कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मनाङको सडक खुल्यो

कान्तिपुर संवाददाता

लमजुङ — भारी हिमपातपछि बन्द रहेको मनाङको सडकमा तीन सातापछि आवागमन सुचारु भएको छ । सडक खुलेसँगै जनजीवन सामान्य हुन थालेको छ ।

मनाङको सडक खुल्यो

बाटो खुलेसँगै यात्रु तथा स्थानीय आवतजावत हुन थालेका छन् । बजारका पसलहरू पनि खुल्न थालेका छन् । हिमपातका कारण माघ ८ गतेदेखि अधिकांश सडक बन्द थियो । मनाङतर्फ बेंसीसहर–चामे सडकअन्तर्गत मनाङको नासोंस्थित दानाक्युसम्म जिप चलेको थियो । अहिले दानाक्युबाट थान्चोक हुँदै चामे र चामेबाट भ्राताङसम्मको सडक खुलेको स्थानीयले बताएका छन् ।

भ्राताङदेखि माथिल्लो क्षेत्रसम्म पूरै सडक खुल्न केही दिन लाग्ने मनाङ प्रशासनले जनाएको छ । हिमपातका कारण तिमाङ र थान्चोकबीचको स्याक्र्युखोलामा ठूलो ढुंगासहितको पहिरो खसेको थियो । यस्तै, लमजुङ र मनाङ सीमा क्षेत्र म्यार्दीमा पनि ढुंगा खसेको छ । उक्त ढुंगालाई छेक पारेर बाटो बनाई जिप सञ्चालन गरिएको छ ।

ठूलो तौल लिएर आउजाउ गर्ने जिप भन्दा ठूला सवारी साधन भने सञ्चालन हुन सक्दैनन् । बेंसीसहरदेखि चामेसम्म शुक्रबारदेखि जिप दोहोरो चल्न थालेको चामे गाउँपालिका अध्यक्ष लोकेन्द्रबहादुर घलेले बताए । उनका अनुसार स्याक्र्युखोलामा खसेको ढुंगासँगैबाट वैकल्पिक बाटो बनाइएको छ । ढुंगालाई फुटाउन लागिएको छ ।

हिमपातपछि विभिन्न ठाउँमा खसेको पहिरो, ढुंगा, लडेका तथा भाँचिएका रूख हटाएर सडक खुलाइएको डीएसपी खडगबहादुर खत्रीले बताए । उनका अनुसार भ्राताङबाट चामेतर्फ एग्रो मनाङ प्रालिको डोजर र दानाक्युबाट स्याक्र्युसम्म निर्माणाधीन जलविद्युत् आयोजनाका डोजरले हिउँ फालेर बाटो सञ्चालन गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी रुद्रनाथ देवकोटाले साढे ३ सातापछि सडक खुलेको बताए । ‘सार्वजनिक सवारी साधन चल्न थालेका छन् । मालवाहक ठूला सवारी भने अहिले सञ्चालन हुन सक्दैनन्,’ उनले भने । माथिल्लो क्षेत्रमा बाटो अझै नखुलेकाले खुलाउने प्रयास भइरहेको उनले बताए ।

सडक खुलेसँगै मनाङमा खाद्यान्न ढुवानी हुन थालेका छन् । कर्मचारी पनि आउन थालेको प्रजिअ देवकोटाले बताए । ‘यहाँ त हरियो तरकारी खान पाइएको थिएन । भएका आलु र मस्यौरा पनि सकिन लागेको थियो । चामल पनि सकिन लागेको थियो । केही दिन अझै यस्तै भए मानिस भोकै हुन पनि बेर लाग्ने थिएन,’ उनले भने । उनका अनुसार बाटो नखुल्दा व्यवसायीले सामानसमेत दिन छाडेका थिए । अहिले सहज हुन थालेको उनले बताए ।

प्रकाशित : फाल्गुन ४, २०७५ ०९:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?