कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

२ सय वर्षदेखि छेलो

दीपक परियार

कास्की — छेलो (ठेलो) हान्ने खेल कहिलेदेखि खेल्न थालियो भन्ने प्रमाणित इतिहास नभए पनि कास्कीको सिक्लेसमा भने दुई सय वर्षदेखि छेलो हान्न थालिएको पाइन्छ । स्थानीय वयोवृद्धको भनाइलाई आधार मान्दा सिक्लेसमा छेलो हान्न थालिएको दुई सय वर्षभन्दा बढी नै भयो । 

२ सय वर्षदेखि छेलो

माघे संक्रान्तिको अवसरमा हुने छेलो हान्ने प्रतियोगितालाई स्थानीयले हालसम्म पनि जोगाएका छन् । गुरुङ गाउँमा विभिन्न चाडपर्वमा हुने मेलामा छेलो हानिन्छ । सिक्लेसमा छेलोको इतिहास भने बेग्लै छ । छेलो हान्ने परम्परा धार्मिकतासँग जोडिएको छ । यहाँ माघे संक्रान्तिको अवसरमा दुई दिनसम्म छेलो हानिन्छ ।


गाउँको सिरानमा प्राचीनकालदेखि पुजिँदै आएको ‘म्हौंदु क्यु’ छ । हिन्दु र बौद्ध धर्मावलम्बी माघे संक्रान्तिमा म्हौंदु क्युमा रहेका सातवटा धारामा स्नान गर्न पुग्छन् । ती धारा सधैं सुख्खा हुन्छन् । पुुसको अन्तिम दिन राति १२ बजे एकपल्ट पनि ऊन नकाटिएको भेडाको बलि दिइन्छ । त्यसपछि मात्रै पानी आउन सुरु हुने जनविश्वास छ ।


पुजारी भीमप्रसाद गुरुङका अनुसार ‘क्यु फुई’ (पहिलोपल्ट झर्ने पानी) मा नुहाएर वर माग्ने भक्तजनको रातिदेखि नै घुँइचो लाग्छ । तनहुँ, स्याङ्जा, पर्वत, लमजुङलगायत छिमेकी जिल्लाबाट स्नान गर्न सिक्लेस पुग्छन् । धाराबाट माघे संक्रान्तिको बिहानसम्म मात्रै पानी झर्छ । त्यसपछि भने बन्द हुन्छ । म्हौंदु क्युमा नुहाइसकेपछि एक सयजनाको अनुहार हेरे मात्रै पवित्र हुने धार्मिक विश्वास छ ।


सिक्लेसका ७४ वर्षीय रुद्रबहादुर गुरुङ एक सय मानिसलाई एकै ठाउँमा भेला गराएर अनुहार हेर्न छेलो हान्ने खेल चलन चल्तीमा आएको बताउँछन् । ‘म्हौंदु क्युमा स्नान गरेपछि एक सयजनाको अनुहार हेरेमात्रै मागेको वर पुरा हुन्छ,’ उनी भन्छन्, ‘त्यसरी सुरु भएको छेलो अहिलेसम्म छ ।’


पहिले लेखपढ गर्न जान्ने कोही नभएकाले पनि लिखित इतिहास राख्न नसकेको उनले दु:खेसो पोखे । उनका अनुसार माघे संक्रान्तिको दिन छेलो हान्न सक्ने उमेरका सबै स्थानीयले पालैपालो छेलो हान्छन् । भोलिपल्ट बिहान अघिल्लो दिन छुटेका स्थानीयलाई पहिला छेलो हान्न दिइन्छ । त्यसपछि भने खुला रूपमा छेलो हान्ने प्रतियोगिता सुरु हुन्छ । प्रतियोगितामा जसले जित्छ उसलाई छेलो स्थलमै गुरुङ परम्पराअनुसार अविर, फूलमाला, फेटा र टीका लगाएर बधाइ दिइन्छ । अन्त ढुंगाको छेलो हानिने भए पनि सिक्लेसमा भने फलामको हान्नुपर्छ । छेलो करिब ५ किलोको हुन्छ ।


पहिले ७ सय घर रहेको सिक्लेसलाई विभिन्न भागमा बाँडिएको छ । सभाथर, गैरीथर, क्होगींथर, लामाथर, हर्पुक थर र धप्राङ थर । म्हौंदु क्युमा पूजा गर्ने जिम्मा धप्राङ थरको हो । छेलोको व्यवस्थापन सभा थरले गर्छ । छेलो हान्ने ठाउँ सपुबाट विजेता र उपविजेतालाई स्थानीयले बाजागाजा बजाउँदै काँधमै बोकेर सभा थरसम्म पुर्‍याउँछन् ।


सिक्लेसको बीचमा रहेको सभा आँगनमा पुर्‍याएपछि डिलमा रहेको ढुंगामा पूजा गराइन्छ । उत्तरतिर रहेको ‘म्हौंदु क्यु’, ‘हेउरा सिमेभूमे’ र ‘फैम क्यु’ को दर्शन गराइन्छ । त्यसपछि स्थानीयले फूलमाला र अविरसँगै आफनो गच्छेअनुसारको पैसाले विजेतालाई ‘स्याई स्याई’ गर्ने परम्परा छ । युवापुस्ताले नाचगान गरेर विजेताको स्वागत गर्छन् ।


