कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘महिलामै परिवर्तन आवश्यक’

विना थापा

कास्की — ‘झट्ट पत्याउँदैनन्, पूरा सूचना लिन जहिल्यै गाह्रो छ,’ बागलुङकी पत्रकार कोपिला कँडेल भन्छिन्, ‘महिलालाई कमजोर ठान्ने मानसिकता हट्न नसक्दा पत्रकारिता झन् जटिल छ ।’ पत्रकार महासंघको विधान अधिवेशनमा सहभागी हुन पोखरा 
आएकी उनले सूचना संकलनदेखि प्रकाशन र पारिश्रमिकमा पनि महिलाले विभेदको सामना गर्नुपर्ने बताइन् ।

‘महिलामै परिवर्तन आवश्यक’

‘जबसम्म यस्तो मानसिककता रहन्छ तबसम्म महिलाहरू विभेदमा परिरहन्छन्,’ उनले भनिन्, ‘पुरुषलाई प्राथमिकता दिने चलन नै छ ।’ समाचारदाताका रूपमा १० वर्षदेखि एफएम रेडियोमा काम गर्दै आएकी उनले महिलालाई हेर्ने दृष्टिकोणमा परिवर्तनको क्रम निकै सुस्त रहेको बताइन् ।


धरानमा रहेर विजयपुर साप्ताहिक सञ्चालन गर्दै आएकी गंगा पौडेल महिलाले आफूलाई बलियो पुष्टि नगरेसम्म काम गर्न सजिलो नहुने बताउँछिन् । ‘पहिलेको दाँजोमा थोरै परिवर्तन भएको हो तर, अझै धेरै हुन बाँकी छ,’ उनी भन्छिन्, ‘महिला भनेपछि आत्मबल हुँदैन, घरको काम बाहेक केही कामकुरा जानेको हुँदैन भन्ने मानसिकता पाइन्छ ।’ आफूले निरन्तर क्रियाशील रहेको दुई दशकमा दृष्टिकोणमा परिवर्तन आउन थालेको पाएको उनले बताइन् ।


‘समाजमा सबैथरीका मानसिकताका मान्छे छन्,’ उनले भनिन्, ‘पत्रकारिता गर्छु भनेर लागिपरेपछि उच्च मनोबल लिएर काम गर्दै गए आफू अनुकूलको परिवर्तन पाउन सकिन्छ ।’ महिलाले पत्रकारिताका लागि आफूलाई सक्षम बनाउँदै लैजान सकेमात्रै टिक्न सकिने उनले बताइन् । महिलालाई पत्रकारिता पेसामा टिकिरहन परिवार र समाजले सघाउन जरुरी रहेको उनले बताइन् । ‘सूचना खोज्न र लेख्न क्षमता बनाउन पनि जरुरी छ,’ उनले भनिन्, ‘मलाई पनि सुरुवाती दिनहरू सजिलो अनुभव भएन तर, हाम्रो क्षेत्रमा अहिले थुप्रै महिला छन् । महिलाले नै महिलाको हिम्मत र हौसला बढाउनु पनि जरुरी हुने रहेछ ।’


तीन वर्षदेखि पोखरामा कार्यरत पूर्णकला पौडेल महिलालाई पत्रकारितामा टिकाउन सञ्चार संस्था सञ्चालकहरूको दृष्टिकोणमा परिवर्तन आवश्यक रहेको बताउँछिन् । ‘पत्रकारितामा काम गर्न महिला–पुरुष कसैलाई पनि सजिलो होइन तर काम गर्न भनेर राखेपछि बराबरी व्यवहार गरियो भने ठीक हुन्छ,’ उनी भन्छिन्, ‘खान पुग्ने तलब टाइममा दिए मात्रै पनि महिला पत्रकारितामा आकर्षित हुन्छन् । अरू सामाजिक विभेदको सामना गर्ने हिम्मत पनि बढ्छ ।’ प्रवेश गरेर काम गर्न थालेपछि मात्रै धेरै कुरा बुझिने भएकाले पत्रकारितामा महिला सहभागिता बढाउन समाजले हिम्मत दिनुपर्ने उनले बताइन् ।

प्रकाशित : फाल्गुन १२, २०७५ ०९:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?