कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सामूहिक बाख्रापालनको लहर

सहकारी स्थापना गरेर व्यावसायिक बाख्रापालन
बाख्रापालनले आम्दानी दिन थालेपछि महिला आत्मनिर्भर

दमौली — तनहुँको घिरिङमा महिलाले सामूहिक बाख्रापालन सुरु गरेका छन् । घिरिङ–५ साभुङभगवतीपुरमा स्थानीय सहकारीको सहयोमा उनीहरूले समूह बनाई बाख्रा पाल्न थालेका हुन् । 

सामूहिक बाख्रापालनको लहर

‘जीवनस्तर उकास्न बाख्रापालन पनि सजिलो माध्यम भएको छ,’ भगवतीपुर सामाजिक उद्यमी महिला सहकारीकी अध्यक्ष सुनमाया श्रेष्ठले भनिन्, ‘बाख्रापालन अरू जन्तु पालेजस्तो गाह्रो छैन । परम्परागत तरिकाबाट गरिआएको कामलाई सुधारेर समूहमा सुरु गरिएको हो ।’ ८ सय ८० जना महिला यस्ता समूहमा आबद्ध रहेको उनले बताइन् ।


‘हामीले महिला सहकारी स्थापना गरेर व्यावसायिक बाख्रापालनलाई अघि बढाएका हौं,’ उनले भनिन् । समूह आबद्धमध्ये पाँच सय जनाले व्यावसायिक बाख्रापालन गरिरहेको उनले बताइन् । एक जनाले १० देखि ४५ वटासम्म बाख्रा पालेका छन् । घरायसी काममै दिन बिताउने महिलाहरूलाई बाख्राको स्याहारले आम्दानी पनि दिन थालेको छ । कुँडोपानी दिने, घाँसपात खोजेर ल्याउने र खोरको सरसफाइमा लागेका महिला आम्दानी पनि हात पर्न थालेपछि आत्मनिर्भरताको बाटोमा छन् ।


‘समूहमा आबद्ध नहुँदा गाउँका महिला बोल्न डराउने गरेका थिए,’ अध्यक्ष श्रेष्ठले भनिन्, ‘चाहिँदा कुरा अहिले निर्धक्क बोल्न सक्ने भएका छन् । जिज्ञासा र समस्या ढुक्कले सबै अगाडि राख्छन् ।’ दुई/चार पैसाका लागि पनि श्रीमानको मुख ताक्नुपर्ने अवस्थाका महिला अहिले उल्टै आफूले दिनसक्ने भएको उनले बताइन् । खसीबोका बिक्री गरेर घर–व्यवहार चलाउन सक्षम भएको उनको भनाइ छ ।


‘यति छिटो गाउँका दिदीबहिनीको आनीबानी र आयआर्जनमा परिवर्तन होला जस्तो लागेको थिएन,’ सहकारी कोषाध्यक्ष विष्णु रानाले भनिन्, ‘समूहमा मिलेर गरे परिवर्तन सम्भव रहेछ । महिलाहरू निकै उत्साहित छन् ।’ एक जनाले बाख्रा बेचेर वर्षमा डेढ लाख रुपैयाँसम्म आम्दानी गरिरहेको उनले बताइन् ।


महिलाहरू सहकारीमा मासिक बचत गर्छन् । ऋण लिएर बाख्रापालन गर्छन् । बाख्रा बेच्दा आएको पैसाले ऋणको किस्ता तिर्छन् । सहकारीले सामुहिक जमानीमा ऋण दिने गरेको छ । महिलाहरू आफैंले आफ्ना लागि गठन गरेको सहकारी भएका कारण समूह–समूहमा ऋण लिन र किस्ता तिर्न पनि सजिलो छ । सहकारीका समूहमा आबद्ध महिलामध्ये दलितको संख्या १ सय ५० छ ।


‘समूहमा मिलेर काम गरेका छौं,’ स्थानीय बिना विकले भनिन्, ‘समूहमा काम गर्दा धेरै सजिलो हुने रहेछ । ज्याला मजदुरी नगरे चुलो नबल्ने घरमा आम्दानीको अर्को बाटो खुलेको छ ।’ महिला समूहका कारण छुवाछूतको भेदभाव पनि कम हुँदै गएको उनले बताइन । ‘चाडबाड मान्न ऋण खोज्नु नपर्ने दिन आएको छ,’ उनले भनिन्, ‘बाख्राको डाक्टर चाहिं गाउँमा नहुँदा अलि समस्या छ । बिमार हुँदा फोन गरेर बोलाउनुपर्छ ।’


बाख्रापालनको लहर चलेको गाउँपालिकामा तीन जनामात्र पशु प्राविधिक छन् । व्यवस्थापनमा समस्या आएको गाउँपालिका अध्यक्ष रनबहादुर रानाले बताए । ‘चाहिएको जति प्राविधिक जनशक्ति भएनन्,’ उनले भने, ‘कर्मचारी माग गरेका छौं ।’


गाउँपालिकाको साभुङ हटिया, धेनुङ, मोहोरिया, ढाकार्दी, किटिहिया, मोचाबारी, मानपुर, पुरकोट, फूला र सिफलुङ लगायतका गाउँमा महिलाले बोयर र खरी जातका बाख्रापालन गर्दै आएको उनले बताए । यहाँका खसीबोका स्थानीय बजार, खैरेनीटार र पोखरामा बिक्री हुँदै आएको छ । व्यापारीको मागका आधारमा गाउँलेले बसमा बाख्रा पठाउने गरेका छन् ।


गाउँका महिलाले २४ लाख रुपैयाँबाट २०७२ मा महिला सहकारी सुरु गरेका थिए । अहिले सहकारीले आफ्नो कारोबार वार्षिक एक करोड रुपैयाँ हाराहारी पुर्‍याएको छ ।

प्रकाशित : माघ ६, २०७५ १०:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?