कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पशु खोज्दै बिमा कम्पनी घरघरै

दिप्ती सिलवाल

पर्वत — व्यावसायिक गाई पालन गरिरहेका फलेबास–१० कुर्घाका बुद्धिराम शर्माको फर्ममा एक वर्षयता तीनवटा बिमा कम्पनीका प्रतिनिधि पुगे । 

पशु खोज्दै बिमा कम्पनी घरघरै

गाईको बिमा गर्नुस् भन्दै गएकाहरूसँग उनले धेरै केरकार गरे । फाइदा हुने बुझेपछि उनले गोठका सबै गाईको बिमा गराए । शर्माजस्तै कुर्घाका दर्जन व्यावसायिक किसानले आफूलाई सुविधा र सहज हुने कम्पनी रोजेर गाई, भैंसी र बाख्रालगायतकाको बिमा गरेका छन् ।


पछिल्लो समय बजार विस्तारमा ध्यान दिइरहेका बिमा कम्पनीहरू पशुबिमाका योजना लिएर गाउँ–गाउँमा पुग्न थालेका छन् । पशुहरूको बिमा गर्दा बिमा कम्पनीलाई त्यसबापत लाग्ने शुल्कको ७५ प्रतिशत रकम सरकारले दिन थालेपछि कम्पनीहरूको सक्रियता बढ्न थालेको छ । अहिले पर्वतका सबै स्थानीय तहका गाउँ–गाउँमा बिमा कम्पनीहरू किसानको गोठ–गोठमा पुग्ने गरेका छन् । घरघरै पुगेर कम्पनीहरूले आफ्ना नयाँ कार्यक्रमहरूबारे जानकारी गराउन थालेपछि किसानहरू पनि पशु बिमाबारे आकर्षित हुन थालेका छन् ।


पशु बिमा गरेपछि एक वर्षभित्र पशु मरेमा त्यसको मूल्यको ९० प्रतिशत रकम कम्पनीले किसानका घरमै पुगेर दिन थालेपछि किसानमा पशु बिमाको लहर चलेको छ । भैंसीको बिमा गरेका किसानले दोहोरो सुविधा पाउने कम्पनीका कर्मचारीहरू बताउँछन् । ‘किसानले जुन प्रयोजनका लागि पालेका पशु हुन्छन् सोहीअनुसार बिमा दाबी भुक्तानी हुन्छ,’ प्रभु इन्स्योरेन्स कम्पनीका कर्मचारी शंकर तिवारीले भने, ‘दूध उत्पादनमा पालेका गाई–भैंसी बाली नगए पनि ५० प्रतिशत रकम दाबी भुक्तानी हुन्छ ।’ गत वैशाखयता पशुको बिमा गर्दा पशुपालक किसानको समेत बिमा हुने भएकाले पनि पछिल्लो समय किसान बिमाप्रति बढी आकर्षित हुन थालेको पाइएको छ ।


व्यावसायिक रूपमा पशुपालक किसानहरूले बिमा गरेपछि पशुमा लाग्ने महामारी रोगबाट हुने क्षतिको सामना गर्नुपर्दैन । व्यवसायमा गरेको लगानी खेर जानबाट जोगिन पशुमा गरेको बिमा धेरै प्रभावकारी भएको किसानहरूको भनाइ छ । बिमा गरेका पशु दुर्घटना, रोग तथा महामारीबाट मरेको खण्डमा बिमा कम्पनी घरमै पुगेर दाबी भुक्तानी गर्न थालेको किसानहरूले बताएका छन् ।


‘बिमा गरेपछि पैसा पाउने कुराको विश्वासै लागेको थिएन,’ किसान दिनेश अधिकारीले भने, ‘सबै डकुमेन्ट तयार गरेपछि कम्पनी आफैंले घरमै भुक्तानी दिँदा दंग परेँ ।’ गत वर्ष ९५ हजारमा गाईको बिमा गरेका अधिकारीले गाई मरेको एक महिनाभित्रै बिमा कम्पनीले ८५ हजार रुपैयाँ घरमै बुझाउन आएको बताए । उनले त्यसबापत कम्पनीलाई करिब १२ सय रुपैयाँ मात्रै बिमा शुल्क बुझाएका थिए ।


पशु प्राविधिकहरूका अनुसार एक लाख बराबरको भैंसीको बिमा गर्दा बिमा कम्पनीलाई पाँच हजार तिर्नुपर्छ । त्यसमा सरकारले करिब ३७ सय ५० रुपैयाँ बिमा कम्पनीलाई भुक्तानी गर्छ । किसानले जम्मा १२ सय ५० रुपैयाँ तिर्नुपर्छ । ‘सरकारले अनुदान दिने भएपछि बिमाप्रतिको किसानको आकर्षण ह्वात्तै बढेको छ,’ पशु चिकित्सक विष्णुबहादुर पाण्डेले भने, ‘सुरुसुरुमा प्रचार नभएर किसान अलमलमा थिए । अहिले त्यो अवस्था छैन ।’ घरघरै बिमा कम्पनीका कर्मचारी पुग्ने र विभिन्न सञ्चार माध्यमबाट पशु बिमाप्रतिको प्रचार हुन थालेपछि किसान बिमाबारे जानकार हुन थालेको पाण्डेले बताए ।


पशुको बिमा गर्दा बिमा कम्पनीले सिरियल नम्बरसहितको टयाग पशुका कानमा लगाइदिन्छन् । बिमा दाबी भुक्तानी लिन किसानले पशु मरेको बारे ३ दिनभित्र कम्पनीमा जानकारी दिनुपर्ने व्यवस्था छ । मरेको पशु गाढेको वा जलाएको प्रमाणसहित पशु प्राविधिकको सिफारिस कम्पनीमा पेस गरेपछि कम्पनीले दाबी भुक्तानी दिने व्यवस्था छ । प्राविधिकहरूका अनुसार केही किसानहरूले प्रक्रियाको अज्ञानताका कारण बिमा दाबी गर्न नै आउँदैनन् ।


‘कतिपयले बिमा प्रक्रियाबारे नबुझेर पनि अलमलमा छन्,’ पशु चिकित्सक विमल शर्मा पौडेलले भने, ‘केहीले थोरै पैसा तिरेर धेरै पाइन्छ भन्ने विश्वासै मान्दैनन् ।’ बिमा गर्दा लाग्ने शुल्क निकै कम भएकाले किसानलाई बुझाउन सके पशुपालनमा लाग्ने किसानहरूका लागि ठूलो राहत हुने उनले बताए ।


दुई वर्षअघिसम्म एउटा मात्रै बिमा कम्पनीले पशु तथा कृषि बिमा गर्दै आएकोमा अहिले पर्वतमा मात्रै आधा दर्जनभन्दा बढी निर्जीवन बिमा कम्पनीले कार्यालय सञ्चालन गरेका छन् । पर्वतमा शाखा नभएका कम्पनीहरूले समेतगरी पर्वतका गाउँ–गाउँमा पशु बिमा गर्ने कम्पनीको संख्या दर्जनको हाराहारीमा छ । छिमेकी जिल्ला बागलुङ, कास्की र म्याग्दीमा शाखा सञ्चालन गरेका कम्पनीहरू समेत पशु खोज्दै गाउँ–गाउँमा पुग्ने गरेका छन् ।

प्रकाशित : माघ ८, २०७५ ०९:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?