पहिले विजेतालाई नगद पुरस्कार थिएन । पन्ध्र वर्षयता विजेताले नगद पुरस्कारसमेत पाउँछन् । स्थानीय अगुवा क्याप्टेन लोककृष्ण गुरुङ पुरस्कारको व्यवस्था गर्न सभा थरले अक्षयकोष खडा गरेको बताउँछन् । सुरुमा विजेतालाई ३ हजार र उपविजेतालाई २ हजार नगद पुरस्कार दिइन्थ्यो । त्यसपछि १० हजार र ९ हजार दिन थालियो । यो वर्षदेखि उक्त रकम बढेर ४० हजार र ३५ हजार रुपैयाँ पुगेको छ । उनी भन्छन्, ‘अक्षयकोषमा रकम बढ्दै जाँदा पुरस्कारको राशि पनि बढ्दै गयो ।’ उनका अनुसार अक्षयकोषमा ८ लाख रुपैयाँ संकलन भइसकेको छ ।


यसरी खेल्ने छेलो

सिक्लेसमा हानिने फलामको छेलोको तौल पहिले ८ पाउन्ड थियो । अहिले १२ पाउन्ड पुर्‍याइएको छ । छेलो खेल हेर्दा सट पुटजस्तै लाग्छ । सटपुट र छेलोका केही नियम फरक छन् । सट पुटमा घेराभित्र बसेर फलामको डल्लो फाल्नुपर्छ । छेलोमा भने टाढाबाट दगुरेर फाल्न पाइन्छ ।


सिक्लेसमा हुने प्रतियोगितामा चाहेजति पल्ट छेलो हान्न पाइन्छ । सबैभन्दा टाढासम्म पुर्‍याएकोलाई जित्ने उद्देश्यले अन्य प्रतियोगीले पटक–पटक छेलो हान्छन् । सबैभन्दा टाढा पुर्‍याउनेलाई अर्कोले जिते अघिल्लोले फेरि छेलो हान्ने मौका पाउँछ । एउटै व्यक्तिले ८–१० पल्टसम्म छेलो हान्छन् । जित्न नसकिने भइयो भनेपछि मात्रै हान्न छोड्छन् ।


अन्तिममा सबैभन्दा टाढा पुर्‍याउनेलाई छेलो फाल्ने ठाउँमा उभ्याइन्छ । आयोजकले ‘उसलाई जित्ने कोही छ भने आउनुस्’ भनेर आहान गर्छन् । केही बेर कुर्छन् । कोही निस्किए उसलाई छेलो हान्न दिइन्छ । नआए विजेता घोषणा गरिन्छ ।


छेलोमा देखियो वासुको बल

गाउँघरमा हुने मेलामा फाट्टफुट्ट छेलो (ठेलो) हानेको वासु गुरुङलाई सम्झना छ । कास्कीको रूपा गाउँपालिकामा रहेको तालबेंसीका उनी भारतीय सेनामा भर्ती भएपछि त्यही पनि टुट्यो । माघे संक्रान्तिमा ससुराली गाउँ मादी गाउँपालिकाको खिलाङ आए । खिलाङ नजिकैको पर्यटकीय गाउँ सिक्लेसमा माघे संक्रान्तिमा ठूलो मेला लाग्ने उनलाई थाहा थियो ।


मेलामा छेलो फाल्ने प्रतियोगितामा सहभागी हुने चाहनाले उनलाई सिक्लेस पुर्‍यायो । माघे संक्रान्तिकै दिन सबैभन्दा टाढा उनैले छेलो फाले । दोस्रो दिनसम्म उनलाई टक्कर दिने कोही भेटिएनन् । स्याङ्जाका राजेश गुरुङ नजिकनजिक पुगे । धेरै पल्ट वासुलाई भेट्ने प्रयोस गरे तर सकेनन् । वासुलाई जित्ने कोही ननिस्किएपछि उनैलाई विजेता घोषणा गरियो ।


वासुले ६५.१० फिट टाढा पुर्‍याए भने राजेशले ६२.९ फिट मात्रै पर पुर्‍याउन सके । विजेता र उपविजेतालाई स्थानीयले फूलमाला, अविर र फेटाले सम्मान गरे । काँधमा बोकेर सभाथरसम्म लगे । वासुले पहिलोपल्ट सहभागी हुँदा विजयी बन्न सफल भएका हुन् । ‘गाउँमा आएका बेला हानौं न त भनेर प्रयास गरियो,’ उनले भने, ‘पहिलो नै हुन पाएर खुसी छु ।’


गुरुङ चलचित्रका नायक राजेश भने यसअघि पनि पटक–पटक सहभागी हुँदै आएका थिए । पहिले पनि उपविजेता भएका उनी विजेता बन्न सकेका छैनन् । स्थानीय एक सयभन्दा बढीले छेलो हाने भने २० जनाले दाबेदारका रूपमा छेलो हानेको छेलो संयोजक क्याप्टेन लोककृष्ण गुरुङले बताए ।


सिक्लेसमा यसअघि खिलाङका ह्रुसै गुरुङ ४० वर्षअघि १५ पल्टसम्म विजेता बनेका छन् । कास्की आँटीघर लामस्वाँराका दक्ष गुरुङले पनि ५ वर्षसम्म निरन्तर माघे मेलामा छेलो जितेर वाहवाही कमाए । यसअघि स्याङ्जाका निरज गुरु लगातार चार वर्ष विजेता बनेको थिए ।

प्रकाशित : माघ ९, २०७५ १०:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?