कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘मन्त्रीज्यू पोके बजेट कहिले खुल्छ ?’

गण्डकी प्रदेशसभा बैठक
लालप्रसाद शर्मा

पोखरा — गण्डकी प्रदेशसभाको सोमबारको बैठकमा सहभागी राष्ट्रिय जनमोर्चाकी सांसद पियारी थापाले जनताको अपेक्षा अनुुसार प्रदेश सरकारको अनुभूति हुनेगरी काम गर्न नसकेको बताएकी छन् । बजेट कार्यान्वयनको अवस्था दयनीय रहेको भन्दै उनले सुस्त गतिले समृद्धि हासिल हुन नसक्ने जिकिर गरिन । 

‘मन्त्रीज्यू पोके बजेट कहिले खुल्छ ?’

‘चालु आवको लागि विनियोजित पोके बजेट खोल्ने बेला भएको छैन मन्त्रीज्यू ?’ उनले सरकारका मन्त्रीसंग प्रश्न गरिन । नीति तथा कार्यक्रम पारित गर्दा मन्त्रीले बजेटमा सबै माननियको सहभागिता हुन्छ भनेको स्मरण गर्दै उनले ६ महिना बित्दा पनि काम सुरु नभएको बताईन । ‘बजेट कार्यान्वयन भएन । जनताको अपेक्षा प्रदेश सरकारको अनुभूति हुनेगरी अनुसार काम किन हुन सकेन’, उनले भनिन, ‘६ महिना बित्दा चालु बजेट १० र पूजीगत बजेट जम्मा २ प्रतिशतमात्र खर्च भएको छ ।’ यस्तो अवस्थाले सुस्त र मन्द गतिले समृद्धि हुननसक्ने भन्दै उनले यही चालाले राम्रो हुने संकेत नदेखिएको बताइन ।


सभामा सत्तापक्षका सांसदहरूले डा.गोविन्द केसीको विपक्ष र विपक्षी दलकाले समर्थनमा बोलेका थिए । साथै जीपी कोइराला श्वासप्रश्वास केन्द्र, दलित, ज्येष्ठ नगारिक, फेवाताल, पोखरा रंगशालालगायत विषयमा सांसदहरूले प्रदेश सरकारको ध्यानाकर्षण गराएका थिए ।


नेकपाका जुनादेवी नेपाली, मीना गुरुङ, राजीव पहारी, दीपक कोइराला, कांग्रेसका मणीभद्र शर्मा, मेखलाल श्रेष्ठले आफ्नो भनाई राखेका थिए । मुस्ताङका सांसदद्वय चन्द्रमोहन गौचन र इन्द्रधारा डादु विष्टले विभिन्न विषयमा ध्यानाकर्षण गराएका थिए । गौचनले मुस्ताङको हिमपात र सुख्खपाहिरोले स्याउबारीमा क्षती पुगेको, चिसोले जनजीवन प्रभावित भएको, विद्युत, संचार, यातायात र हवाई सेवा अवरुद्ध भएको र कालीगण्डकी नदी किनारका बस्ती जोखिममा परेकाले सुरक्षित गराउनुपर्ने माग गरेका थिए । विष्टले चिसोका कारण उपल्लो मुस्ताङका विद्यालय पोखरामा घुम्ती विद्यालयका रुपमा संचालन भएकोमा त्यसलाई सहयोग गर्न अनुरोध गरे ।


बैठकमा भौतिक पूर्वाधार बिकास मन्त्री रामशरण बस्नेतले गत ८ गते पेश गरेको प्रदेश सवारी तथा यातायात सम्बन्धमा व्यवस्था गर्न बनेको बिधेयक माथि सैद्धान्तिक छलपल भयो । छलफलमा सांसदहरू इन्द्रलाल सापकोटा, विष्णुप्रसाद लामिछाने, कृष्ण थापा, हरिशरण आचार्य, विनोद केसी, धनन्जय दवाडीले भाग लिएका थिए । विधेयक दफावार छलफलका लागि विधायन समितिमा पठाईएको छ ।


३ विधेयक टेबुल

सभामा प्रदेश सरकारले विभिन्न तीन विधेयक टेबुल गरेको छ । धुम्रपान तथा सुर्ती सेवनले मानव स्वास्थ्यमा नकरात्मक असर पुर्‍याउने भन्दै आयात, उत्पादन, विक्री, वितरणमा न्यूनिकरण, नियमन गर्न भन्दै सामाजिक बिकास मन्त्री नरदेवी पुनले सुर्तीजन्य पदार्थ नियन्त्रण र निमयन गर्ने सम्बन्धि विधेयक टेबुल गरिन् ।


उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री बिकास लम्सालले औद्योगिक व्यवसाय र ताल संरक्षण तथा बिकास प्राधिकरण सम्बन्धी विधेयक टेबुल गरे ।

प्रकाशित : माघ १५, २०७५ ११:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?