कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बालविवाह निरुत्साहित गर्न अभियान

प्रहरीले जनप्रतिनिधि, स्थानीय आमा समूह, युवा क्लब, बाल क्लबसँग बालविवाह रोक्न समन्वय गर्दै
कान्तिपुर संवाददाता

लमजुङ — नौ कक्षामा पढ्ने बेंसीसहर ३ की १५ वर्षीया किशोरीको गत आइतबार श्रीपञ्चमीको दिन वडा नम्बर ६ का एक युवकसँग विवाह हुने निश्चित थियो । थाहा पाएपछि वडाध्यक्ष सूर्यकुमार श्रेष्ठले किशोरीका बुबालाई विवाह रोक्न अनुरोध गरे ।

मागेपछि दिइएको भनी पहिले उनी मानेनन् । प्रहरीमा उजुरी पर्‍यो । गत माघ २३ मा किशोरीसहित अभिभावकलाई प्रहरीले सम्झायो । उमेर नपुगी विवाह नगराउने भन्दै उनीहरू घर फर्केको वडाध्यक्ष श्रेष्ठले बताए । ‘उमेरै नपुगी छोरीको विवाह गराउने ? भन्दै मैले त नानीको बुबालाई हप्काएँ पनि,’ उनले भने, ‘हामी र प्रहरी दुवैको सक्रियतामा उमेर नपुग्दै हुन लागेको विवाह रोकियो ।’


बेंसीसहर–११ की १८ वर्षीया किशोरीको माघ २६ मा नवलपरासीका एक युवकसँग विवाह तय भएको थियो । २० वर्ष नपुगी विवाह हुन लागेको खबर प्रहरीले बाल हेल्पलाइन काठमाडौंबाट थाहा पायो । प्रहरी घरै पुगेर बालविवाह गरे कानुन लाग्छ भनेपछि किशोरीपक्ष हच्किएको वडाध्यक्ष अच्युत बगालेले बताए ।


‘प्रहरीले बोलाएपछि विवाह हुनेवाला कशोरी र अभिभावक जिल्लामा पुगे । उमेर नपुगी विवाह नगराउने कुरामा मञ्जुर भएपछि फर्किए,’ उनले भने, ‘हामीले पनि सम्झाइबुझाई गर्‍यौं । बालविवाह रोकियो ।’ बेंसीसहर ११ कै एक साढे १९ वर्षकी किशोरीको माघ दोस्रो साता मस्र्याङदी गाउँपालिकाका एक युवकसँग बिहे छिन्यो । ‘भोलि जन्ती आउने भन्ने दिन आज विवाह रोकिएको हो,’ उनले भने, ‘विवाह गर्ने उमेर नपुगी विवाह गर्न लागेको कुरा प्रहरीमा पुगेछ । हामीले थाह पाएर रोक्यौं । प्रहरी कार्यालयमा पुगेर उमेर नपुगी विवाह नगर्ने कागज गरियो,’ उनले भने ।


जिल्ला प्रहरी कार्यालयका महिला तथा बालबालिका केन्द्र प्रमुख असइ नन्दकुमारी अधिकारीका अनुसार गाउँमा कलिलो उमेरमै विवाह गर्न थालेको खबर प्रहरीमा आउन थालेको छ । उनका अनुसार गत मंसिरमा बेंसीसहर नगरपालिका ७ की १८ वर्षीया किशोरीको विवाह हुन जानकारी स्थानीयले गराएपछि किशोरी र अभिभावकलाई प्रहरी कार्यालय बोलाएर विवाह रोकेका थिए ।


‘केही महिनायता हामीलाई गाउँमा उमेर नपुगी किशोरीको विवाह हुन लागेको खबर आउन थालेको छ । हामीले सकेसम्म सम्बन्धितकै घर पुगेर सम्झाएका छौं । नभए कार्यालयमा बोलाएर कानुनी सचेतना दिएर सम्झाएका छौं ।’ इन्सपेक्टर वसन्त पाण्डेका अनुसार पछिल्लो समय बालविवाहबारेको मौखिक उजुरी प्रहरीमा आउन थालेको छ ।


उमेर नपुगी विवाह गर्न लागेको जानकारीपछि परिवारसँग सम्पर्क गरेर विवाह रोक्न भनेको र प्रहरीमा आउन आग्रह गरिएको उनले बताए । ‘कानुन र व्यावहारिक पक्षले पनि कम उमेरमा विवाह गर्न मिल्दैन र हुँदैन,’ उनले भने, ‘अभिभावकसहित उमेर नपुगी विवाह गर्न लागेका किशोरीलाई प्रहरीमा बोलाएर कम उमेरमा विवाह गर्दा हुने शारीरिक, मानसिक, व्यावहारिक, सामाजिक, सांस्कृतिक पक्षमा पुग्ने असरबारे जानकारी गराएका छौं । परिचयलाई गोप्य राखिएको छ ।’


उमेर नपुगी विवाह गरेमा कानुनबमोजिम सहौंला भनी कागज गराएको उनले बताए । प्रहरीले जनप्रतिनिधि, स्थानीय आमा समूह, युवा क्लब, बाल क्लबसँग बालविवाह रोक्न समन्वय गर्दै आएको डीएसपी यादव ढकालले बताए । उनका अनुसार बेंसीसहर वरपरका मात्रै उजुरी आएका छन् । ग्रामीण भेगमा अझ बालविवाह गर्ने धेरै हुन सक्ने उनले बताए ।


‘अनौपचारिक रूपमा जनजाति र दलित समुदायमा बालविवाह रहेको सुन्न आउँथ्यो । पछिल्लो समय ब्राह्मण–क्षत्री समुदायमा समेत बालविवाह हुने गरेको पाएका छौं,’ उनले भने । यसअघि सचेतना नहुँदा बालविवाहबारे प्रहरीमा जानकारी नआएको हुन सक्ने बताए । ‘अहिले कानुन छ । कम उमेरमा विवाह गर्दा हुने बेफाइदाबारे जानकारी हुन थालेको छ । त्यसैले खबर आउन थालेको हुनुपर्छ,’ उनले भने ।


जिल्ला प्रहरी कार्यालयका अनुुसार चालु आर्थिक वर्षमा ४ वटा बालविवाह रोकिएको छ । आव २०७४/०७५ मा बालविवाहसम्बन्धी एउटा मुद्दा प्रहरीमा परेको थियो । आव २०७३/०७४ मा बालविवाहसम्बन्धी मुद्दा परेन । आव २०७२/०७३ मा एउटा मुद्दा परेको थियो । पछिल्लो कानुनअनुसार नेपालमा २० बर्षभन्दा मुनि विवाह गर्न पाइँदैन ।

प्रकाशित : फाल्गुन ५, २०७५ ०९:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?