गाउँघरमै खपत गर्ने तयारी छ,’ उनले भने, ‘पटक–पटक डिभिजन वन अधिकृत फेरिइरहने कारणले हाम्रा प्रक्रियाहरू अलपत्र परेकोले हैरानी भयो । फर्निचरका लागि खरिद गर्न खोज्ने धेरै भए पनि प्रक्रियागत झन्झटले बेच्न सकेनौं ।’ बिक्री गर्दा लाखौं आम्दानी हुने भए पनि नसकेको उनले टिप्पणी गरे ।


उपभोक्ताका लागि भने घर–गोठ बनाउन मिल्ने केही काठ र दाउराको रुपमा बिक्री गर्ने उनले बताए । बिक्रीबाट आएको रकमलाई समुहमै आम्दानीको रूपमा संकलन गर्ने योजना उपभोक्ताले बनाएका हुन् । हाल बलेवा विमानस्थलमा जहाज चलेको छैन । बागलुङ नगरपालिकाले नागरिक उड्ययन प्राधिकरण र नेपाल एयरलाइन्ससँग छलफल गरेर भाडादर घटाउने तथा नियमित उडान भर्ने गरी

तयारी गरेको बागलुङ नगरप्रमुख जनकराज पौडेलले बताए ।

प्रकाशित : माघ ५, २०७५ ११:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?