कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पाराग्लाइडिङ उडान परीक्षण

कान्तिपुर संवाददाता

बागलुङ — पोखरामा व्यवसायीले पाराग्लाइडिङका नयाँ कम्पनी दर्ता गर्न नपाएपछि बागलुङका गाउँमा परीक्षण उडान सुरु भएका छन् । 

‍बागलुङको गलकोटका दुई स्थान र बलेवामा उडान परीक्षण भएका हुन् । ती क्षेत्रमा व्यावसायिक उडान भर्न सकिने कम्पनीका प्रतिनिधिले बताएका छन् ।


गलकोटको राम्चेढुंगालाई पर्यटन क्षेत्र बनाउन स्थानीयले थालेको अभियानका लागि पोखरादेखि व्यावसायिक उडान भरिरहेका पाराग्लाइडिङ टेन्डम पाइलट ल्याएर परीक्षण गरिसकेका हुन् । बलेवास्थित नारायणस्थान, पैयँुपाटा र अमलाचौरलाई समेट्ने गरी अर्को परीक्षण भएको हो ।


‘अहिलेसम्मका परीक्षण उडानमा बलेवा राम्रो पायौं,’ लेकभ्याली पाराग्लाइडिङ कम्पनीका टेन्डम पाइलट टेकबहादुर थापाले भने, ‘हावाको गति, भूगोल र दृश्यावलोकन उत्कृष्ट छ ।’ पोखरा, धरान र स्याङ्जाको तुलनामा आफूलाई यहाँ आकर्षक उडान गर्न सकिने लागेको उनले बताए । यहाँ न्यूनतम १२ मिनेटदेखि १ घण्टासम्मको उडान गर्न सकिने भूगोल मिलेको उनले बताएपछि स्थानीय बासिन्दा पनि खुसी भएका छन् ।


यहाँ उडान नियमित गराउनका लागि बलेवा क्षेत्रका चारवटा वडाका जनप्रतिनिधि, संघसंस्थाहरूले पहल गरिरहेका छन् । बागलुङकै भकुण्डेको मुलाबारीबाट पनि उडान भर्न सकिने गरी परीक्षण गरिने वडाध्यक्ष प्रेमबहादुर थापाले बताए । पोखरामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल बन्ने भएपछि पाराग्लाइडिङका थप कम्पनी दर्ता रोकिएका छन् ।


सञ्चालनमा रहेका कम्पनीहरूले पनि उडानका लागि पोखराबाहिर वैकल्पिक स्थान छनोट गरेर परीक्षण गरिरहेका छन् । पाराग्लाइडिङको साहसिक उडान पर्यटकहरूले मन पराउँछन् । पोखराबाहेकका अन्य गन्तव्य पाइलट र व्यवसायीले परीक्षणका लागि रोज्न थालेपछि उनीहरूलाई आफ्नो क्षेत्रमा निम्त्याउन स्थानीय अगुवाहरू लालायित छन् ।


गलकोटको राम्चेढुंगा र निलुवामा रनवे निर्माणका लागि नगरपालिकाले समेत लगानीको तयारी गरेको छ । ‘चालु वर्षका लागि ३ लाख रुपैयाँ बजेट छुट्टयाएर कामको तयारी गरेका छौं,’ गलकोट नगरपालिकाकी उपप्रमुख रेणुका काउचाले भनिन्, ‘पूर्वाधार बनाएर स्थानीयलाई रोजगारी पनि सिर्जना गर्न खोजिएको छ ।’ विदेशी पर्यटकले मात्र रुचाउने साहसिक खेल आजकल धेरै नपालीले चाहने गर्छन् । रनवेसँगै सुरक्षित अवतरणका लागि पनि दुईदेखि चारवटा स्थलको खोजी भइरहेको समेत काउचाले बताइन् ।


बलेवामा पनि हवाई मैदान भएकाले हवाईजहाज नआउने समय पारेर ओर्लने स्थानको खोजी गर्न कम्पनीका प्रतिनिधिले जनप्रतिनिधिलाई सुझाव दिएका छन् । छिटफुट रूपमा जहाज आउने भएकाले समय छलेर पनि पाराग्लाइडिङ गर्न सकिने नारायणस्थान सेवा समाजका अध्यक्ष भरत पौडेलले बताए ।


‘साहसिक खेल पनि सञ्चालन गर्ने र पर्यटक आवागमनमा पनि सहयोग गर्ने हो,’ उनले भने, ‘बलेवा एयरपोर्टमा जहाज चल्न थाल्यो भने प्याराग्लाइडिङका लागि पनि थप सहयोग हुनेछ ।’ परीक्षण सफल भएका सबै क्षेत्रमा लगानी गर्न र पर्यटक भित्र्याउन नगरपालिकाले समेत कार्यक्रम बनाउनुपर्ने उनले सुझाव दिए ।

प्रकाशित : फाल्गुन ४, २०७५ ०९:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?