कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मध्यपहाडी लोकमार्ग : आवागमन रोक्दै, काम गर्दै

दिप्ती सिलवाल

पर्वत — निर्माणाधीन मध्यपहाडी लोकमार्गको पर्वतखण्डमा फेरि दैनिक साढे ६ घण्टा सवारी आवागमन रोकेर काम अघि बढाइएको छ । बुधबारदेखि बिहान साढे १० देखि साढे २ र बेलुकी साढे ४ देखि ७ बजेसम्म आवागमन रोक्न सुरु गरिएको हो ।

मध्यपहाडी लोकमार्ग : आवागमन रोक्दै, काम गर्दै

पर्वत खण्डको नयाँपुलदेखि अर्मादीसम्मको बिभिन्न मोड तथा साँघुरो सडक फराकिलो पार्ने काम तीव्र रूपमा अघि बढाउनुपर्ने भएकाले आवागमन रोक्ने समय तालिका सार्वजनिक गरिएको लोकमार्ग आयोजना कार्यालयले जनाएको छ ।


सडक खण्डको बेतेनीे चुवा, दोबिल्ला, डिमुवा, नयाँपुल, गिरिचोक, घुम्ती, अर्मादी लगायतका साँघुरो क्षेत्र फराकिलो पार्ने र भिरालो पहरा फुटाइ डबल लेनको बनाउन साइड कटिङ भइरहेको निर्माण कम्पनी लामा कन्स्ट्रक्सनले जनाएको छ । कन्स्ट्रक्सनका प्रोजेक्ट म्यानेजर गोबिन्दप्रसाद भुषालका अनुसार सडक चौडा पार्ने क्रममा काम गर्न निर्धारित समय आवागमन रोक्न प्रशासनसँगको समन्वयमा समय तय भएको हो ।


लोकमार्गको पश्चिम क्षेत्रमा पर्ने १ हजार ९५ किलोमिटरमध्ये पर्वत खण्डमा पर्ने क्षेत्र बढी साँघुरो र बढी सवारी चाप हुनेमा पर्छ । यो खण्ड निर्माणका काम गर्दा पनि आउजाउ सहज छैन । आयोजनाको कुश्मा कार्यालयका प्रमुख आशिष थापामगरका अनुसार यात्रुलाई लामो समय आउजाउमा हुने समस्या कम गर्न यो महिनाका केही दिन सडक अवरुद्ध पारेर कामलाई गति दिइएको छ । ‘यात्रुले धेरै समस्या नहोस् भन्नेमा हामी सचेत छौं,’ उनले भने, ‘विकासका क्रममा केही समस्या हुन्छ नै ।’


पोखरादेखि धौलागिरि प्रवेश गर्ने सवारी चापलाई मध्यनजर गर्दै यस क्षेत्रको ६१ किमिमा कामको धमाधम छ । अहिले सडकको दुबैतर्फ नाली, ग्याभिन जाली, ‘रिटेनिङ वाल’ सहित कालोपत्रे पनि सँगसँगै हुने निर्माण कम्पनीले जनाएको छ । नयाँपुलदेखि पर्वतको मालढुंगासम्म पर्ने साँघुरो क्षेत्र प्राथमिकतामा राखिएको हो । ‘आगामी ३ वर्षभित्र कास्की र पर्वत खण्डको सबै भाग पूरा गर्नेगरी ठेक्का लगाइएको छ,’ आयोजना प्रमुख थापामगरले भने ।


आयोजना पक्षले सडकका ठाउँठाउँमा एक–दुईवटा एक्साभेटर लगाएर लामो समय दु:ख दिएको यात्रुहरूले आरोप लगाएका छन् । त्यसमा पनि निर्माणका क्षेत्रमा कार्यरत कर्मचारी र पेटी ठेकेदारहरूले चिनेजानेका व्यक्तिका गाडीलाई सडक खुला गरेको र नचिनेकाहरूलाई बढी दु:ख दिएको सर्वसाधारणको आरोप छ । ‘हामी लामो समय कुरिराखेका थियौं,’ कुश्माका लेखनाथ शर्माले भने, ‘त्यहाँका कर्मचारीले चिनेको गाडी आएपछि तुरुन्तै खुलाए । हामीलाई रोके । बाटो अवरुद्ध भए सबैलाई हुनुपर्छ । नत्र लापरवाही गर्नेलाई कारवाही हुनुपर्‍यो ।’


बिरामी आमालाई लिएर पोखरा जाँदै गरेका म्याग्दीका राजेन्द्र विकले लामो समय सडक अवरुद्ध हुँदा समस्या भएको गुनासो गरे । ‘बिरामी बोकेका गाडीलाई बाटो बन्द हुन्न भन्ने सुनेर ट्याक्सीमा आयौं । डिमुवा पुग्दा दुई घण्टा जाममा परियो,’ उनले भने, ‘गम्भिर बिरामी आमालाई थप समस्या भयो ।’ सडक अवरुद्ध पारिँदा सबैभन्दा बढी सास्ती कास्की र पर्वतको सिमानामा पर्ने महभिर क्षेत्रमा परेको छ ।


करिव २० मिटर पहरा फुटाउनका लागि आयोजनाले ४ किलोमिटर टाढैबाट सवारी रोक्दा पैदलै वारपार गर्न चाहने यात्रुहरू बढी मर्कामा परेका छन् । आयोजनाले पर्वत खण्डको सडक चौडा पार्ने भीरपहरा कटान गर्न आगामी जेठसम्म लाग्ने अनुमान गरेको छ । पर्वतका प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले यात्रुलाई सहज आउजाउ गर्ने वातावरण बनाउन आयोजना पक्षलाई आग्रह गरिरहेको बताएका छन् ।

प्रकाशित : फाल्गुन ३, २०७५ १०:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?