कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

संस्थानभन्दा बजारको चामल सस्तो

खाद्य संस्थानको चामल ३० केजीको एक बोरा किन्दा १३ सय ५० पर्छ भने पसलमा १२ सय ८० मा पाइने 
हरिराम उप्रेती

गोरखा — सडक खुलेर गाडी चल्न थालेपछि माछाखोलामा खाद्य संस्थानको भन्दा बजारको चामल सस्तो भएको छ । तिब्बती सिमानाको लार्के जोड्ने सडकको ट्रयाक खोल्ने क्रममा माछाखोलासम्मको खण्डमा गाडी गुड्न मिल्ने भएपछि गत पुस महिनाबाट यहाँ दैनिक उपभोग्य सामग्रीको भाउ सस्तिएको स्थानीयले बताए । 

संस्थानभन्दा बजारको चामल सस्तो

‘ढुवानी भाडाको आधारमा मूल्य निर्धारण हुने हो,’ माछाखोलाका कान्छा गुरुङले भने, ‘पुस महिनाबाट माछाखोलासम्म गाडी चल्न थालेपछि खाद्यको भन्दा पसलको चामल सस्तो पर्‍यो ।’ धार्चे गाउँपालिका–५ माछाखोलामा रहेको खाद्य संस्थानको डिपोबाट केरौजाँ, उहिया, काशीगाउँ, लापु, गुम्दा र लाप्राकका स्थानीयहरूले चामल खरिद गर्दै आएका थिए ।


हिउँद याममा केरौजाँ, उहिया र हुल्चोक वाहेकका अन्य वडामा सवारी चल्न मिल्ने सडक पुगेपछि संस्थानको चामल ढिपोमै थन्किएको छ । ‘गाडी नगुडा खच्चडबाट बोकाउनुपथ्र्यो, हिउँदमा १०, वर्खामा २० रुपैयाँ प्रतिकेजी खच्चडलाई ढुवानी भाडा दिनुपर्ने बाध्यता थियो,’ गुरुङले भने, ‘अहिले गाडीले प्रतिकेजी दुई–तीन रुपैयाँमा सामान लैजान्छ ।’


संस्थानको चामल माछाखोलाको डिपोमा प्रतिकेजी ४५ रुपैयाँ बिक्री मूल्य तोकिएको छ । संस्थानको भन्दा स्थानीय व्यापारीबाट खरिद गर्दा प्रतिकेजी ३ रुपैयाँ सस्तो पर्न जाने गुरुङले बताए । ‘खाद्य संस्थानको चामल ३० केजीको एक बोरा किन्दा १३ सय ५० पर्न जान्छ, यहाँको पसलमा १२ सय ८० मै पाइने भयो,’ उनले भने, ‘एक बोरामै ७० देखि ९० रुपैयाँसम्म फरक पर्ने भयो । अब समन्वय गरेर मूल्य घटाउनुपर्ने देखिन्छ ।’


यो वर्ष सोना मन्सुलीका साथमा जापान सरकारले उपलब्ध गराएको चामल यहाँका दुर्गम क्षेत्रका गाउँलेलाई बिक्री भएको छ । जापानी अनुदानमा आएको चामल स्थानीयले खासै नरुचाएको माछाखोलाका गुरुङले बताए । ‘हिउँदमा गाडी चले पनि बर्खामा चल्दैन,’ उनले भने, ‘बर्खामा खच्चडकै भर हो, त्यतिबेला खाद्यको चामल बिक्छ कि ।’


चालु आवमा संस्थानले माछाखोला डिपोका लागि २५ सय क्विन्टलको कोटा तोकिए पनि हालसम्म ६१ क्विन्टल मात्र ढुवानी भएको छ । उक्त डिपोमा गत वर्ष ढुवानी भएको झन्डै डेढ सय क्विन्टल चामल मौज्दात रहेको संस्थानका कर्मचारी नरबहादुर खनालले बताए । ‘संस्थानको चामलको मूल्य थपघट गर्न मिल्दैन,’ उनले भने ।


सिर्दिबास डिपोमा भने २ हजार क्विन्टल कोटा तोकिएकोमा १९ सय ७४ क्विन्टल चामल ढुवानी भइसकेको छ । जापानले नेपाल सरकार मार्फत अनुदान दिएकोमध्ये २ हजार क्विन्टल चामल गोरखाका लागि पठाइएको छ । अनुदानमा आएमध्येको झन्डै १६ सय क्विन्टल चामल सिर्दिबास डिपोमा बिक्रीका लागि पठाइएको छ ।


सिर्दिबासका लागि यस वर्ष कोटा थपको तयारी पनि भइरहेको कार्यालयले जनाएको छ । ‘डिपोबाट चामल बिक्री भइरहेको छ । त्यहाँ कार्यरत कर्मचारीलाई स्थानीय तहसँग समन्वय गरेर कोटा थपको पत्र लिएर आउन भनेका छौं,’ उनले भने । सिर्दिबास क्षेत्रका स्थानीयले चालु आवमा ३ हजार क्विन्टल चामलको कोटा थप गर्न माग गर्दै आएका छन् । सिर्दिबास डिपोबाट सिर्दिबाससहित ल्हो, बिही, प्रोक, छेकम्पार,चुम्चेत र सामागाउँका बासिन्दालाई सहुलियत दरको चामल बिक्री हुँदै आएको छ ।


छेकम्पार र सामागाउँबाट सिर्दिबाससम्म आइपुग्न दुई दिन खर्चनुपर्ने भन्दै स्थानीयहरूले उपल्लो भेगकै पायक पर्ने स्थानमा डिपो राख्न पनि माग गर्दै आएका छन् । ‘चुमनुब्री गाउँपालिकाको चुम्चेतमा डिपो राख्नका माग भइआएको थियो, एक वर्षअघि खाद्य व्यवस्था समिति बैठकले संस्थानको प्रधान कार्यालयमा पत्र पनि पठाएको छ,’ खनालले भने ।


खाद्य संस्थानले ढुवानी अनुदानमा दुर्गम क्षेत्रका स्थानीयहरूलाई चामल उपलब्ध गराउँदै आएको छ । उत्त चामल माछाखोला डिपोबाट ४५ र सिर्दिबास डिपोबाट प्रतिकेजी ४८ रुपैयाँमा बिक्री हुँदै आएको छ । सदरमुकामबाट २० कोस टाढा रहेको माछाखोलामा १९ सय ५० र ३० कोष टाढा रहेको सिर्दिबासमा ४१ सय ५० रुपैयाँ प्रतिक्विन्टल ढुवानी अनुदान सरकारले उपलब्ध गराएको हो ।


सिर्दिबास र माछाखोला डिपोमा रहेको चामल वडाअध्यक्षको सिफारिसमा स्थानीयहरूलाई उपलब्ध गराउने प्रावधान छ । उत्तरी गोरखाका स्थानीय मुख्य खाद्य बालिका रूपमा गहुँ, जौ, आलु खेती गर्ने गर्छन् । उक्त क्षेत्रमा धान खेती नहुँदा तल्लो क्षेत्रबाट चामल ढुवानी गर्नुको विकल्प छैन ।

प्रकाशित : माघ २७, २०७५ ०९:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?