कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सर्वस्व सकिएपछि मन्दिरको बास

सुरुमा पिसावमा रगत देखिने रोगको उपचार गर्दागर्दै घर र ७ रोपनी जग्गा बेचेको रकम सकियो
कान्तिपुर संवाददाता

पर्वत — ‘सास छउन्जेल आस भएरै सर्वस्व सकेर उपचार गरें । अहिले न घरखेत बच्यो, न रोग निख्रियो,’ फलेवास–११ पाङराङका पदमबहादुर कँडेलले केही दिनअघि एक संस्थाले उपलब्ध गराएको १० हजार राहत रकम लिन कुश्मा आएका बेला भनेका थिए । 

सर्वस्व सकिएपछि मन्दिरको बास

जस्तोसुकै रोग लागे पनि त्यसका विरुद्धमा लड्न र सम्भव हुनेसम्मको उपचार गर्न हरेक व्यक्ति आफ्नो क्षमताले भ्याएसम्म प्रयास गरेको हुन्छ । अन्तिम अवस्थामा पुगेपछि रोग पालेर बस्नुको विकल्प हुँदैन । उपचारकै क्रममा बस्ने बाससमेत गुमेपछिको अवस्था भने ६७ वर्षीय पदमबहादुर दम्पतीले भोग्दै आएका छन् ।


गाउँको एउटा घर र सात रोपनी खेत बेचेर आएको १२ लाख रुपैयाँ उपचारमा सकिएपछि वर्ष दिनदेखि मन्दिरको पेटीमा रात गुजार्दै आएका छन् । कँडेल दम्पती फलेवास–४ मुडिकुवास्थित कालीगण्डकी किनारको मन्दिरको पेटीमा बस्दैआएका हुन् । सहयोगीले दिएको अन्न र मन्दिरमा आउनेले दिएको दुई/चार पैसाले पदमबहादुर र उनकी श्रीमती भीमाकुमारीको दैनिकी धकेलिएको छ । कँडेल पिसाव नली (प्रोस्टेट क्यान्सर) बाट पीडित छन् । उनलाई रोगले च्यापेको चार वर्ष भयो ।


२०७१ सालबाट कँडेलले उपचार सुरु गरे पनि रोग झनै बल्झिँदै गएको उनले बताए । ०७१ मंसिरदेखि पिसावमा रगत देखिन थालेपछि उनी सोही वर्ष पुस १४ मा पोखराको मणिपाल शिक्षण अस्पतालमा पुगेका थिए । ‘त्यहाँ चार महिनासम्म उपचार गरेपछि रगत बग्ने समस्या कम भयो । त्यसपछि घर फर्किएँ,’ उनले भने, ‘घर फिरेको केही महिनामै रोगले झनै च्याप्यो । फेरि अस्पताल पुगें । अस्पतालमै सर्वस्व सकियो ।’ पोखरामा १० लाख खर्च भएको उनले बताए ।


पोखराबाट फर्किएको एक महिना नहुँदै फेरि पिसावमा रगत देखिन थाल्यो । परिवार र छिमेकीको सल्लाहपछि घरखेत बेचेर गत जेठमा चितवनस्थित वीपी कोइराला क्यान्सर अस्पतालमा उपचारका लागि पुगें । १० लाख रुपैयाँ एक महिनामै सकियो । ‘पैसा सकिएपछि अस्पतालले फर्काइदियो । हामी जाने ठाउँ नै नभेटेपछि मन्दिरमा बस्न थाल्यौं,’ श्रीमती भीमकुमारीले भनिन्, ‘डाक्टरले २२ लाख भए उपचार सम्भव हुन्छ भन्थे २० रुपैयाँ नहुनेले कहाँबाट त्यत्रो पैसा पुर्‍याउनु ?’ अब मृत्यु कुर्नुको विकल्प आफूसँग नभएको

उनले सुनाए ।


गत वर्षको पुसदेखि कँडेल दम्पती मन्दिरमा बस्दै आएका हुन् । उनका चार छोरा छन् । छोराहरूको पनि आर्थिक हैसियत कमजोर छ । कान्छा छोरा मोहनबहादुर कँडेलले दुबईमा मजदुरी गरेर आएको पैसा बाबुको औषधिमा खर्च हुँदै आएको छ । अहिले मासिक १० हजारको औषधि मात्रै आवश्यक पर्छ । जेठा छोरा सोमबहादुर गाउँमै मजदुरी गरेर परिवार पाल्दै आएका छन् । माइला छोरा भारतमा छन्् । गत वर्ष घरमै भएको आगलागीमा परेका साइँला छोराको अझै उपचार हुँदैछ । गम्भीर घाइते उनको अझै एक वर्ष उपचार गर्नुपर्ने पदमबहादुरले बताए ।


२२ लाख जुटाउन सके उपचार सम्भव हुने भए पनि आफू र परिवारसँग त्यो हैसियत नभएपछि अब ‘भगवान् भरोसा’ मात्रै बाँकी रहेको कँडेल दम्पतीले बताए । आफूसँग रकम नभएपछि क्यान्सर पालेर बस्नुपरेको उनले बताए । मन्दिरमा बस्दै आएका कँडेललाई पर्वत सेवा समाजले १० हजार २५ रुपैयाँ सहयोग गरेको छ । समाजका अध्यक्ष मुना भुसाल र फलेवास–११ का वडाध्यक्ष जितबहादुर सुनारले कँडेल दम्पतीलाई रकम हस्तान्तरण गरेका हुन् ।

प्रकाशित : फाल्गुन ४, २०७५ ०९:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?