छैन कामदारको सुरक्षा

घनश्याम खड्का

म्याग्दी — जिल्लामा दर्जनभन्दा बढी जलविद्युत्, सडक, विद्युत् प्रसारण लाइन विस्तारका योजना छन् । अधिकांश निर्माणाधीन चरणमा छन् । यी ठूला आयोजनासँग कार्यस्थलमा हुने दुर्घटनामा अपनाउनुपर्ने सुरक्षा योजना नै छैनन् । 

छैन कामदारको सुरक्षा

भीर–पहरामा जोखिमयुक्त काम गर्नुपर्ने भ ए पनि आयोजनाहरूले कर्मचारी एवं मजदुरको सुरक्षाका लागि अपनाउनुपर्ने मापदण्ड बनाएकै छैनन् । दुर्घटना हुँदाको अवस्थामा खोजी, उद्धार तथा प्राथमिक उपचारसमेतका आधारभूत योजना नबनाएका हुन् । यसले गर्दा कार्यरत मजदुर जोखिममा छन् । निर्माणका काम सञ्चालक कम्पनीले ठेकेदारलाई दिने र ठेकेदारले पनि सामान पेटी ठेक्का दिने योजनामा मजदुर अझ बढी जोखिममा हुन्छन् ।


‘ठूला आयोजनाले नै स्वास्थ्य, सुरक्षा र वातावरणका मापदण्ड पच्छ्याएका छैनन् । कार्यस्थलमा मानव स्वास्थ्य र सुरक्षामा हेलचक्राइँ गरेको देखिन्छ,’ प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले भने, ‘अर्बभन्दा बढी बजेटका आयोजनामा पनि कार्यस्थलमा मजदुरलाई सामान्य चोटपटक लाग्दा प्राथमिक उपचार गर्ने पद्धति वा स्वास्थ्य युनिट रहेनछन् । यो गैरजिम्मेवारी हो ।’ सुरक्षाका लागि आवश्यक मापदण्डमा ध्यान दिनैपर्ने उनले बताए ।


जोखिमपूर्ण कार्यमा संलग्न मजदुरले कार्यस्थलमा बेल्ट र हेल्मेट आदि आफूलाई सुरक्षित राख्ने साधान प्रयोग गर्नुपर्छ । बिरामी पर्दा वा चोट लाग्दा प्राथमिक उपचारको व्यवस्था हुनुपर्छ । दुर्घटना हुँदा तत्काल उद्धार गर्ने पद्धतिका बारेमा गत आइतबार छलफलको आयोजना गरिएको थियो । सरोकारवालासँगको छलफलमा मजदुर र कर्मचारीको स्वास्थ्य र सुरक्षामा आयोजना तथा ठेकेदार कम्पनीहरू उदासीन भेटिएको हो । अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माणाधीन ६२ मेगावाटको नीलगिरि जलविद्युत्मा एकजना कामदारको भीरबाट खसेर मृत्यु भएपछि प्रशासन कार्यालयले विभिन्न आयोजनाका प्रतिनिधिलाई बोलाई छलफल गरेको हो ।


कार्यस्थलमा अपनाइएको सुरक्षा योजना र मापदण्डका बारेको छलफलमा सहभागी अधिकांशकहाँ त्यस्ता योजना नै नभएको पाइएका छन् । ‘सेफ्टी बेल्ट र हेलमेटलगायत सुरक्षा उपकरण अनिवार्य लगाउनुपर्ने नियम छ । कार्यस्थलमै स्वास्थ्यकर्मी राख्ने कुरा व्यावहारिक नहुने भएकाले चोटपटक लाग्दा वा बिरामी हुँदा नजिकको स्वा स्थ्य केन्द्र वा अस्पताल पुर्‍याउने गरेका छौं,’ मिस्त्रीखोला जलविद्युत् आयोजनाका कन्स्ट्रक्सन म्यानेजर चूडामणि निरौलाले भने, ‘मजदुरहरूले हेलचेक्र्याइँ गर्दा धेरै घटना भएका छन् । जोखिमपूर्ण कार्य भएकाले दुर्घटना हुन्छन्, हामी सकेसम्म मानवीय क्षति नहोस् भन्ने कुरामा सचेत छौं ।’


सडक र जलविद्युत् आयोजना मात्र होइन अन्य योजनाका ठेकेदार पनि कार्यस्थलमा भएका दुर्घटना वा घटनापछि पीडितलाई राहत उपलब्ध गराउन तत्परता नदेखाउने र प्रहरी–प्रशासनको सम्पर्कमा आउन आनकानी गर्ने गरेको पनि आरोप छ । मजदुरको सुरक्षामा ध्यान नदिने मात्र होइन दुर्घटनामा मृत्यु हुँदा शव घर पुर्‍याउन, किरिया खर्च दिन आयोजना र ठेकदार भाग्ने गरेका गुनासा छन् । कति योजना वा निर्माण कम्पनीले मजदुरको जीवनबिमासमेत गरेका हुँदैनन् ।


विद्युत्, सडक र भवनलगायत विभिन्न प्रकारका निर्माण कार्यमा दुर्घटना न्यूनीकरण तथा सुरक्षा योजना नहुँदा मजदुरले दुर्घटनामा परेर घाइते हुँदा उपचार खर्चसमेत पाएका छैनन् । मजदुरको जीवनबिमा तथा स्वास्थ्यबिमा नहुँदा निर्माण पक्षले ठग्ने गरेका छन् । हालै बेनीको एक निजी विद्यालयको निर्माणमा घाइते मजदुरले उपचार खर्च नपाएको भन्दै प्रशासन कार्यालयमा उजुरी गरेका छन् ।


‘दुर्घटनापछि आयोजना वा निर्माण कम्पनी, ठेकेदार प्रहरीको सहयोग माग्नुको सट्टा भाग्ने गरेका छन्,’ जिल्ला प्रहरी प्रमुख डीएसपी महेन्द्रप्रसाद मरासिनीले भने, ‘जलविद्युत् आयोजनामा भीरबाट लडेर मृत्यु भएका मजदुरको शव घर रोल्पा पुर्‍याउन ठेकदार सम्पर्कमा आउन नमानेपछि खोजेर ल्याउनु पर्‍यो ।’

प्रकाशित : फाल्गुन २१, २०७५ ०९:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?