कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दुई सरकारी कार्यालय खुले

कान्तिपुर संवाददाता

नवलपरासी — संघीयता कार्यान्वयनपछि नवलपरासीबाट टुक्रिएर नयाँ जिल्ला बनेको नवलपुरमा जिल्ला अस्पताल र घरेलु कार्यालय खुलेका छन् ।

दुवैको गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गरेका हुन् । सरकारी कार्यालय र अधिकांश संरचना नवलपरासीमा परेपछि नयाँ जिल्लामा वर्ष दिनयता नयाँ कार्यालय खुल्ने क्रम जारी छ । १२ वर्षअघि स्थानीयको प्रयासमा धान्याचल महायज्ञ गरेर स्थापना गरिएको डण्डाको मध्यविन्दु सामुदायिक अस्पताललाई सरकारले जिल्ला अस्पताल बनाउने निर्णय गरेको हो ।


महायज्ञबाट त्यतिबेला संकलित करिब २ करोड रुपैयाँको लागतमा भवन निर्माण गरेर सञ्चालनमा आएको अस्पताललाई सरकारले जिल्ला अस्पताल बनाउने निर्णय गरेअनुसार मंगलबार मुख्यमन्त्रीले साइनबोर्ड फेरेर जिल्ला अस्पताल लेखिएको बोर्ड अनावरण गरेका हुन् ।


मुख्यमन्त्री गुरुङले अबदेखि उक्त अस्पताल सञ्चालनको जिम्मेवारी सरकारको रहेको घोषणा गरे । ५५ शैय्या सञ्चालनको अनुमति पाएको जिल्ला अस्पतालमा सरकारी दरबन्दीका चिकित्सक र प्राविधिक कर्मचारी खटाइएको छ । चारजना चिकित्सकको दरबन्दी रहेको अस्पतालमा हाल तीनजना कार्यरत छन् । जिल्ला विभाजनपछि पूर्वी नवलपरासीमा पहिलोपटक सरकारले जिल्ला अस्पताल बनाउने निर्णय गरे पनि समुदायले निर्माण गरेर सञ्चालन गर्दै आएको पुरानै भवनमा जिल्ला अस्पताल नवलपुर लेखिएको छ ।


अस्पताल हातामा जर्मनको हेल्फी भन्ने संस्थाको ४ करोड ५० लाख सहयोगमा आधुनिक भवन निमार्णाधीन अवस्थामा छ । अब अस्पतालको सबै जिम्मेवारी सरकारको रहेको र उपचारका लागि चितवन वा काठमाडौं धाउनपर्ने अवस्था अन्त्य हुनेगरी सबै व्यवस्थापन गरिने मुख्यमन्त्री गुरुङले बताए । यसैगरी सेक्टर वन कार्यालय हातामा हाल अस्थायी रूपमा रहने भए पनि छिटै अर्को घर भाडामा लिएर सञ्चालन हुनेगरी घरेलु तथा साना उद्योगको जिल्ला कार्यालय खुलेको छ ।


हालसम्म पूर्वी नवलपरासीको कावासोतीमा १६ वटा सरकारी कार्यालय स्थापना भइसकेको छ । मालपोत, नापी, विद्युत्, दूरसञ्चार, प्रहरी र इलाका प्रशासन कार्यालय पहिल्यैदेखि सञ्चालनमा रहे पनि स्तरोन्नति गरेर सञ्चालन गरिएका छन् । अधिकांश कार्यालय घर भाडामा लिएर सञ्चालन गरिएका छन् ।


जिल्ला कार्यालयहरू स्तरोन्नति गरिएका कारण कर्मचारीको दरबन्दी थप्ने काम भइरहेको प्रमुख जिल्ला अधिकारी उदयराज नेपालले बताए । ‘सबै सरकारी कार्यालयलाई एउटै ब्लकमा राख्न जग्गा प्राप्तिको सबै काम सकिएको छ,’ उनले भने, ‘सबै सरकारी कार्यालयलाई एकै ठाउँमा राख्दा व्यवस्थित र सेवाग्राहीलाई सहज हुनेछ ।’

प्रकाशित : फाल्गुन ३०, २०७५ १०:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?